काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिल (PCI SSC) मा आबद्ध भएको छ । नेप्सले हालै पीएसआई एसएससीकाे एसाेसिएट पार्टिसिपेटिङ अर्गनाइजेसनकाे सदस्यता प्राप्त गरेकाे हाे ।
साथै नेप्स उक्त संस्थाकाे 'बोर्ड अफ एडभाइजरी' मा पनि मनाेनित भएकाे छ । नेपालबाट उक्त सदस्यता प्राप्त गर्ने नेप्स पहिलो संस्था भएको बताइएकाे छ ।
पीएसआई एसएससीले कार्डमार्फत हुने कारोबारमा डेटा सुरक्षासम्बन्धी मापदण्डहरूको विकासक्रमलाई व्यवस्थित गर्ने काम गरिरहेको छ । भिजा, मास्टरकार्डजस्ता अन्तर्राष्ट्रिय कार्ड नेटवर्कले पीसीआई डीएसएस (PCI DSS) सर्टिफिकेसन अनिवार्य नै गरेका छन् ।
''कार्डमार्फत हुने कारोबारको सुरक्षा र तत्सम्बन्धी विकास भइरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोबारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डेटा सुरक्षा सम्बन्धी मापदण्डहरुको विकास गरी लागू गर्ने उद्देश्य लिएर बनेको यो संस्थाको एसाेसिएट पार्टिसिपेटिङ अर्गनाइजेसनको सदस्यता प्राप्त गरेकोमा नेप्स गौरवान्तित छ,'' नेप्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेप्स ISO 27001:2013 र PCI DSS Version 3.2.1 प्रमाणित संस्था पनि भएको हुँदा यो सदस्यताले सरोकारवालाहरूको कम्पनीप्रतिको विश्वासलाई अझ प्रगाढ बनाउने कम्पनीले उल्लेख गरेकाे छ ।