close

एनसीएचएलको नयाँ रेकर्ड, नगदरहित भुक्तानी कारोबार देशको कूल ग्राहस्थ उत्पादनभन्दा ३ गुणा बढी

टेकपाना टेकपाना

साउन १५, २०७८ १७:५४

एनसीएचएलको नयाँ रेकर्ड, नगदरहित भुक्तानी कारोबार देशको कूल ग्राहस्थ उत्पादनभन्दा ३ गुणा बढी

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का विभिन्न प्रणालीेमार्फत आव २०७७/७८ मा फर्छ्यौट गरिएको नगदरहित भुक्तानी कारोबार नेपालको कूल ग्राहस्थ उत्पादनभन्दा तीन गुणाले बढेको छ ।

एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवाप्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरु यस कम्पनीले सञ्चालन गर्दै आएको छ ।

गत आ.व.मा एनसीएचएलले कूल चार करोड ४७ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट गरेको छ, जुन अघिल्लो आ.व.को तुलनामा ११७ प्रतिशतले बढी रहेको छ । त्यसैगरी रकमको आधारमा १३ खर्ब, २०.९ करोड अमेरिकी डलर, २४.९ करोड यूराे र २७.२ कराेड ब्रिटिश पाउन्ड बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीहरु मार्फत फर्छ्यौट गरेको हो ।

उक्त आ.व.मा चेकको कारोबार २१ प्रतिशतले, एनसीएचएल आईपीएसमा ९४ प्रतिशतले र कनेक्ट आईपीएसमा ५६६ प्रतिशतले कारोबार वृद्धि भएको छ । यसरी तथ्याङ्क हेर्दा चेकबाट हुने कारोबारको वृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरुको उपायोग भने उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विद्युतिय भुक्तानी वृद्धि गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयास तथा कोभिड–१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

साथै आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेशनल पेमेन्ट स्विच (एनपीएस) मार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित नेपाल क्लियरिङ्ग हाउसले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका निम्ति राष्ट्रिय स्तरका भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु निर्माण तथा सञ्चालन गर्दै आएको छ ।

यसमा ५९ बैंक वित्तीय संस्था,२३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्सुरेन्स कम्पनी, १२ सरकारी तथा अर्ध सरकारी निकाय र अन्य ७ विभिन्न संघ संस्थाहरु आबद्ध रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१