काठमाडौं । नेपाली ह्याकरहरुको सम्मेलन ‘थ्रेटकन’ आउँदो भदौमा आयोजना हुने निश्चित भएको छ । नेपालको साइबर सुरक्षा फर्म तथा सम्मेलनको आयोजक संस्था थ्रेटनिक्सले सम्मेलनको मिति घोषणा गरेको हो ।
नेपालमा साइबर सुरक्षाको ‘ईको सिस्टम’ तयार पार्न तथा सेक्युरिटी कम्युनिटीलाई विकास र विस्तार गर्न हरेक वर्ष थ्रेटकनको आयोजना हुँदै आएको छ । विज्ञ, ह्याकर तथा अनुसन्धानकर्ता, सरकारी क्षेत्र, उद्योग क्षेत्र लगायतका सबै सरोकारवालाहरुको सम्मेलनमा सहभागीता रहने गरेको छ ।
जसमा साइबर सुरक्षाको क्षेत्रको अन्तर्राष्ट्रिय अभ्यास र नेपालले गर्नुपर्ने कामहरुको विषयमा चर्चा हुने गर्दछ । तर गत वर्ष भने कोभिड महामारीकै कारण थ्रेटकन आयोजना हुन सकेन ।
यस पटक भने भर्चुअल रुपमै आयोजना गरिने थ्रेटनिक्सका संस्थापक सचिन ठकुरीले जानकारी दिए । यस अघि सन् २०१८ र २०१९ मा भने भौतिक उपस्थितिमै थ्रेटकन आयोजना भएको थियो ।
‘यस पटकको कार्यक्रमका लागि प्रवेश निःशुल्क गर्ने हाम्रो योजना छ,’ ठकुरीले भने, ‘त्यसका लागि चाँडै रजिस्ट्रेसन खुलाउँदै छौं ।’ कार्यक्रममा सहभागी हुन चाहनेहरुले अनलाइनबाटै रजिष्ट्रेसन गराउन सक्ने आयोजकले जनाएको छ ।
कार्यक्रमको स्वरुप र मिति घोषणासँगै त्यसको तयारी समेत सुरु भएको छ । जसमा सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रका लागि ‘पेपर कल’ गर्ने तथा वक्ताहरु टुङ्ग्याउने काम समेत अगाडि बढाइने ठकुरीको भनाई छ ।
कार्यक्रम भर्चुअल स्वरुपमा हुने र रजिष्ट्रेसन निःशुल्क हुने भएपछि यस पटकको कार्यक्रममा सहभागीता समेत बढी हुने आयोजकको अपेक्षा छ । थ्रेटनिक्सका संस्थापक ठकुरीले अगाडि भने, ‘भर्चुअल रुपमा कार्यक्रम आयोजना कम खर्चमै सम्पन्न गर्न सकिने भएका कारण हामीले रजिष्ट्रेसन निःशुल्क गर्ने निर्णय लिएका हौं ।’
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
