काठमाडौं । वैदेशिक रोजगारीमा जानेले क्यूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्रका लागि सेवाग्राहीलाई अब लाइन बस्नुु नपर्ने भएको छ ।
वैदेशिक रोजगारमा जाने श्रमिकले अबदेखि वैदेशिक क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले ईमेलमार्फत पठाउने व्यवस्था गरेसँगै अब सेवाग्राहीलाई लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवबीच शुक्रबार भएको छलफलपछि उक्त खोप प्रमाणपत्र स्वास्थ्य सेवा विभागले म्यानपावर कम्पनीको मेलमा पठाउने सम्झौता भएको हो ।
क्यूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्र दिने कार्य श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा विदेश जाने युवाले टिकटसमेत गुमाउनुपरेको गुनासोसहितको समाचार प्रकाशित भएपछि शुक्रबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सेवाग्राहीलाई लाइन बस्नु नपर्ने व्यवस्था गर्रका हुन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच सामान्य कुरामा पनि समन्वय नभएका आएको समस्या ढिलै भए पनि समाधान भएको र अब सेवाग्राहीलाई धेरै राहत हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य विभागअन्तर्गतको स्वास्थ्य सूचना तथा खोप केन्द्रका अनुसार नयाँ स्टिमको पनि विकास गरिएकाले अब एउटै व्यक्तिले १० पटकसम्म अनलाइन फर्म भर्ने समस्याको अन्त्य भएको छ ।
सो केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. दीपक झाले सेवाग्राहीले सबै कागजात अपलोड गरेपछि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणत्रका लागि आवश्यक कागजात ईमेल अपलोड गरेपछि क्यूआर कोड म्यानपावरमा अटोमेट्रिक जाने व्यवस्था गरिएको जानकारी दिए ।
कोड नम्बर इजाजत संस्थामा आएको दुई घण्टाभित्र सेवाग्राहीको ईमेलमार्फत पुग्ने व्यवस्था गरिने वैदेशिक रोजगार संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।
यस प्रकारको सेवा कार्यान्वयन भएपछि सेवाग्राहीलाई धेरै राहत हुने र टिकट छुट्ने सम्भावना पनि नहुने उनको भनाइ छ ।
खोप केन्द्रका अनुसार अहिलेसम्म २० हजारभन्दा बढीको क्यूआर कोड जारी भइसकेको छ । केन्द्रका अनुसार विदेश जानेहरूले अनलाइन पोस्ट रजिस्ट्रेसन गरी आवश्यक विवरण तथा कागजात अपलोड गर्नुपर्ने हुन्छ ।
अनलाइनबाट भर्नेले कबुलियतनामा फाराम भर्ने स्थानमा गएर कबुलियतनामा कागजात डाउनलोड गर्न सकिनेछ । यसैगरी तीन दिनभित्र विदेश जान चाहनेका लागि थप कागजात आवश्यक पर्ने व्यवस्था गरिएको छ, जसमा भिसा, टिकट र राहदानीको प्रतिलिपि चाहिन्छ । -गाेरखापत्र