close

निकिता पौडेलबारेका ‘निराधार’ पोस्ट नहटाए कानूनी प्रक्रियामा जाने रवि लामिछानेको चेतावनी

टेकपाना टेकपाना

चैत ३०, २०७९ ८:२४

निकिता पौडेलबारेका ‘निराधार’ पोस्ट नहटाए कानूनी प्रक्रियामा जाने रवि लामिछानेको चेतावनी

काठमाडौं । उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिले आफ्नी श्रीमती निकिता पौडेल विरुद्धका निराधार पोस्ट तथा समाचार नहटाए कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।

दुई करोड रुपैयाँ घुस मागिएको अडियो प्रकरणमा जोडिएको ‘कोर टिम’मा श्रीमती पौडेल समेत रहेको भन्दै टिकाटिप्पणी भइरहेका बेला लामिछानेको यस्तो प्रतिक्रिया आएको हो ।

उनले बुधबार राति फेसबुक पोस्टमार्फत आफ्नी श्रीमतीको बचाउ गरेका छन् । ''एक आफैँमा योग्य, सक्षम महिला, जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्,'' लामिछानेले आक्रोशित भावसहित भनेका छन्, ''बिना आधार, प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं ।''

लामिछानेले बिना कारण बदनामी र तनाव लिनु परेको प्रति ‘कायरहरू’को तर्फबाट आफूले श्रीमती पौडेलसँग क्षमासमेत मागेका छन् । ''न पिर गर, हामी यो घेराबन्दी तोड्ने छौं, हामी जित्ने छौं,'' उनले लेखेका छन् ।

लिक भएको घुस प्रकरण सम्बन्धी अडियो ढाका कुमार श्रेष्ठकै भएको निष्कर्ष निकाल्दै रास्वपाले बुधबारमात्रै उनलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेिसकेको छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ ८:४२