close

एमडीएमएस तत्काल लागू गर्न मोबाइल व्यवसायीको माग

टेकपाना टेकपाना

माघ २५, २०७९ १७:३८

एमडीएमएस तत्काल लागू गर्न मोबाइल व्यवसायीको माग

काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल मोबाइल वितरक संघले आग्रह राखेकाे छ । राजधानीमा अन्तर्क्रिया एवं पत्रकार सम्मेलन आयोजना गर्दै संघले वैधानिक रुपमा कर तिरेर कारोबार गर्ने व्यवसायीको बिक्री-वितरणमा व्यापक गिरावट आएको भन्दै एमडीएमएस तत्काल लागू गर्न सरकारसँग आग्रह गरेको हो ।

नेपालमा वार्षिक ३० अर्बदेखि ४० अर्ब रुपैयाँको मोबाइल फोनको वैधानिक रुपमा आयात तथा कारोबार भइरहेको भएपनि झन्डै पाँच अर्ब बराबरको अवैधानिक वा भन्सार नतिरी विभिन्न तवरबाट भित्रिरहेको संघकाे दाबी छ ।

''अवैध रुपमा भइरहेको मोबाइल फोनको कारोबारले नेपाल सरकारले झन्डै वार्षिक दुई अर्बको हारहारीमा राजस्व गुमाइरहेको छ,'' संघका अध्यक्ष चुल्याद्याेले भने, ''यसरी भित्रिनेमा फर्बिस, डुप्लिकेट तथा चोरीका फोनहरू समेत पर्ने हुँदा यसले बिक्रीपछिको वारेन्टी नहुने, पार्ट्स नपाउने तथा चोरीका फोनले कानूनी झमेला आउनसक्ने हुँदा उपभोक्ता ठगीमा पर्दै आएका छन् ।''

त्यस्ता फोनको प्रयोगले प्रहरीको अनुसन्धानमा कठिनाइ आउनसक्ने र आईएमइआई नम्बर दर्ता नहुँदा आपराधिक गतिविधिमा समेत प्रयोग हुने जाेखिम रहेकाे उनकाे भनाइ थियाे ।

भन्सार छली तथा अवैध तवरबाट भित्रिने फोनको कारोबार बढ्दै जाँदा वैधानिक रुपमा कर तिरेर कारोबार गर्ने व्यवसायीको बिक्री-वितरणमा व्यापक गिरावट आएको संघकाे तर्क छ ।

झन्डै एक अर्ब लगानीमा पाँच वर्षपछि गत पुस १५ गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल याे प्रणाली लागू नगर्न निर्देशन दिएका थिए । अफवाहकाे पछि लागेर प्रधानमन्त्रीले एमडीएमएस लागू नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएकोमा माेबाइल व्यवसायी असन्तुष्ट रहेकाे संघले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: माघ २५, २०७९ १७:४३