close

केही मिनेटमै आफ्नो अनलाइन पोर्टफोलियो बनाउन चाहनुहुन्छ ? यस्ता छन् विकल्प

टेकपाना टेकपाना

माघ २८, २०७९ ९:४१

केही मिनेटमै आफ्नो अनलाइन पोर्टफोलियो बनाउन चाहनुहुन्छ ? यस्ता छन् विकल्प

काठमाडौं  । जागिरका लागि कुनै कम्पनी अथवा संस्थामा आवेदन दिँदा हामी आफ्नो व्यक्तिगत विवरण (सीभी) लाई आकर्षक बनाएर पठाउने गर्छौं । त्यहाँ हामीले शब्द तथा सामान्य खालका तालिका मात्र बनाएका हुन्छौं । त्यस्तै आफूले गरेको कामबारे विस्तृतमा जानकारी दिनुपर्ने भए पोर्टफोलियो तयार पार्छौँ ।

सीप अनुसार आफूले गरेका सबै कामको एकमुस्ट प्रदर्शनी नै पोर्टफोलियो हो । काम पाउन सजिलो हुने, गरेका सबै काम देखाउन पाइने साथै अलि व्यावसायिक देखिने भएकाले पोर्टफोलियो तयार पार्ने गरिन्छ ।

आजभोलि धेरैले वेबसाइट निर्माण गरेर पोर्टफोलियो तयार पार्ने गर्छन् । तर त्यस्ता केही वेबसाइटहरू छन्, जहाँबाट हामी उत्कृष्ट अनलाइन पोर्टफोलियो नि:शुल्क तयार पार्न सक्छौँ ।

जर्नो पोर्टफोलियो (Journo Portfolio)

 

यस साइटबाट सजिलै डिजिटल पोर्टफोलियो बनाउन सकिन्छ । यसमा भिन्न ९ थिममा आधारित विभिन्न टेम्पेल्ट रहेका छन्, जसलाई आफ्नो आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ ।
यसले सशुल्क सेवा पनि उपलब्ध गराएको छ, जहाँ कस्टम डोमेन, पासवर्ड प्रोटेक्सनजस्ता सेवा छन् । तर नि:शुल्क प्लान पनि काम देखाउन पर्याप्त हुन्छ ।

विक्स (WIX)

यस प्लेटफर्मबाट पोर्टफोलियो वेबसाइटबाहेक विभिन्न प्रकारका वेबसाइट बनाउन सकिन्छ । यसमा भएका टेम्प्लेटलाई सजिलै कस्टमाइज गर्न सकिन्छ ।

यसलाई कलाकार, फोटोग्राफर लगायत अन्य सिर्जनशील व्यक्तिहरुले आफ्नो पोर्टफोलियोका लागि प्रयोग गर्न सक्छन् । यसले सबडोमेन (yourname.wixsite.com) भएको वेबसाइटमा ५०० एमबी स्पेस निःशुल्क दिन्छ । 

स्ट्राइकिङ्गल्ली (Strikingly)

छिटो र सरल तरिकामा पोर्टफोलियो बनाउन यो उपयाेगी प्लेटफर्म हो । यस प्लेटफर्मलाई प्राय: एउटा मात्र पेज भएको (वान पेज) वेबसाइट बनाउन प्रयोग गरिन्छ । जुन पोर्टफोलियोका लागि पर्याप्त हुन्छ ।

यसमा पनि सबडोमेन निःशुल्क रहेको छ । कस्टम डोमेनका  लागि परिमार्जन शुल्क लिनुपर्ने हुन्छ ।

क्रेभाडो (Crevado)

थुप्रै टेम्प्लेट भएको यो प्लेटफर्म पनि अनलाइन पोर्टफोलियो बनाउनका लागि उपयुक्त रहेको छ ।

यस प्लेटफर्म फोटोमोटोसँग इन्टिग्रेट समेत छ, जसले गर्दा तपाईंले यही प्लेटफर्मबाट आफ्नो भिजुअल आर्ट्स बिक्री गर्न सक्नुहुन्छ । अरु प्लेटफर्मले जस्तै यसले पनि कस्टम डोमेनका लागि शुल्क लिने गरेको छ ।

मक र्‍याक (Muck Rack)

यो प्लेटफर्म लेखक वा पत्रकारहरुलाई पोर्टफोलियो बनाउन उपयुक्त हुन्छ । यसबाट पत्रकारले विभिन्न सञ्चारमाध्यममा प्रकाशित लेखहरूलाई लिङ्क गरेर आफ्नो छुट्टै पोर्टफोलियो बनाउन सक्छन् । साथै यसबाट कस्ले तपाईंको आलेख शेयर गरे भन्ने कुरा थाहा पाउन सकिन्छ । तर यसमा पर्याप्त मात्रामा कस्टमाइज भने गर्न सकिँदैन । 

यीबाहेक पनि अन्य थुप्रै प्लेटफर्म छन्, जहाँबाट अनलाइन पोर्टफोलियो बनाउन सक्नुहुन्छ ।

विभिन्न सामाजिक सञ्जाल जस्तो: लिङ्कडइन, इन्स्टाग्राम, पिनटेरेस्ट आदिलाई पनि अनलाइन पोर्टफोलियोका लागि प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाईंलाई एचटीमएल (html) को ज्ञान छ, अनि आफ्नै डोमेन भएको अनलाइन पोर्टफोलियो बनाउन चाहनुहुन्छ भने अनफोल्ड, माई पोर्टफोलियो, कार्डस् जस्ता साइटबाट पोर्टफोलियोको डेमो डाउनलोड गरी त्यसलाई आफूअनुकूल बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०७९ ११:२८