काठमाडौं । वान ड्राइभ प्रयोगकर्ताका लागि भनेर माइक्रोसफ्टले फोटो इडिटिङको नयाँ फिचर सार्वजनिक गरेको छ । अब तपाईंले वान ड्राइभमा फोटोको लाइट मिलाउनुका साथै क्रप, रोटेट लगायतका काम गर्न सक्नुहुन्छ ।
कम्पनीले एन्ड्रोइडमा वान ड्राइभ चलाउने प्रयोगकर्ताका लागि फोटो व्यवस्थापनको लागि अन्य नयाँ सुविधा पनि ल्याएको छ । यो परिवर्तन एउटा सुरुवातमात्र भएको बताउँदै माइक्रोसफ्टले आउने दिनहरुमा वान ड्राइभमा थुप्रै परिवर्तनहरु ल्याउने जनाएको छ ।
आजको दिनसम्म आइपुग्दा फाइल स्टोरेज, शेयरिङ र कोलावोरेसनमा वान ड्राइभ एक उल्लेख्य एपको रुपमा स्थापित भएको र यसको यही वर्चश्वलाई निरन्तरता दिँदै फोटो व्यवस्थापनका लागि यो नयाँ फिचर सार्वजनिक गरिएको माइक्रोसफ्टले बताएको छ ।
वान ड्राइभ प्रयोगकर्ताहरुले अब एपमा भएको विभिन्न आकारमा आफ्नो इच्छाअनुसार फोटो काँटछाँट गर्न सक्नेछन् अथवा आफ्नो हिसाबले फ्री क्रप पनि गर्न सक्नेछन् ।
त्यस्तै फोटोलाई रोटेट गर्न अथवा यसमा लाइट एडजस्मेन्ट पनि गर्न सकिनेछ । लाइट एडजस्मेन्टमा ब्राइटनेस, एक्सपोजर, कन्ट्रास्ट, हाइलाइट्स, स्याडो, कलर स्याचुरेसन लगायतका सुविधाहरु उपलब्ध छन् । फोटो इडिट गर्दा यदि झुक्किएर गर्न खोजेको भन्दा अलिक फरक परिवर्तन भयो भने हिस्ट्रीमा गएर आफ्नो पुरानो भर्जन रिकभर गर्न पनि सकिन्छ ।
वान ड्राइभको यो नयाँ फिचर वेब र एन्ड्रोइड दुवैमा उपलब्ध छ । आईओएसमा भने यो फिचर यही वर्षको अन्तिमतिर सार्वजनिक हुने कम्पनीले बताएको छ ।
त्यस्तै अहिलेलाई यो फिचर व्यक्तिगत अकाउन्ट भएका वान ड्राइभ प्रयोगकर्ताका लागि मात्र सार्वजनिक भएको र आउने दिनमा संस्थागत अकाउन्टका लागि पनि खुला गर्ने कम्पनिको भनाइ छ ।