काठमाडौं । अमेरिकी प्रतिबन्धसँगै ह्वावेको व्यवसाय निरन्तर घटिरहेको छ । केही वर्षअघि मात्र बजार हिस्साका आधारमा विश्वकै दोस्रो ठूलो स्मार्टफोन रहेको ह्वावे अहिले शीर्ष ५ मा समेत अटाउन सकेको छैन । यसैबीच ह्वावे आफ्नै होम मार्केटमा समेत पछि परेको छ ।
आईडीसीले चिनियाँ बजारमा स्मार्टफाेनकाे बजार हिस्सासम्बन्धी सार्वजनिक गरेकाे पछिल्लाे प्रतिवेदनमा ह्वावेकाे स्मार्टफाेन व्यवसाय थप खस्केकाे देखिएकाे छ । २०२१ को दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार ह्वावे अब आफ्नै देशमा समेत शीर्ष पाँचमा पर्न असफल भएको छ ।
ह्वावेले पछिल्लो वर्षमा भोगेका चुनौतीले उसलाई तल पुर्याइरहेकाे छ । अमेरिकी कम्पनी एप्पललाई उछिन्दै विश्व बजारमा ह्वावे दोस्रो स्थानमा आउँदा चीनकै बजारले उसलाई बल पुग्थ्यो ।
तर कम्पनीले अहिले चिनियाँ बजारका लागि समेत संघर्ष गर्नुपरेको छ । गुगल सेवा प्रयोग गर्न नपाउँदा प्रयोगकर्ताहरु ह्वात्तै अन्य डिभाइसमा सिफ्ट हुँदा ह्वावेको घाटाका दिन सुरु भए ।
आईडीसीको साे प्रतिवेदन अनुसार अमेरिकाकाे फाइभजी प्रतिबन्धपछि ह्वावेले सप्लाई चेन र सेल्स दुवैमा चुनाैती भाेगिरहेकाे छ ।
यसैबीच ह्वावेले आज ‘पी ५०’ सिरिज सार्वजनिक गर्दैछ । यो सिरिजले बजारमा ह्वावेको स्थानलाई सुधार गर्न सक्छ या सक्दैन केही समयमै थाहा होला । तर किरिन ९००० चिपसेट थोरै मात्र उत्पादन भएकाले बजारमा यो सिरिज धेरै संख्यामा जाँदैन भन्ने विश्लेषण गरिएकाे छ ।
यद्यपि क्वालकमले ह्वावेलाई फोरजी चिपसेट उपलब्ध गराउने हल्ला पनि चलेको थियो । तर, हालसम्म यी दुवै कम्पनीले स्पस्ट जानकारी नदिएकाले यसबारे अन्याैलता कायमै छ ।
चिनियाँ बजारमा भिभो सबैभन्दा अगाडि देखिएको छ । सन् २०२१ को दोस्रो त्रैमासिक अवधिमा उसको बजार हिस्सा २३.८ प्रतिशत छ । यो अवधिमा भिभोका एक करोड ८६ लाख युनिट स्मार्टफोन बिक्री भएको जनाइएको छ ।
त्यसपछि ओप्पो, साओमी, एप्पल र अनर क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।