close

भीपीएन के हो र यसले कसरी काम गर्छ ?

टेकपाना टेकपाना

जेठ २८, २०७८ १९:३९

भीपीएन के हो र यसले कसरी काम गर्छ ?

काठमाडौं । के तपाईं अनलाइन सेक्युरिटी वा प्राइभेसीको विषयलाई लिएर चिन्तामा हुनुहुन्छ ? अथवा आफ्नो निजी जानकारी ह्याकरको हातमा पुग्दैन ? आफ्नो अनलाइन शपिङ, सर्च रिजल्ट, बिल पेमेन्ट जस्ता जानकारी सुरक्षित राख्न चाहनुहुन्छ ? यदि हो भने यो सम्भव छ ।

भीपीएनले तपाईंका यस्ता समस्यालाई समाधान गर्न सक्छ । आज हामी तपाईंलाई भीपीएन के हो र यसले तपाईंलाई कसरी सहयोग पुर्‍याउन सक्छ भन्ने विषयमा विस्तृतमा बताउँदै छौं ।

असुरक्षित वेबसाइटमाा वेबसाइट भिजिट गर्नु वा कारोबार गर्नुको अर्थ आफ्नो निजी जानकारी र ब्राउजिङ सम्बन्धी बानीव्यहोरा उदाङ्गो पार्नु हो । तर भीपीएन अर्थात भर्चुअल प्राइभेट नेटवर्कले पब्लिक नेटवर्क प्रयोग गर्दाको बखत तपाईंलाई सुरक्षित राख्ने गर्दछ ।

यसले तपाईंको इन्टरनेट ट्राफिकलाई इन्क्रिप्ट राख्छ अनि तपाईंको अनलाइन पहिचानलाई लुकाइदिन्छ । यस्तो अवस्थामा थर्डपार्टीलाई तपाईंको अनलाइन गतिविधि ट्र्याक गर्नु र तपाईंको डेटा चोरी गर्नु कठीन बन्न पुग्छ ।

भीपीएनले तपाईंको कम्प्युटर वा स्मार्टफोनलाई सर्भर कम्प्युटरमा कनेक्ट गराउँछ र तपाईं उक्त कम्प्युटरको इन्टरनेट कनेक्सनलाई प्रयोग गरेर इन्टरनेटमा ब्राउज गर्न सक्नुहुन्छ । भीपीएन कुनै गैरकानूनी विषय होइन ।

यसको प्रयोग विश्वभर संस्थागत र व्यक्तिगत दुवै तवरमा हुने गर्दछ । कम्पनी तथा सरकारी निकायहरुले पनि यसको प्रयोग गर्दछन् । ता कि आफ्नो डेटालाई संरक्षण गरेर राख्न सकियोस् ।

यसको प्रयोग यस्ता देशहरुमा पनि हुने गर्दछ, जहाँ कठोर शासन प्रणाली हुन्छ । संक्षिप्तमा भन्नुपर्दा पब्लिक नेटवर्कमा आफ्नो अनलाइन सुरक्षाका लागि भीपीएन प्रयोग ग र्न सकिन्छ ।

भीपीएनले कसरी काम गर्छ ?

जब तपाईं सुरक्षित भीपीएन सर्भरमा कनेक्ट हुनुहुन्छ, त्यतिखेर तपाईंको इन्टरनेट ट्राफिक एउटा इन्क्रिप्टेड टनेल भएर ओहोर दोहोर गर्दछ । जसलाई कसैले पनि ट्र्याक गर्न वा देख्न सक्दैन । चाहे त्यो ह्याकर होस् वा सरकार अथवा तपाईंको इन्टरनेट सेवाप्रदायक ।

अर्थात तपाईंको इन्टरनेट डेटालाई रिड गर्न वा पढ्न सकिन्न । भीपीएनले कसरी काम गर्छ भन्ने कुरा बुझ्नका लागि दुई वटा अवस्था, भीपीएन बिना र भीपीएनको साथमा के फरक पर्छ भन्ने कुरा हेरौं ।

