close

राइड शेयरिङ सेवा ‘दिदि’ सँग जोडिएका २५ एपमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

असार २७, २०७८ १५:३६

राइड शेयरिङ सेवा ‘दिदि’ सँग जोडिएका २५ एपमाथि प्रतिबन्ध

काठमाडौं । चिनियाँ नियामकले राइड शेयरिङ एप “दिदि छुजिङ” सँग जोडिएका थप २५ वटा एपहरूलाई कालोसूचीमा राखेको छ । चीनका धेरैजसो एप स्टोरहरूका राइड शेयरिङ बजारमा ९० प्रतिशत हिस्सा दिदिको छ ।

चिनियाँ नियामक निकाय साइबर स्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले दिदिसँग जोडिएका ती एपमाथि प्रतिबन्ध लगाउँदै एप स्टाेरबाट हटाउन निर्देशन दिएको छ ।

नियामक निकायले जारी गरेको सूचनाअनुसार यी एपहरूले प्रयोगकर्ताको डेटा गैरकानूनी रुपमा प्रयोग गरिरहेका कारण एप स्टोरबाट हटाउन निर्देशन दिएको हो ।

निर्देशन जारी भएको केही घण्टापछि नै धेरैजसो एपहरू चिनियाँ एप स्टोरहरूबाट हटिसकेका थिए । कालोसूचीमा परेका एपमध्ये एक ‘दिदि शुन्फेङ’ पनि हो । यो एपले एउटै गन्तव्यमा गइरहेका प्रयोगकर्तालाई कार शेयर गर्न मद्दत गर्छ ।

यस्तै साइबरस्पेस एडमिनिस्ट्रेसनले दिदिसँग सम्बन्धित लिङ्कहरू कुनै पनि वेबसाइट र अन्य प्लेटफर्महरूमा उपलब्ध गर्न निषेध गरेको छ ।

यसलगत्तै कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर नियामक निकायको निर्देशनलाई सम्मानपूर्वक पालना गर्ने बताएको छ । ‘हाम्रा प्रयोगकर्ताको विवरणको सुरक्षाको प्रत्याभूतिका लागि नियामक निकायको नियम कानूनअनुसार तत्कालका समस्याहरूको विषयमा हामी छिट्टै नै एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्नेछौं,’ दिदिको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ राइड शेयरिङ एप दिदिले आफ्नो शेयर अमेरिकाको ट्रेड मार्केटको लागि खुला गरेपछि चिनियाँ सरकारले यस एपविरुद्ध कडा कदम चालेको छ । कम्पनीले भने सार्वजनिक रुपमा यस विषयमा आजसम्म कुनै दरिलो जवाफ दिएको छैन ।

दिदिले प्रयोगकर्ताको गोप्य सूचनाको दुरुपयोग गरेको चिनियाँ सरकारको आरोप छ । यता दिदिले भने प्रयोगकर्ताका विवरणहरू सुरक्षित रहेको दाबी गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३