काठमाडौं । माइक्रोसफ्टले आफ्नो मोबाइल किबोर्ड एप ‘स्विफ्ट की’मा बिङ एआई च्याटबट थपेको छ । प्रयोगकर्ताले एआईबाट तयार हुने उत्तर र सल्लाहहरूमा सजिलै पहुँच पाउन् भनेर आईओएस र एन्ड्रोइड एपमा उक्त च्याटबट थपेको माइक्रोसफ्टले जनाएको छ ।
किबोर्डमा थपिएको उक्त फिचर प्रयोग गर्न दायाँ भागमा हुने निलो रङ्गको बिङ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि किबोर्डबाटै कुनै पनि जिज्ञासा इन्टरनेटमा सर्च गर्ने वा च्याट मार्फत जवाफ कुराकानी गर्ने भनेर विकल्प छनाेट गर्न सकिन्छ ।
त्यस्तै अरू व्यक्तिसँगको कुराकानीलाई अझ राम्रो बनाउन सल्लाह दिने, वाक्य संरचना मिलाइने जस्ता काम उक्त एआईले गर्नसक्ने बताइएको छ ।
किबोर्डमा एकीकृत गरिएको उक्त एआईलाई जोकोहीले पनि प्रयोग गर्न सक्ने छन् । तर विशेष फिचरहरू प्रयोग गर्न भने माइक्रोसफ्ट अकाउन्टमा लगइन गर्नुपर्छ ।
माइक्रोसफ्टले गत फेब्रुअरी महिनामा सर्च इन्जिन बिङमा एआई थपेसँगै आफ्नो विभिन्न प्लेटफर्ममा एआई थप्दै आएको छ । हालै मात्र कम्पनीले ओपनएआईको ड्याल-ई, अफिस एपहरूमा ‘कोपाइलट’ र विन्डोज ११ मा बिङ एआई थपेको छ ।