close

सर्वाधिक छिटो १ करोड भ्युज पाउने पहिलो गीत बन्यो प्रकाश सपुतको ‘सकम्बरी’

टेकपाना टेकपाना

बैशाख ७, २०८० १५:२४

सर्वाधिक छिटो १ करोड भ्युज पाउने पहिलो गीत बन्यो प्रकाश सपुतको ‘सकम्बरी’

काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड राखेको छ । सार्वजनिक भएको सात दिनमै एक करोड भ्युज पार गरेर ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड राखेको हाे ।

योसँगै ‘सकम्बरी’ गीत नेपालमा सबैभन्दा छिटो करोड भ्युजको आँकडा पूरा गर्ने पहिलाे युट्युब सामग्री बनेको छ । बिहीबार दिउँसो ३ः२१ बजे यो गीतले एक करोड भ्युज पार गरेको हो ।

'Prakash Saput' नामको युट्युब च्यानलमा गत अप्रिल १३ मा सार्वजनिक यो गीत नेपालमा ट्रेन्डिङ नम्बर १ मा छ । साथै भिडिओमा यो समाचार तयार पार्दासम्म १८ हजार ९७१ ओटा कमेन्ट गरिएको छ ।

तर गीतका शब्द र दृश्यलाई लिएर ‘सकम्बरी’ विवादित बनेको छ । यसमा एक सामान्य युवती आफ्नो बाध्यता र महत्त्वाकांक्षाका कारण कसरी गलत बाटोमा जान पुग्छिन् भन्ने विषयकाे चित्रण गर्न खोजिएको छ ।

प्रकाश सपुतले ​गीति-कथामार्फत विभिन्न क्षेत्रमा हुने यौन उत्पीडनलाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्न खोजेको बताएपनि केही आलोचकले महिलाको गलत चित्रण र स्त्रीद्वेषी शब्द चयन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

यसअघि प्रकाशकै ‘पिर’ बोलको गीतले सात दिनमा करोड भ्युज पाउने पहिलाे नेपाली युट्युब कन्टेन्टको रेकर्ड राखेको थियो । तर गीत विवादित बनेपछि प्रकाशले भिडिओका केही दृश्य हटाएर पुनः गीत अपलोड गरेका थिए ।

त्यसअघि विष्णु माझीको ‘चरी जेलैमा’ बोलको गीतले सार्वजनिक भएको १२ दिनमा एक करोड भ्युज पार गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८० १६:२८