जब हामी बिना भीपीएन कुनै वेबसाइट प्रयोग गर्दछौं, त्यस्तो बेलामा इन्टरनेट सेवाप्रदायक (आईएसपी) को माध्यमबाट साइटमा कनेक्ट हुन पुग्दछौं । आईएसपीले हामीलाई एउटा युनिक आईपी एड्रेस दिएको हुन्छ । किन कि आईएसपीले नै हाम्रो समग्र इन्टरनेट ट्राफिकलाई निर्देशन र व्यवस्थापन गर्दछ ।

यस्तोमा हामी जुन वेबसाइट भिजिट गर्दछौं, आईएसपीले त्यसको जानकारी राख्न सक्छ । यस्तो अवस्थामा तपाईं हाम्रो प्राइभेसी अर्थात गोपनीयताको सुरक्षा कसरी हुनसक्छ ? अब अर्को अवस्था अर्थात भीपीएन सहितको इन्टरनेट कनेक्सनको कुरा गरौं ।

जब हामी भीपीएनमार्फत इन्टरनेटमा कनेक्ट हुन्छौं, तब हाम्रो मोबाइल वा कम्प्युटरमा रहेको भीपीएन एप (जसलाई भीपीएन क्लाइन्ट समेत भनिन्छ) ले भीपीएन सर्भरसँग सुरक्षित कनेक्सन बनाउँदछ । यस्तो अवस्थामा पनि हामीसम्म आइपुग्ने इन्टरनेट आईएसपीकै माध्यमबाट ओहोर दोहोर गरिरहेको हुन्छ ।

तर आईएसपीले यस्तो ट्राफिकको अन्तिम गन्तव्य देख्न पाउँदैन । अनि हामी जुन वेबसाइट हामी भिजिट गरिरहेका हुन्छौं, त्यसले पनि हाम्रो वास्तविक आईपी एड्रेस पहिचान गर्न सक्दैन । अब यहाँनिर भीपीएनको आवश्यकता किन पर्छ भन्ने विषयमा चर्चा गरौं ।

किन आवश्यक हुन्छ भीपीएन ?

सफ्टवेयरको दिग्गज कम्पनी माइक्रोसफ्टले सन् १९९६ मा पहिलो पटक भीपीएन विकास गरेको थियो । ता कि अफिस बाहिर बसेर काम गर्ने कर्मचारीले कम्पनीको सुरक्षित नेटवर्कमा पहुँच बनाउन सकुन् ।

यसबाट कम्पनीको उत्पादनशीलता बढ्ने देखिएपछि अन्य कम्पनीहरु पनि यसलाई अपनाउन थाले । यस्तोमा तपाईंलाई लाग्न सक्छ हामीले कुन कुन समयमा भीपीएन प्रयोग गर्ने ?

यदि तपाईंका लागि आफ्नो प्राइभेसी अर्थात गोपनीयता निकै महत्वपूर्ण छ भन्ने लाग्छ भने हरबखत तपाईंले भीपीएन प्रयोग गर्न सक्नुहुन्छ । तर केही यस्ता अवस्थाहरु पनि हुन्छन्, जसमा तपाईंले अनिवार्य रुपमा भीपीएनको प्रयोग गर्नुपर्ने हुनसक्छ ।

उदाहरणका लागि स्ट्रिमिङ गर्दाको बखत, यात्राको समयमा, पब्लिक वाईफाई चलाउँदा, गेमिङ खेल्दा, किनमेल गर्दा, अनलाइन कारोबार गर्दा आदि समयमा तपाईंले भीपीएन प्रयोग गर्न सक्नुहुन्छ। कति प्रकारको हुन्छ भीपीएन ?

आधारभूत रुपमा भीपीएन दुई प्रकारको हुने गर्दछ, रिमोट एक्सेस भीपीएन र साइट टु साइट भीपीएन । रिमोट एक्सेस भीपीएनको माध्यमबाट प्रयोगकर्ताले अर्को नेटवर्कमा एउटा प्राइभेट इन्क्रिप्सन टनेलको माध्यमबाट कनेक्ट हुनसक्छन् ।

यसको माध्यमबाट कम्पनीको इन्टरनेट सर्भर वा पब्लिक इन्टरनेटमार्फत कनेक्ट हुन सकिन्छ । साइट टु साइट भीपीएनलाई राउटर टु राउटर भीपीएन समेत भन्ने गरिन्छ । यसको प्रयोग धेरैजसो कर्पोरेट क्षेत्रमा हुने गर्दछ ।

