काठमाडौं । आजदेखि श्रम स्वीकृतिको निवेदन स्थानीय तहबाट नै दिन सकिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय अनुसार आजबाट यो सेवा सुर गरिएको हो ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार आजबाट ७५३ ओटै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृतिका लागि निवेदन दिन सकिनेछ ।
"टाढा रहेका श्रमिकहरू अझै पनि श्रम स्वीकृतिका लागि काठमाडौंमा नै आएर आवेदन दिन सकिने अवस्था थियो," उनले भने, "साथै सबैजनाले अनलाइन माध्यमबाट निवेदन दिन सक्दैनन् । कोही पढेका हुँदैनन् भने कसैलाई यसमा पहुँच हुँदैन । यसले गर्दा पनि हामीले यो व्यवस्था लागू गरेका हौं ।"
अब वैदेशिक रोजगारीमा जानका लागि सेवाग्राहीहरुले आफ्नै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा गएर निवेदन दिन सक्नेछन्, उनले बताए ।
प्रत्येक केन्द्रमा खटिएका कर्मचारीले सेवाग्राहीको अनलाइन फारम भर्ने देखि यस विषयमा जानकारी दिने लगायतका काम गर्ने उनको बताए । यसले गर्दा इन्टरनेटको पहुँचमा नभएका तथा अनलाइन फारम भर्न नजान्ने सेवाग्राहीलाई सहयोग हुने उनले विश्वास व्यक्त गरे ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० १७:२६
