close

आउँदो बुधबार आयोजना हुँदै गुगल आई/ओ, केके ल्याउँदैछ नयाँ प्रविधि ?

टेकपाना टेकपाना

बैशाख २२, २०८० १९:८

आउँदो बुधबार आयोजना हुँदै गुगल आई/ओ, केके ल्याउँदैछ नयाँ प्रविधि ?

काठमाडौं । यही मे १० तारिखमा गुगलले अमेरिकाको क्यालिफोर्नियामा एउटा ठूलो कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा कम्पनीले नयाँ प्रविधि तथा ग्याजेटहरू प्रस्तुत गर्नेछ ।

सन् २००८ देखि हरेक वर्ष आयोजना हुँदै आएको गुगलको वार्षिक डेभलपर कन्फरेन्स यही दिन हुने गरेको छ । यस वर्षको गुगल आई/ओमा कम्पनीले दुई नयाँ स्मार्टफोन, एउटा ओएस र आफ्नो एआई टुल बार्ड प्रस्तुत गर्नेछ । गुगलको युट्युब च्यानल अथवा वेबसाइटमा यो कार्यक्रम हेर्न सकिनेछ । 

एन्ड्रोइड १४

कम्पनीले गत फेब्रुअरीमा नै एन्ड्रोइड १४ को डेभलपर प्रिभ्यु जारी गरेको थियो । हाल यो बेटा टेस्टरका लागि उपलब्ध गराइएको छ ।

कम्पनीले अगस्टसम्म एन्ड्रोइड १४ सबैका लागि रोलआउट गर्ने अपेक्षा राखिएको छ । एन्ड्रोइड १४ मा यसअघि भन्दा बढी गोपनीयता, उत्कृष्ट नेभिगेसन र नयाँ यूआई देख्न सकिनेछ । 

पिक्सेल ७ ए

यो स्मार्टफोनका कतिपय विवरण इन्टरनेटमा लिक भइसकेका छन् । जसमा ६.१ इन्चको डिस्प्ले, ४४०० एमएएच क्षमताको ब्याट्री, ६४ र १२ मेगापिक्सेलका दुई क्यामेराका साथै डिस्प्ले भित्रै राखिएको फिङ्गरप्रिन्ट सेन्सर जस्ता विशेषता रहेका छन् ।

गुगलले यो कार्यक्रममार्फत उक्त स्मार्टफोन विश्व बजारका लागि सार्वजनिक गर्नेछ । जसको मूल्य ७२ हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म हुनसक्ने अनुमान गरिएको छ । 

पिक्सेल फोल्ड

गुगलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनको रुपमा पिक्सेल फोल्ड स्मार्टफोन समेत यो कार्यक्रमको दौरान सार्वजनिक गर्नेछ । जसमा ७.६ इन्चको प्राथमिक र ५.८ इन्चको कभर डिस्प्ले रहने बताइएको छ ।

यो स्मार्टफोनमा पाँच ओटा क्यामेरा उपलब्ध हुनेछन् । जसमध्ये पछाडि भागमा तीन क्यामेराको सेटअप हुनेछ । उक्त फोनमा ४७०० एमएएच क्षमताको ब्याट्रीका साथै पिक्सेल सेभेन एमा जस्तै गुगल टेन्सर जी २ चिपसेट सपोर्ट प्राप्त हुनेछ । 

एआई बार्ड

यो कार्यक्रममा गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स टुल बार्ड समेत सबैका लागि उपलब्ध गराउनेछ । साथै यसमा भएका मुख्य अपडेटको समेत जानकारी दिनेछ । हालै मात्र कम्पनीले बार्डको सहयोगमा सफ्टवेयर डेभलप तथा कोडिङ सिक्न सकिने जानकारी दिएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८० १९:८