close

कसरी बन्द भयो स्टार्टअप केन्द्रित सिलिकन भ्याली बैंक ?

टेकपाना टेकपाना

फागुन ३०, २०७९ १६:२५

कसरी बन्द भयो स्टार्टअप केन्द्रित सिलिकन भ्याली बैंक ?

काठमाडौं । प्रविधि तथा स्टार्टअपमा केन्द्रित अमेरिकाको १६औँ ठूलो 'सिलिकन भ्याली बैंक' शुक्रबार बन्द भएको छ । विशेषगरी सिलिकन भ्यालीका स्टार्टअपमा लगानी गर्दै आएको यो बैंक बन्द हुँदा विश्वभर बहस भइरहेकाे छ ।

अमेरिकी नियामकले शुक्रबार यस बैंकको सम्पूर्ण सम्पत्ति जफत गर्दै बैंक बन्द गरेका थिए । आज हामी सिलिकन भ्याली बैंक कस्तो बैंक हो, किन बन्द भयाे लगायतका विषयमा जानकारी दिँदै छौँ ।

के हो सिलिकन भ्याली बैंक ?

सन् १९८३ मा बैंक अफ अमेरिकाका पूर्व प्रबन्धक बिल बिगरस्टाफ र रोबर्ट मेडियारिसले एउटा यस्तो बैंकको परिकल्पना गरे, जुन सम्पूर्ण रूपमा स्टार्टअपमा केन्द्रित होस् । स्टार्टअपको हब भनेर चिनिने सिलिकन भ्यालीकै नामबाट त्यही वर्ष बैंक स्थापना गरियो ।

अमेरिकाको क्यालिफोर्नियामा यस बैंकको केन्द्रीय कार्यालय स्थापना भयो । बैंकको स्थापनापछि सिलिकन भ्यालीका स्टार्टअप, भेन्चर क्यापिटल तथा अन्य प्रविधि कम्पनीलाई यस बैंकले ऋण दिने र फन्ड जम्मा गर्ने काम गर्न थाल्यो ।

यस बैंकले भेन्चर क्यापिटलद्वारा सञ्चालित स्टार्टअपहरूलाई आवश्यक सहयोग दिने काम गर्न थाल्यो । यसरी स्टार्टअप र इनोभेसनमा केन्द्रित यो बैंक स्टार्टअप, भेन्चर क्यापिटल, रियलस्टेट र प्रविधिसँग सम्बन्धित कम्पनीका लागि मात्र खाता खोल्ने, उनीहरूको फन्ड जम्मा गर्ने र उनीहरूलाई ऋण दिने कार्यमा बढी केन्द्रित भयो ।

सिलिकन भ्याली बैंकले कसरी सेवा दिइरहेको थियो ?

यसरी यस बैंकमा स्टार्टअपबाट आएको रकमलाई बचत गर्न थालियाे । यता सिलिकन भ्यालीका स्टार्टअपले विभिन्न भेन्चर क्यापिटलबाट जति डलर फन्ड सङ्कलन गर्थे, त्यसमध्ये आफूलाई बढी भएको फण्ड सिलिकन भ्यालीमा जम्मा गर्न थाले ।

सन् २०२० पछि स्टार्टअपमा फन्डिङ गर्ने भेन्चर क्यापिटलको सङ्ख्या बढ्न थाल्यो । स्टार्टअपमा खुलेर लगानी गर्नेहरू बढेपछि स्टार्टअपले आफूले पाएको फन्डिङ सिलिकन भ्याली बैंकमा जम्मा गर्न थाले ।

३१ डिसेम्बर २०२२ मा यस बैंकमा २११ अर्ब डलर रकम जम्मा भएको थियो । यसपछि बैंकमा डिपोजिट रकमको कुनै कमी थिएन ।

जति पनि स्टार्टअपले रकम जम्मा गरेका थिए, यसमा बैंकले उनीहरूले माग गरेको समयमा भने अनुसारकै ब्याजसहित फिर्ता गर्नुपर्ने हुन्छ । अब बैंकले पैसा कमाउनका लागि डिपोजिट भएको रकम ऋण दिनुपर्ने हुन्छ ।

