काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको केवाईसी अपडेट अब ‘ठेगाना आईडी’ एपमार्फत गर्न सकिने भएको छ । टेलिकमले मोबाइल प्रयोगकर्ताको डिजिटल केवाईसी अपडेटका लागि हालै ठेगाना सर्भिसेसँग सम्झौता गरेको हो ।
यसअनुसार टेलिकमका मोबाइल प्रयोगकर्ताले ‘ठेगाना आईडी’ एपमार्फत आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन् । ठेगाना सभिर्सेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल केसीले अब टेलिकमकाे केवाईसी अपडेट गर्न कार्यालयसम्म धाउनु नपर्ने बताए ।
"टेलिकमका ग्राहकले घरमै बसेर ठेगाना आईडी एप डाउनलोड गरी आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन्," उनले भने । एकपटक केवाईसी भरिसकेपछि उक्त विवरण पछिसम्म काम लाग्ने उनको भनाइ छ ।
प्रयोगकर्ताले एप डाउनलोड गरेपछि आफ्ना विवरण भरेर नागरिकता, ड्राइभिङ लाइसेन्स लगायतका परिचयपत्र प्रयोग गरी केवाईसी भेरिफाई गर्नसक्ने बताइएकाे छ ।
यसरी भेरिफाई भएको केवाईसी नेपाल टेलिकमको केवाईसी अपडेट गर्न प्रयोग गर्न सकिने उनले बताए । साथै प्रयोगकर्ताको विवरण कसैले पनि ट्रयाक गर्न नसक्ने उनले दाबी गरे । यसले डेटामा एकरुपता ल्याउनुका साथै धेरै काम सहज हुने केसीकाे विश्वास छ ।
"हाललाई हामीले केवाईसी अपडेटबाट मात्र सेवा सुरु गरेका छौँ । आउने दिनमा सोही केवाईसी नेपाल टेलिकमको अन्य सेवाका लागि पनि प्रयोग गर्नसक्ने गरी व्यवस्था गर्नेछौँ," उनले भने ।
सेवा विस्तारका लागि नेपाल टेलिकमसँगै अन्य संस्थाहरूसँग पनि छलफल भइरहेको केसीले जानकारी दिए । एकपटक भरेको केवाईसी ‘ठेगाना आईडी’मा आबद्ध सबै संस्थामा प्रयोग गर्न सकिने उनले बताए ।
अबको केही दिनमा नै ‘ठेगाना आईडी’ नामबाट एप सार्वजनिक हुने केसीले जानकारी दिए ।