काठमाडौं । एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा सिक्वल फाउन्डेसनले आयोजना गरेको तीन दिने महिला ह्याकाथन ‘ह्याकिङ फर ह्युम्यानिटी’ सम्पन्न भएको छ । यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्समा काम गरेको बताइएको छ ।
ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समूहहरुको पिचिङपछि विजयी समूहको घोषणा गरियो । सहभागी १६ टिममध्ये टिम 'कोड क्राफ्टर्स'ले नगद पुरस्कार एक लाख ५० हजार रुपैयाँसहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्छ ।
त्यस्तै पर्यटकीय क्षेत्रलक्षित सोलुसन बनाउँदै 'टिम सहयात्री'ले दोस्रो स्थानमा रहन सफल भई एक लाख नगद जित्न सफल भएको छ ।
ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै 'टिम पाई'ले बनाएको अर्लट सिस्टमले तेस्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ जित्याे
माघ २७ देखि २९ सम्म आयोजना गरिएको ह्याकाथनमा विभिन्न विषयमा कार्यशाला आयोजन गर्दै सहभागी छात्रालाई आफ्नो प्रोजेक्टको विकासका लागि चाहिने सीप प्रदान गरिएको थियो ।
पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमले तेस्रो दिन आइतबार निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए । महिलालाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन भएकाे बताइएकाे छ ।