यो बैंकमा यस्तो अवस्था आइदियो, जहाँ ऋण लिने कोही पनि भएन । ऋण लिनेको कमी हुनुको मुख्य कारण हो स्टार्टअप । स्टार्टअपलाई भेन्चर क्यापिटलले लगानी गरिरहेका थिए । त्यही रकम स्टार्टअपले बैंकमा जम्मा गरेका थिए । यस्तोमा स्टार्टअपले बैंकबाट ऋण लिने कुरा आएन । 

ऋण लिनुभन्दा स्टार्टअपलाई इक्विटी बिक्री गर्नु, आईपीओ जारी गर्नु वा लगानी भित्र्याउनुमा बढी फाइदा थियो । त्यसैले ऋण लिए पनि स्टार्टअपले कम ऋण लिन थालेका थिए । ३१ डिसेम्बर २०२२ सम्म बैंकले कूल ७४ अर्ब डलर मात्र ऋण दिएको थियो । जब कि बाँकी १९७ अर्ब डलर रकम बैंकमै जम्मा थियो । जसबाट ब्याज आउने वा आम्दानी हुने कुरै भएन । 

आम्दानी हुने ठाउँ कम र जम्मा भएको रकम दिने ठाउँ धेरै भइदियो । यस्तोमा आफूसँग जम्मा भएको रकम बैंकले लगानी गर्नुपर्ने भयो । त्यसैले बैंकले सरकारसँग सहकार्य गरेर घाटा नजाने क्षेत्रमा लगानी गर्न थाल्यो, जसलाई एचटीएम अर्थात 'हेड टु म्याचुरिटी' पनि भन्ने गरिन्छ । यस्तोमा रकम ३० वर्षसम्म फिक्स्ड रिटर्न पाइन्छ । यहाँसम्म पनि सबै ठीकठाक चलिरहेको थियो । 

त्यसपछि बैंकको पतन सुरु भयो । यसमा सबैभन्दा प्रमुख कारण हुन स्टार्टअप । बजारमा भएका स्टार्टअप विभिन्न कारणले डुब्न थाले, जसमा नयाँ स्टार्टअपहरूले फन्ड पाउन छाडे । यस्तोमा केही स्टार्टअपले आईपीओ ल्याएर आए । आईपीओमार्फत पनि स्टार्टअपले केही राम्रो गर्न सकेनन् । 

बजारमा ऋणको दर महँगो भएकाले स्टार्टअपले ऋण लिन छोडे । मुद्रास्फीति हुन थालेपछि अमेरिकाले ब्याजदर बढाउन सुरु गर्‍यो, जुन ऋण निःशुल्क वा १ प्रतिशतमा पाउँथे त्यही ४ वा ५ प्रतिशतसम्म पुग्न थाल्यो । यति महँगो ब्याजदर स्टार्टअपले लिन सकेनन् ।

यसरी ऋण लिने, आईपीओ जारी गर्न वा लगानी भित्र्याउन समस्या परेपछि स्टार्टअपले बैंकमा जम्मा भएको आफ्नो रकम निकाल्ने योजना बनाए । सिलिकन भ्याली बैंकमा रकम डिपोजिट गर्ने जति पनि स्टार्टअप थिए, सबै रकम निकाल्न बैंकमा पुगे । 

यस्तोमा एकै पटक सबै बचतकर्ता बैंकमा पुगेपछि बैंकसँग त्यति रकम थिएन । जति ऋण थियो, त्यो माग्ने बित्तिकै पाउने कुरा पनि भएन । अब एकैपटकमा आउने भनेको लगानी गरेको ठाउँबाट मात्र थियो । तर, लगानी गरेको ठाउँबाट रकम ल्याउँदा बैंकलाई घाटा पर्ने भयो ।

मानौं तपाईंले कतै १०० रुपैयाँ लगानी गर्नुभएको छ । उक्त लगानीको बजार भाउ बढेर १०५ रुपैयाँ पुगेको छ । यस्तोमा १०५ रुपैयाँलाई १०० तिरेर खरिद गर्न सकिन्छ, जसले गर्दा फाइदा हुन्छ । यो नियमित प्रक्रिया हो, जो चलिरहेको हुन्छ । तर, यहाँ बैंकको दुर्भाग्य, बैंकले जुन ठाउँमा लगानी गरेको थियो, त्यहाँ लगानी माइनसमा गइरहेको थियो ।

