काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको एकीकृत एसएमएस गेटवेमार्फत करिब साढे ६८ लाख एसएमएस पठाइएको छ ।
एक वर्ष अघि अर्थात् गएको पुषमा सूचना प्रविधि विभागले यो सेवा सञ्चालनमा ल्याएको थियो । मोबाइल सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल र सरकारी निकायहरूसँगको सहकार्यमा सञ्चालनमा आएको सिस्टमार्फत यही पुस मसान्तसम्म ६८ लाख २७ हजार २६८ ओटा एसएमएस पठाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको त्रैमासिक बुलेटिनमा उल्लेख गरिएको छ ।
यो अवधिमा ३७ सरकारी निकायले गेटवेमार्फत सेवाग्राहीलाई एमएमएस पठाएका छन् । यस अन्तर्गत यातायात व्यवस्था विभाग, नागरिक लगानी कोष, लोकसेवा आयोग, भूमि व्यवस्था तथा अभिलेख विभाग, राष्ट्रिय किताबखाना (निजामतितर्फ), निर्वाचन आयोग, सामाजिक सुरक्षा कोष, काठमाडौं महानगरपालिका, वैदेशिक रोजगार विभाग लगायत धेरै सेवाग्राही रहेको जनाइएको छ ।
सबै सरकारी निकायलाई एसएमएसमा एकद्धार प्रणालीमा ल्याउने उद्देश्यका साथ विभागले एसएमएस गेटवे सञ्चालनमा ल्याएको थियो ।
यसले सरकारी सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई कुनै सूचना दिनु परेमा यो माध्यम सहज हुने अपेक्षा विभागको रहेको छ । यसमा हालसम्म ३७ ओटा सरकारी निकाय जोडिएको भएपनि विस्तारै अन्य निकायसमेत जोडिने क्रम रहेको विभागले जनाएको छ ।
विभागका अनुसार यो सेवामा जोडिने सरकारी निकायले २० पैसा प्रति एसएमएसमा सेवाग्राहीलाई मेसेज पठाउनसक्ने छन् ।