close

बिङ सर्च इन्जिनमा बग पत्ता लगाउँदा साढे १९ लाखसम्म नगद पाइने

टेकपाना टेकपाना

बैशाख १२, २०८० २१:४२

बिङ सर्च इन्जिनमा बग पत्ता लगाउँदा साढे १९ लाखसम्म नगद पाइने

काठमाडौं । माइक्रोसफ्टले नयाँ बग बाउन्टी कार्यक्रम गर्ने भएको छ । कम्पनीले हालै सार्वजनिक गरेको बिङ च्याट र बिङ सर्च इन्जिनमा भएको कमजोरी पत्ता लगाउन उक्त कार्यक्रम गर्न लागेको हो ।

त्यस्तै सर्च इन्जिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एकीकृत हुँदै जाँदा बिङको सुरक्षा र विश्वसनीयता सुधार गर्न बग बाउन्टी कार्यक्रम गर्न लागेको कम्पनीले जनाएको छ ।

याे कार्यक्रममा सहभागी हुन विश्वभर रहेका सुरक्षा अनुसन्धानकर्मी एवं इथिकल ह्याकरलाई आह्वान गरेको छ ।

कम्पनीले कम्प्युटर प्रोग्राम वा वेबसाइटमा कमजोरी फेला पार्ने व्यक्तिलाई जोखिमको प्रकृति र प्रभावको आधारमा ५०० देखि १५००० डलर (६५ हजार देखि साढे १९ लाख रूपैयाँसम्म) दिने भएको छ ।

यस कार्यक्रममा सहभागी हुन अनुसन्धानकर्मीले फेला पारेको बग र त्यसको समाधानबारे विस्तृत रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । यदि उक्त रिपोर्ट वास्तविक छ भने माइक्रोसफ्टले पुरस्कृत गर्नेछ ।

बग बाउन्टी कार्यक्रममा माइक्रोसफ्टले मोटो रकम खर्चने गरेको छ । गत वर्ष मात्रै कम्पनीले यस कार्यक्रममा एक अर्ब ७८ करोड रूपैयाँ (१३.७ मिलियन डलर) खर्चेको थियो । बग बाउन्टी कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नहाेस् ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८० २१:४२