बैंकले ९१ अर्ब डलर लगानी गरेको थियो भने त्यो बेला बजारमा उक्त लगानीको मूल्य ७६ अर्ब डलर चलिरहेको थियो । यसमा बैंक १५ अर्ब घाटामा थियो । लगानी नल्याउने हो भने डिपोजिट माग्न आएका बचतकर्तालाई के दिने, ल्याउने हो भने घाटामा पर्ने अवस्था छ ।

यो अवस्थाबाट मुक्ति पाउन बैंकले २१ अर्ब डलर लगानी बेच्नुपर्‍यो, जसबाट बैंकलाई एक अर्ब ८० करोड डलर घाटा लाग्यो । यसरी घाटामा परेको रकम असुल गर्न बैंकले २.५ अर्ब डलर फन्ड रेज गर्ने योजना बनायो । तर, फन्ड दिने कोही भएन ।

उता बाँकी भएका भेन्चर क्यापिटल र स्टार्टअपले पनि आफूले जम्मा गरेको रकम माग्न थाले । यसलाई वित्तीय भाषामा 'बैंक रन' भन्ने गरिन्छ । यो त्यस्तो अवस्था हो, जहाँ सबै निश्चेपकर्ता एकै पटक आफ्नो बचत रकम निकाल्न आउँछन् ।

यसरी 'बैंक रन' हुन थालेपछि बैंकको शेयरमा एकैदिन ६० प्रतिशतले गिरावट आयो ।

यस्तो अवस्था आएपछि नियामक 'डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसन' (डीएफपीआईले) शुक्रबार बैंक बन्द गर्ने निर्देशन दियो । 'फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेसन' लाई नियामकले सम्पूर्ण सम्पत्ति जिम्मा दिँदै निक्षेपकर्ताको डिपोजिट रकम चुक्ता गर्न अनुरोध गर्‍यो ।

त्यसपछि यो संस्याले 'द नेसनल सेन्टा क्लारा' नामको बैंक बनाएर सिलिकन भ्याली बैंकको सबै सम्पत्ति त्यस बैंकमा राख्यो । र, त्यही सम्पत्तिको आधारमा निक्षेपकर्तालाई रकम फिर्ता दिने प्रतिबद्धता जनायो ।

यता सिलिकन भ्याली बैंकमा रकम जम्मा गर्ने ३० प्रतिशत स्टार्टअपलाई 'वाई कम्बिनेटर' ले फन्ड उपलब्ध गराएको कम्पनीका सीईओ ग्यारी टाेनको भनाइ छ । उनका अनुसार ती स्टार्टअपसँग अहिले आगामी ३० दिनको तलब दिने पैसा पनि छैन । यस्तोमा अधिकांश स्टार्टअप डुब्ने अवस्था आएको छ ।

किनभने उनीहरूसँग कुनै नयाँ परियोजनामा खर्च गर्ने फन्ड छैन, स्टाफलाई दिने तलब छैन, अफिसको रेन्ट वा अन्य खर्चका लागि पैसा नै छैन । जति थियो बैंकमा ठप्प छ । स्टार्टअप आफूलाई बचाउन कर्मचारीको सङ्ख्या कटौती गर्ने, नयाँ परियोजना पछि सार्ने गर्नुपर्ने हुन्छ । जसले गर्दा उनीहरूको भइरहेको वृद्धि पनि रोकिन्छ ।

यसरी सिलिकन भ्याली बैंकमा आफ्नो रकम राख्ने सम्पूर्ण स्टार्टअपको भविष्य धराशयी भएको विश्लेषकहरू बताउँछन् ।

अहिले अमेरिकाका दुई ठूला बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक बन्द भइसकेका छन् । हरेक बैंकका बचतकर्ताले एकैपटक आफ्नो रकम निकाल्ने काम सुरु गरे भने कति बैंक बन्द हुन्छन् भन्न सकिने अवस्था छैन ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०७९ १६:२५