काठमाडौं । हाम्रो स्मार्टफोन फोन गर्ने, फोटो खिच्ने, इन्टरनेट चलाउने वा गेम खेल्न बाहेक अन्य थुप्रै कामका लागि पनि उपयोगी हुन्छ । विशेषगरी तपाईँसँग सामसङको फोन वा ट्याब्लेट छ भने त्यसलाई विभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुन्छ ।
आज हामी सामसङको फोन वा ट्याब्लेटलाई कम्प्युटरको दोस्रो स्क्रिन (सेकेन्डरी स्क्रिन) कसरी बनाउने भन्ने विषयमा जानकारी दिँदैछौं ।
कतिपय अवस्थामा कम्प्युटरमा काम गर्दा हामीलाई डिभाइसको स्क्रिनको स्पेस कम भइरहेको हुन्छ । यस्तोमा तपाईँले सामसङको नयाँ फिचर प्रयोग गरी आफ्नो डिभाइसलाई दोस्रो स्क्रिनका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
सामसङको फोन वा ट्याबलाई यसरी बनाउनुहोस् कम्प्युटरको दोस्रो स्क्रिन:
- सबैभन्दा पहिले सामसङको फोन अनलक गर्नुहोस् ।
- त्यसपछि माथिबाट स्टाटसबारलाई दुई पटक तल सारेर 'क्विक सेटिङ' प्यानलमा जानुहोस् ।
- यति गरेपछि त्यहाँ भएको 'स्मार्ट भ्यु'को अप्सनमा क्लिक गर्नुहोस् ।
- स्मार्ट भ्युको अप्सनमा गइसकेपछि माथि दायाँपट्टि भएको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
- अनि सेटिङको अप्सनमा ट्याप गर्नुहोस् ।
- यति गरेपछि 'अबाउट स्मार्ट भ्यु'को अप्सनमा ट्याप गर्नुहोस् ।
- र, त्यहाँ देखिएको 'स्मार्ट भ्यु' (Smart View) को अप्सनमा १० पटक लगातार ट्याप गर्नुहोस् ।
- यो प्रक्रिया सकेपछि तपाईँ स्मार्ट भ्यु डेभलपर अप्सनमा पुग्नुहुन्छ ।
- डेभलपर अप्सनमा ट्याप गरिसकेपछि 'स्टार्ट सेकेन्ड स्क्रिन' (Start second screen) को अप्सनलाई अन गर्नुहोस् ।
- यति गरेपछि कनेक्सन मोड सेक्सनबाट ड्रविङ/गेमिङ वा भिडिओमध्ये कुनै एक अप्सन छान्नुहोस् ।
यसरी स्मार्ट भ्यु डेभलपर अप्सन इनेबल गर्दा तपाईँलाई पासवर्ड राख्न भनिएको हुनसक्छ । यदि पासवर्ड मागेको खण्डमा यी दुईमध्ये एउटा पासवर्ड राख्नुहोस् ।
१) #00rtsp00
२) #00sv00
यति गरेपछि तपाईँको सामसङ फोन कम्प्युटरको सेकेन्ड स्क्रिन बन्न तयार भयो । अब तपाईँले आफ्नो फोन कम्प्युटरमा कनेक्ट गर्नुहोस् ।
यसरी सामसङ ग्यालेक्सी फोनलाई कम्प्युटरमा कनेक्ट गर्नुहोस्:
तपाईँले आफ्नो सामसङ फोनमा स्मार्ट भ्यु एक्टिभेट गरिसकेपछि फोनलाई कम्प्युटरको दोस्रो स्क्रिनका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । सामसङ फोनमा स्मार्ट भ्यु इनेबल गरिसकेपछि कम्प्युटरमा तलका प्रक्रिया अपनाएर डिभाइसलाई कनेक्ट गर्नुहोस् ।
- कम्प्युटरमा सबैभन्दा पहिले विन्डो प्लस के (Win+K) कि दबाउनुहोस् ।
- त्यसपछि आफ्नो डिभाइसको नाममा ट्याप गर्नुहोस् ।
