close

दुई लाख मूल्य भएको एउटा आईफोन १४ प्रो म्याक्स बनाउन कति खर्च लाग्ला ?

टेकपाना टेकपाना

फागुन ५, २०७९ ८:४१

दुई लाख मूल्य भएको एउटा आईफोन १४ प्रो म्याक्स बनाउन कति खर्च लाग्ला ?

काठमाडौं । आईफोन भन्ने बित्तिकै स्मार्टफोन बजारको मुख्य आकर्षणको रुपमा हेरिन्छ । धेरै मानिसहरू आईफोनको विषयमा जान्न इच्छुक हुन्छन् ।

अर्कातिर आईफोनलाई बजारमा सबैभन्दा महँगो फोनको रुपमा पनि लिइन्छ । पछिल्लो समय सार्वजनिक भएको आईफोनको सबैभन्दा महँगो र नयाँ फोन हो ‘आईफोन १४ प्रो म्याक्स’ ।  

हालसम्म बजारमा आएका आईफोनमध्ये सबैभन्दा बढी फिचर, शक्तिशाली चिपसेट, स्तरीय क्यामेरा, ठूलो डिस्प्ले, राम्रो र टिकाउ ब्याट्री र सबैभन्दा बढी खोजिएको डाइनामिक आइल्यान्डसँगै स्याटलाइट कनेक्टीभिटी भएको यो फोन नरुचाउने कमै होलान् । 

यस फोनको १२८ जीबी भेरियन्टको सुरुवाती मूल्य एक लाख ८७ हजारको हाराहारीमा छ भने २५६ भेरियन्टको मूल्य करिब दुई लाख ८००० रुपैयाँ छ ।

एक टिबी स्टोरेज भएको आईफोन फोर्टिन प्रो म्याक्सको मूल्य नेपाली बजारमा करिब तीन लाखको हाराहारीमा छ । बजारमा यति मँहगो मूल्य भएको यो फोन बनाउँदा कम्पनीको भने कति खर्च हुन्छ होला ?  

काउन्टरपोइन्ट रिसर्चले अध्ययन गरेर आईफोन १४ प्रो म्याक्स निर्माण गर्न कम्पनीले कति खर्च गर्छ भन्ने विषयमा एक प्रतिवेदन तयार गरेको छ ।   

उक्त प्रतिवेदनका अनुसार एप्पलले एउटा आईफोन १४ प्रो म्याक्स बनाउन ४६४ डलर (करिब ६१ हजार रुपैयाँ) खर्च गर्छ । यो मूल्यलाई बिल अफ मटेरियल (बीओएम) पनि भनिन्छ । 

अर्थात् उक्त डिभाइसमा प्रयोग भएका सामग्रीको खर्चलाई बीओएम भनिन्छ । भौतिक रूपमा यस डिभाइसमा जे कुरा प्रयोग भएका छन् ती सबैको शुल्क यसमा जोडिन्छ । यसलाई हेर्ने हो भने फोन निर्माण खर्च जति छ उक्त फोनको वास्तविक मूल्य ५० प्रतिशत भन्दा पनि बढी छ । 

फोन निर्माण शुल्कमध्ये करिब २२ प्रतिशत शुल्क ए१६ बायोनिक चिपसेट र त्यससँग सम्बन्धित कम्पोनेन्टको मात्र रहेको काउन्टरपोइन्टले उल्लेख गरेको छ ।

बीओएम शुल्कले फोनको कुल मूल्य निर्धारण गर्छ भन्ने चाहिँ हुँदैन । बीओएम शुल्कमा शिपमेन्ट चार्ज जोडिएको हुँदैन । शिपमेन्ट भन्नाले फोन निर्माण भइसकेपछि त्यो प्रयोगकर्ताको हातसम्म पुग्ने शुल्कलाई जनाउँछ । त्यसैगरी फोनको डिजाइन लगायत अन्य शुल्क बीओएमपछि मात्र जोडिन्छ ।

आईफोन १४ प्रो म्याक्सको बीओएम शुल्क आईफोन १३ प्रो म्याक्सको तुलनामा ३.७ प्रतिशत बढी छ । यसको अर्थ एप्पललाई आईफोन १४ प्रो म्याक्स तयार पार्न ३.७ प्रतिशत रकम बढी लागेको छ । तर, यी दुबै मोडेलको खुद्रा मूल्य भने करिब बराबर नै छ ।

कम्पनीको यही सिलसिलालाई हेर्ने हो भने आईफोन १५ लाइनअप केही महँगो हुने अपेक्षा गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ ८:४१