काठमाडौं । शरणार्थी प्रकरणमा सांसद आरजू राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण जोडिएको अडियो सार्वजनिक गर्ने अनलाइन न्युज पोर्टललाई प्रेस काउन्सिलले कानून विपरीत प्रतिबन्ध गर्न सिफारिस गरेको पाइएको छ ।
काउन्सिलले शरणार्थी प्रकरणमा राणा र खाँणको नाम जाेडिएकाे अडियो सार्वजनिक गर्ने नेसनल दैनिक डटकम 'www.nationaldainik.com' लाई प्रतिबन्ध लगाएको हो ।
उक्त न्युज पाेर्टलबाट वैशाख २३ गते 'भुटानी शर्णाथी प्रकरण: आरजू देउवा र पूर्वगृहमन्त्री खाँडले घुस लिएको अडियो सार्वजनिक (अडियो सहित)' शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
सो समाचारको विषयलाई लिएर मञ्जु खाँणले काउन्सिलमा उजुरी दर्ता गरेकी थिइन् । नक्कली आवाजको भिडिओ बनाएर सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनमा सम्प्रेषण गरी आफ्नो व्यक्तिगत चरित्रहत्या गरेको भन्दै उनले नेसनल दैनिकविरुद्ध उजुरी हालेकी थिइन् ।
सोही उजुरीको आधारमा काउन्सिलले गरेको अनुगमनमा सो वेबपोर्टल नियमअनुसार दर्ता एवं सूचीकरण नभएको देखिएको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।
"सूचना विभाग र काउन्सिलमा दर्ता नभएको देखिएपछि सामान्य रूपमा दर्ता गर्न भनिएको हो," उनले भने । यसका कारण काउन्सिलले सो साइटलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियाे ।
काउन्सिलको उक्त पत्रमा साइबर ब्यूरोलाई पनि बोधार्थमा राखिएको छ ।
यो विषयबारे आफूहरु भने आधिकारिक रुपमा सूचित नभएको नेसनल दैनिक डटकमकी अध्यक्ष मोनिका सिंहले बताइन् । "हामी सूचना विभागमा दर्ता भएका छौं । दर्ता नगरी काम गर्ने भन्ने कुरा हुँदैन," उनले टेकपानासँग भनिन्, "यस विषयमा काउन्सिलमा गलत बुझाइ भएको हुनसक्छ ।"
यो विषयमा कसरी अगाडि बढ्ने भनेर आन्तरिक छलफल भइरहेको उनले बताइन् ।
यता सूचना तथा प्रसारण विभागले सो अनलाइन पोर्टल विभागमा दर्ता भएको जानकारी दिएको छ । सो वेबसाइट नेसनल दैनिक प्रा.लि. कम्पनीको नाममा ३८३८-२०७९/८० दर्ता नं. सहित दर्ता भएको विभागले जनाएको छ ।
यसरी विभागमा दर्ता भएर सञ्चालन भइरहेकाे न्युज पाेर्टलमाथि प्रेस काउन्सिलबाट कारबाही भएकाे प्रसंग उठेपछि काउन्सिलका अध्यक्ष बस्नेतले थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने जनाएका छन् ।