close

रहेनन् एडोबीका संस्थापक एवं पीडीएफ डेभलपर जेस्की

टेकपाना टेकपाना

बैशाख ५, २०७८ १५:१५

रहेनन् एडोबीका संस्थापक एवं पीडीएफ डेभलपर जेस्की

काठमाडौं । चर्चित सफ्टवेयर कम्पनी एडोबी इंकका सह-संस्थापक एवं पीडीएफ प्रविधिका प्रमुख डेभलपर चार्ल्स ‘चक’ जेस्कीकाे ८१ वर्षको उमेरमा निधन भएको छ । सान फ्रान्सिस्कोस्थित लस अल्टोसमा बसाेबास गर्ने जेस्कीको शुक्रबार मृत्यु भएको कम्पनीले जनाएको छ ।

‘यो सम्पूर्ण एडोबी कम्युनिटी र प्रविधि उद्योगको लागि ठूलो क्षति हो । उनी दशकौंसम्म मार्गनिर्देशक र नायक रहनेछन्,’ एडोबीका सीईओ शान्तनु नारायणले कम्पनीका कर्मचारीहरूलाई एउटा ईमेलमा लेखेका छन् ।

एडोबीका संस्थापकहरु जेस्की र जोन वार्नक मिलेर उत्कृष्ट सफ्टवेयरहरूको विकास गरेका थिए । उनीहरूको पहिलो उत्पादन एडोबी पोस्टस्क्रिप्ट थियो । पेपरमा टेक्स्ट र इमेज प्रिन्ट गर्न प्रयाेग गरिने याे प्रविधिले डेस्कटप प्रकाशनमा क्रान्ति ल्यायो ।

उनको कम्पनीले पीडीएफ, एक्रोब्याट, इलुस्ट्रेटर, प्रिमियर प्रो, फोटोशपलगायत चर्चित सफ्टवेयर निर्माण गरेको छ ।

कार्नेगी मेलन विश्वविद्यालयबाट विद्यावारिधी हासिल गरेपछि जेस्कीले जेरोक्स पालो अल्टो रिसर्च सेन्टरमा काम गर्न थाले, जहाँ उनले वार्नकलाई भेटे । यी दुईले सन् १९८२ मा साे कम्पनी छोडे र आफैंले सफ्टवेयर निर्माण गर्न एडोबी इंक खोले ।

२००९ मा तत्कालीन राष्ट्रपति बराक ओबामाले जेस्की र र वार्नकलाई ‘नेश्नल मेडल अफ टेक्नोलोजी’ प्रदान गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१