काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुने मिति नजिकिँदै जाँदा चाप बढेपछि समस्या आएको आईएमईआई दर्ता पुनः सुरु भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सर्भरमा देखिएको समस्या समाधान गर्दै मोबाइलको आईएमईआई दर्तालाई नियमित गरेको हो ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम साउन १ देखि सञ्चालनमा ल्याउँदै छ । त्यसपछि भन्सार नतिरी ल्याइएका मोबाइल फोन बन्द हुने जनाइएको छ । यद्यपि तत्कालै अवैध मोबाइल ब्लकिङको काम सुरु हुने अवस्था भने छैन ।
एमडीएमएसकाे तयारी पूर्ण रुपमा सम्पन्न हुन नसकेका कारण यसका लागि थप केही समय लाग्नेछ । प्राधिकरणका अनुसार दूरसञ्चार सेवाप्रदायकको सिस्टममा इन्ट्रिगेट गर्न पनि बाँकी छ । यसको अर्थ अवैध मोबाइल ब्लक गर्न थप दुई/तीन महिना लाग्न सक्ने बताइएको छ ।
तत्कालका लागि सिंहदरबारभित्र रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा यसको आवश्यक सिस्टम सेटअप गरिएको छ । त्यसैबाट प्रारम्भिक रुपमा प्राधिकरणले साउन १ देखि सिस्टम ‘अन’ गर्नेछ । जसमा नेपालमा भित्रिएका मोबाइलको सम्पूर्ण रेकर्ड राखिनेछ ।
उक्त सिस्टममा भन्सार विभागको पहुँच हुने भएकाले विदेशबाट आयात भएका मोबाइलले टाइप अप्रुभल (नियामक प्राधिकरणबाट उपकरण आयात गर्नु अघि लिनुपर्ने स्वीकृति) लिए/नलिएको तथा मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता भए/नभएको यकिन गरी नेपालमा मोबाइल चल्ने वा नचल्ने तय गर्नेछ ।
सँगसँगै यही सिस्टमबाट दर्ता नभएका मोबाइलमाथि रोक लगाइनेछ । यसले अवैध रुपमा आयात हुने मोबाइल स्वतः रोक्ने जनाइएको छ । जब सिस्टम पूर्णरुपमा सञ्चालनमा आउने छ, त्यसपश्चात् उक्त सिस्टममा अवैध देखिएका मोबाइललाई ब्लकिङ गर्ने काम सुरु हुनेछ ।
यदि तपाईं पनि आफ्नो मोबाइलको आईएमईआई दर्ता गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा छैन भने यहाँ गएर हेर्नुहोस् ।