close

ह्वावेकै हविगत हुन सक्ने त्रासमा साओमी, भिभो, ओप्पो र वनप्लस, एन्ड्रोइडको विकल्प खोज्दै

टेकपाना टेकपाना

बैशाख २७, २०८२ १०:४९

ह्वावेकै हविगत हुन सक्ने त्रासमा साओमी, भिभो, ओप्पो र वनप्लस, एन्ड्रोइडको विकल्प खोज्दै

काठमाडौँ । प्रविधि उद्योगमा एन्ड्रोइड र आईओएसको प्रभुत्व कायमै रहँदा चिनियाँ प्रविधि कम्पनीहरूले अब यसको सशक्त विकल्प खोज्न सुरु गरेका छन् । नयाँ जानकारी अनुसार साओमी र बीबिके (BBK) ग्रुप अन्तर्गतका ओप्पो, भिभो र वनप्लस जस्ता प्रमुख स्मार्टफोन निर्माताहरूले संयुक्त रूपमा एउटा नयाँ अपरेटिङ सिस्टम (ओएस) विकास गर्न थालेका हुन् ।

यो कदमलाई एन्ड्रोइड र आईओएसको विकल्पको रूपमा हेरिएको छ, जसलाई अहिले वैकल्पिक अपरेटिङ सिस्टम अब अनिवार्य भइसकेको भन्ने दृष्टिकोणबाट हेरिएको छ ।

यो कदमका पछाडि विभिन्न महत्त्वपूर्ण कारणहरू छन् । पहिलो हो, भू-राजनीतिक दबाब र आत्मनिर्भरता । संयुक्त राज्य अमेरिका र चीनबिचको सम्बन्ध अझै सुमधुर हुन सकेको छैन । यस्तो अवस्थामा चिनियाँ कम्पनीहरूले अमेरिकी सरकारको गलत नजरमा परिने जोखिमलाई मध्यनजर गर्दै थप आत्मनिर्भरताको आवश्यकता महसुस गरेका छन् ।

ह्वावेले विगतमा अमेरिकी प्रतिबन्धका कारणले गुगल सेवाहरू गुमाउनु परेको उदाहरण ताजै छ । यही अवस्थाबाट पाठ सिक्दै अन्य कम्पनीहरूले पनि एन्ड्रोइडमा रहेको पहुँच गुमाउनु पर्ने सम्भावित अवस्थाका लागि पूर्वतयारी गरिरहेका छन् । यो नयाँ ओएस विकास गर्नुलाई सावधानीपूर्ण कदमका रूपमा लिइएको छ ।

अर्को हो, बजारमा नवीनताको अभाव । स्मार्टफोन बजार अहिले एकनासको अथवा भनौँ स्थिर जस्तो देखिएको छ । विगतमा हरेक कम्पनीको आ-आफ्नै विशिष्टता हुने गरे पनि अहिले फोनहरू धेरै हदसम्म उस्ता उस्तै देखिने गरेका छन् । अपरेटिङ सिस्टमहरूले पनि एकअर्काबाट सुविधाहरू सापटी लिएका छन् । जस कारण तिनीहरूबिच लगभग भिन्नता छुट्याउनै मुस्किल हुने अवस्था छ । साओमी र वनप्लसको यो सम्भावित नयाँ अपरेटिङ सिस्टमले स्मार्टफोनलाई फेरि रोमाञ्चक बनाउन सक्ने आशा गरिएको छ ।

त्यस्तै सामसुङ-एप्पल एकाधिकारको जोखिमको भय पनि सँगसँगै छ । यदि साओमी र बीबिके-स्वामित्वका कम्पनीहरूले एन्ड्रोइड प्रयोग गर्न पाएनन् भने यसको सबैभन्दा ठुलो फाइदा एप्पल र सामसङलाई हुनेछ । जसले बजारमा एकाधिकार सिर्जना गर्न सक्छन् । बजारमा पर्याप्त विकल्पहरू कायम राख्न तेस्रो मोबाइल इकोसिस्टमको आवश्यकता रहेको छ ।

यो सन्दर्भमा ह्वावेको सहयोग र त्यसको अनुभव पनि महत्त्वपूर्ण छ । अमेरिकी सरकारले ह्वावेमाथि पहिलो पटक प्रतिबन्ध लगाएको ६ वर्षपछि मात्रै ऊ अब पूर्ण रूपमा एन्ड्रोइडबाट अलग हुन तयार देखिन्छ ।

ह्वावेलेले आफ्नो हार्मोनी ओएसलाई परिपक्व बनाउँदै चिनियाँ बजारमा कमब्याक गरेको छ । ह्वावेले अब साओमी, ओप्पो, भिभो र वनप्लसलाई यो गुगल-रहित एन्ड्रोइडको विकल्प सिर्जना गर्न सहयोग गर्नेछ । यद्यपि, ह्वावेको ओएस अझै पनि एन्ड्रोइड र आईओएसलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्ने अवस्थामा विकसित भइनसकेको बताइन्छ । विशेषगरी यसको एप स्टोरमा कयौँ लोकप्रिय एपहरूको अभाव छ।

यो प्रयास पक्कै पनि सजिलो छैन । यदि साओमी र यसका साझेदारहरूले एन्ड्रोइड आधारित फोन बेच्न छाडे भने उनीहरूले विश्वव्यापी बजारमा आफ्ना ग्राहक गुमाउन सक्ने जोखिम पनि छ । एक राम्रो सुरुवात भनेको इनोभेटिभ फिचर र अद्वितीय भिजुअल सुधारसहितको एन्ड्रोइड स्किनलाई परिमार्जन गर्नु हुन सक्छ ।

यसबाहेक, साओमीले सम्भावित प्रतिबन्धहरूको सामना गर्न इन-हाउस चिपसेटमा पनि काम गरिरहेको खबर छ । यद्यपि अमेरिकी सरकारले एन्ड्रोइडमा साओमीको पहुँच रोक्ने कुनै सङ्केत दिएको छैन । तैपनि त्यसको सम्भावनालाई नकार्न भने सकिँदैन ।

यो नयाँ अपरेटिङ सिस्टमको विकासले स्मार्टफोन बजारमा आवश्यक एउटा धक्का दिनसक्ने सम्भावना छ । यो प्रयासले कहिले प्रतिफल दिन्छ, त्यो भने भविष्यले नै बताउनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ १०:४९