close

बजारमा सस्तो र निकै सानो आईफोन ल्याउन चाहन्थे स्टिभ जब्स

टेकपाना टेकपाना

भदौ ६, २०७८ १६:३४

बजारमा सस्तो र निकै सानो आईफोन ल्याउन चाहन्थे स्टिभ जब्स

काठमाडौं । सन् २०११ मा एप्पलले आईफोन ४ सार्वजनिक गरेको थियो । त्यतिबेला कम्पनीले अर्को आईफोन निर्माणका लागि पनि काम गरेको पाइएको छ । तर १० वर्ष बित्दा पनि एप्पलले त्यो आईफोन मोडल ल्याएन ।

हालै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एप्पलका सहसंस्थापक एवं तत्कालीन सीईओ स्टिभ जब्सले लेखेको ईमेल सार्वजनिक भएको भन्दै त्यतिबेला एप्पलले ‘आईफोन नानो’ का लागि काम गरेको समाचार प्रकाशित गरेका छन् ।

स्टिभ जब्सको सो ईमेल अनुसार ३.५ इन्चको आईफोन ४ सँगै निकै सानो र सस्तो आईफोन ल्याउने परियाेजना सुरू गरिएकाे थियाे । तर ईमेलमा भनिएजस्तो ‘आईफोन नानो’ कहिल्यै सार्वजनिक भएन ।

हालै एप्पल र इपिक गेमबीचको मद्दाका क्रममा आदानप्रदान भएको ईमेल अध्ययन गर्ने क्रममा जब्सको ईमेल फेला परेको हो । जसमा ‘आईफोन नानो’ को विषयमा उल्लेख गरिएको छ ।

उक्त ईमेलमा आईफोन नानोको विषयमा पूर्ण जानकारी भने दिइएको छैन । तर, आईफोन नानो कम्पनीको एउटा परियोजना रहेको उल्लेख गरिएकाे छ ।

विभिन्न बुलेटमा उक्त आईफोनको विषयमा जानकारी दिइएको छ । जसमा मूल्य, उक्त डिभाइसमा काम गर्ने प्रमुख व्यक्तिसम्मका जानकारी रहेको छ ।

‘आईफोन थ्रिजीएस (iPhone 3GS) रिप्लेस गर्न आइपड टचमा आधारित भएर सस्तो फोनको रुपमा आईफोन नानो बनाइने छ’, उक्त ईमेलमा भनिएको छ ।

तर, त्यसमा आईफोन नानो नै ल्याउने अथवा त्यो कुनै अर्को डिभाइसको कोड हो भन्ने विषय भने खुलाइएको छैन । हुन त हालसम्म पनि आईफोनले आफ्नो कुनै पनि सस्तो फोनमा नानो शब्दको प्रयोग गरेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१