काठमाडाैं । सफ्टवेयर निर्माता माइक्रोसफ्ट आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज टेन एक्स सार्वजनिक गर्ने योजनाबाट पछि हटेको छ । सर्फेस निओजस्ता डुअल स्क्रिन डिभाइसमार्फत नयाँ ओएस सार्वजनिक गर्ने योजना बनेपनि प्रयोगकर्ताले अब यसको अनुभव गर्न पाउने छैनन ।
कोभिड-१९ सङ्क्रमणको महामारी अघिनै माइक्रोसफ्टले सिङ्गल स्क्रीन ल्यापटपका लागि मात्रै भएपनि विन्डोज टेन एक्स ल्याउने निर्णय गरेको थियो । तर अब भने यस्तो योजना रद्द भएको छ । बरु कम्पनीले विन्डोज टेनमै आफ्ना उत्कृष्ट सुविधा समेट्ने तयारी गरेको छ ।
‘सन् २०२१ मा विन्डोज टेन एक्स ल्याउने योजना भएपनि अब हामी टेन एक्सको मुख्य आधारलाई विन्डोजकै अन्य प्रडक्टमा एकीकृत गर्छौं’ विन्डोज सर्भिसिङ एन्ड डेलिभरिङका प्रमुख जोन केबलले भने ।
टेन एक्सका लागि तयार गरेका केही सुविधाहरु अहिले नै विन्डोज टेनमा देखिन पनि थालेका छन । जस्तो कि उत्कृष्ट भ्वाइस टाइपिङ र सुधारिएको टच किबोर्ड । माइक्रोसफ्टले सफ्टवेयर र हार्डवेयर दुवैका लागि उपयोगी हुने अवस्थामा टेन एक्सको प्रविधिमा लगानीलाई निरन्तरता दिने जनाएको छ ।
विन्डोज टेन सन् २०२१ मा क्रोम ओएसको प्रतिस्पर्धीका रुपमा सार्वजनिक हुने योजनामा थियो । माइक्रोसफ्टले बजारमा लाइट भर्सनको ओएस ल्याउने प्रयत्न स्वरुप बर्सौदेखी प्रयास पनि गरिरहेको थियो ।
यसका लागि माइक्रोसफ्टले सन् २०१२ मा विन्डोज आरटी ल्यायो र त्यपछि सन् २०१७ मा विन्डोज टेन एस ल्याएको थियो । तर यी दुवै विन्डोजलाई सरल बनाउन विफल रहे । तर पनि विन्डोज टेन एक्समा केही आकर्षक विशेषताहरु थिए जुन अब विन्डोज टेनमै समेटिनेछ ।