- यति गरेपछि डिभाइसको नामको तल भएको 'Allow mouse, keyboard, touch and pen input from the device' को अघि भएको बक्समा ट्याप गरेर टिकमार्क भर्नुहोस् ।
- यति भएपछि तल भएको 'एक्सटेन्ड' (Extend) को अप्सनमा ट्याप गर्नुहोस् । त्यसबाहेक पनि सामसङ फोनलाई डुप्लिकेट, सेकेन्ड स्क्रिन वन्लीका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
- यति गरेपछि कम्प्युटरमा भएको सेटिङ एप खोल्नुहोस् ।
- अनि, सेटिङमा भएको 'सिस्टम'को अप्सनमा क्लिक गर्नुहोस् ।
- र, डिस्प्लेको अप्सनमा क्लिक गर्नुहोस् ।
- डिस्प्लेमा गइसकेपछि तपाईँको डिभाइसको नाम छान्नुहोस् ।
- त्यसपछि स्क्रोल गर्दै तल गएर 'स्केल एन्ड लेआउट' (Scale and Layout) सेक्सनमा जानुहोस् ।
- यति भएपछि आफूलाई उपयुक्त हुनेगरी डिस्प्लेको स्केल, डिस्प्ले रिजोलुसन वा डिस्प्ले ओरिन्टेसन आफ्नो फोनमा उपयुक्त हुनेगरि एड्जस्ट गर्नुहोस् ।
यसरी सामसङ डिभाइसलाई कम्प्युटरको सेकेन्ड स्क्रिनका रूपमा प्रयोग गर्न सकिन्छ ।
ट्याबलाई आफ्नो कम्प्युटरको सेकेन्डरी स्क्रिन बनाउनका लागि तलको प्रक्रिया अपनाउनुहोस्:
सामसङ ग्यालेक्सी ट्याब एस एटभन्दा अगाडिका फोनमा यो फिचर प्रयोग गर्नका लागि सुपर डिस्प्ले वा माइक्रोसफ्टको बिल्ट इन ‘प्रोजेक्सन’ फिचर प्रयोग गर्न सकिन्छ । तर, नयाँ डिभाइसमा यो तरिका त्यति प्रभावकारी हुँदैन । पछिल्लो समय बजारमा आएका ग्यालेक्सी ट्याब एस एटभन्दा पछिका ट्याबलेटमा सामसङकै बिल्टइन फिचरबाट उक्त डिभाइसलाई सेकेन्डरी डिस्प्ले बनाउन सकिन्छ ।
ट्याबलेटलाई कम्प्युटरको सेकेन्डरी डिस्प्ले बनाउन तलको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले ट्याबलेट अन गर्नुहोस् र सेटिङ प्यानलमा जानुहोस् ।
त्यसपछि दायाँपट्टि स्लाइड गरेर नयाँ पेजमा जानुहोस् ।
अनि ‘सेकेन्ड स्क्रिन’को आइकनमा ट्याब गर्नुहोस् ।
सेकेन्ड स्क्रिनको अप्सनमा ट्याप गरिसकेपछि ड्रवेविङ, गेमिङ वा भिडिओ मध्येको कुनै एउटा अप्सन छान्नुहोस् ।
अब, कम्प्युटरमा जानुहोस् र विन्डोज प्लस के (Win+K) कि सँगसँगै दबाउनुहोस् ।
र, त्यहाँ देखिएको आफ्नो डिभाइसको नाममा क्लिक गर्नुहोस् ।
यसरी तपाईंले ट्याबलेटलाई कम्प्युटरको सेकेन्डरी स्क्रिनका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । माथिको प्रक्रिया अपनाइसकेपछि पनि पूर्ण रूपमा ट्याब्लेटमा कम्प्युटरको स्क्रिन फिट नहुन सक्छ । त्यसैले सामसङ फोनलाई कम्प्युटरको सेकेन्डरी स्क्रिनका रूपमा कसरी एडजस्ट गर्ने भनिएको छ त्यही प्रक्रिया अपनाएर आफू अनुकूल एडजस्ट गर्न सक्नुहुन्छ ।