close

सेक्युरिटी प्रिटिङ प्रेस खरिदमा विकल पौडेल विरुद्ध ६९ करोड बढीको भष्ट्राचार मुद्दा

टेकपाना टेकपाना

बैशाख ३, २०८० १८:२५

सेक्युरिटी प्रिटिङ प्रेस खरिदमा विकल पौडेल विरुद्ध ६९ करोड बढीको भष्ट्राचार मुद्दा

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले पावर सिस्टम इन सेक्युरिटि प्रिन्टिङ प्रेस एन्ड प्रेसराइज फ्युल स्टोरेज ट्याङको खरिद कार्यमा भष्ट्राचारको गरेको आरोपमा केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।  

अख्तियारले उनी विरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ ७० पैसाको भष्ट्राचारको गरेको आरोपमा बिगो दाबी सहितको मुद्दा दायर गरेको छ । 

केन्द्रले बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी काम गरेको अख्तियारले जनाएको छ । उक्त खरिद कार्यका लागि बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै अख्तियारमा परेको उजुरी निवेदन अनुसार गरेको अनुसन्धानमा केन्द्रका कार्यकारी निर्देशक पौडेल लगायत अन्य ८ जना दोषी पाइएको हो । 

अनुसन्धानका क्रममा उक्त खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौता विपरीत गुणस्तरहीन विद्युतीय ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक देशमा बनेको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम काम नगरी संरचना सञ्चालन वापत र आपूर्तिपछिको सेवा वापत अग्रिम रुपमा बढी भुक्तानी दिने काम भएको पाइएको छ । 

साथै आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने ठूलो फ्युल ट्यान्क प्रणालीको खरिद भएको पनि पाइएको हो । यो कार्यले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानि नोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाएको छ । 

यस खरिद प्रकरणमा संलग्न ९ जनालाई कैद र बिगो बमोजिम जरिवाना गरी बिगो समेत असुल उपर गर्न अख्तियारले माग दाबी गरेको छ ।

अख्तियारले केन्द्रका कार्यकारी निर्देशक पौडेल सहित तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि हाल वन तथा वातावरण मन्त्रालयमा बहाल रहेका मेकानिकल इन्जिनियर नविन कुमार पोखरेल, तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि र हाल राष्ट्रिय सूचना प्रबिधि केन्द्रमा रहेका सहायक निर्देशक रमेश प्रसाद पोखरेल, तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा शाखा अधिकृत र हाल राष्ट्रिय समावेशी आयोगमा रहेका शाखा अधिकृत मनिकमान महर्जन, तत्कालिन सुरक्षण मुद्रण केन्द्रमा कार्यरत लेखा अधिकृतबाट सेवानिवृत्त राम बहादुर बुढा विरुद्ध मुद्दा दायर भएको छ । 

त्यस्तै तत्कालीन सुरक्षण मुद्रण केन्द्र र हाल जिल्ला समन्वय समिति काठमाडौंमा कार्यरत शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रा.लि. का प्रबन्ध निर्देशक रोहित मान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रा.लि. का निर्देशक भुवन महर्जन    र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्र लाल गुरौ विरुद्ध अख्तियारले भष्ट्रचारको मुद्दा दायर गरेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० १८:२५