खास गरेर विभिन्न क्षेत्रमा कम्पनीका महत्वपूर्ण कार्यालयहरु हुने गर्दछन् । यस्तोमा साइट टु साइट भीपीएनले यस्तो क्लोज्ड इन्टरनल नेटवर्क तयार पारिदिन्छ, ता कि जहाँ सबै लोकेसन एकसाथ कनेक्ट हुनसकुन् । यसलाई इन्ट्रानेट भनिन्छ ।

भीपीएनबाट हुने लाभलाई समग्रमा हेर्ने हो भने तपाईंको ब्राउजिङ हिस्ट्री, आईपी एड्रेस, लोकेसन, स्ट्रिमिङ लोकेसन, डिभाइस तथा वेब एक्टिभिटी हाइड अर्थात गुप्त बस्छन् । फाइदासँगै यसका केही बेफाइदा पनि छन् ।

उदाहरणका लागि स्लो स्पिड, कुकिज प्रोटेक्सन नहुने र समग्र प्राइभेसी नहुने । यति धेरै सुरक्षित हुनुका बाबजुत भीपीएनलाई पूर्ण सुरक्षा दिनसक्ने सेवा भन्न सकिन्न । किन भने यसले ह्याकर, सरकार र आईएसपीबाट त डेटा लुकाउन सक्छ ।

तर जब भीपीएन सेवा दिने कम्पनीले चाहेको खण्डमा भने त्यस किसिमका डेटामा पहुँच बनाउन सक्छन् । त्यसैले यस्तो अवस्थामा विश्वसनीय भीपीएन प्रयदायकाट नै भीपीएन सेवा लिनु उचित ठहरिन्छ ।

कसरी छनौट गर्ने राम्रो भीपीएन ?

भीपीएनले पर्याप्त इन्टरनेट स्पिड उपलब्ध गराउन सकोस् । तपाईंको प्राइभेसी सुरक्षित रहन सकोस् र सेवाप्रदायकले पछिल्लो प्रोटोकलको प्रयोग गरोस् । उसको विश्वसनीयता र ख्याती राम्रो होस् । तपाईंको आवश्यकता अनुसार त्यसको डेटा लिमिट मेल खान सकोस् ।

सर्भरको लोकेसन तपाईंला थाहा हुन सकोस् । विभिन्न डिभाइसबाट तपाईंले भीपीएनमा एक्सेस गर्न सक्ने अवस्था रहोस् । भीपीएनको शुल्क सान्दर्भिक होस् । उच्चतम इन्क्रिप्सन उपलब्ध हुन सकोस् । राम्रो कस्टमर सपोर्ट दिएको होस् ।

फ्रि ट्रायल पाउन सकियोस् र विज्ञापन ब्लक गर्ने सुविधा पनि होस् । कुन कुन डिभाइसमा प्रयोग गर्न सकिन्छ भीपीएन ? इन्टरनेट प्रयोग गर्न सकिने सबै प्रकारका उपकरणमा भीपीएन प्रयोग गर्न सकिन्छ ।

धेरैजसो भीपीएन सेवाप्रदायकले विभिन्न प्लेटफर्ममा यस किसिमको सेवा दिइरहेका हुन्छन् । उदाहरणका लागि ल्यापटप, ट्याब्लेट, स्मार्टफोन, भ्वाइस असिस्टेन्स, स्मार्ट अप्लाइन्सेस, र स्मार्ट टिभी ।

विश्वका उत्कृष्ट भीपीएन सेवाप्रदायकले निःशुल्क भीपीएन सेवा समेत उपलब्ध गराइरहेका हुन्छन् । तर त्यसमा डेटा लिमिट जस्ता केही सीमितता हुनसक्छन् । अनलाइन सेक्युरिटी र प्राइभेसीका लागि हामी यसको प्रयोग गर्न त सक्छौं । तर कुनै गैरकानूनी वा अनैतिक कामका लागि यसको प्रयोग जोखिमपूर्ण हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१