काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद विनोद चौधरीले नेपाललाई क्रिप्टो माइनिङको हब बनाउन सकिने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले क्रिप्टो माइनिङ गरी निर्यात गर्न सकिने भएकाले नेपालमा यसमाथि प्रतिबन्ध लगाउन आवश्यक नभएको विचार राखे ।
"नेपाललाई साना तथा घरेलु उद्योग तथा अर्कोतर्फ एक्काइसौं शताब्दीको क्रिप्टो माइनिङको हब बनाउन सकिन्छ," चौधरीले भने, "यसका लागि गुणस्तरीय विद्युत आवश्यक पर्छ ।"
उनी अगाडि भने, "हुन त अहिले क्रिप्टो कारोबार नेपालमा प्रतिबन्धित छ । क्रिप्टो माइनिङ गरेर निर्यात गर्छ भने त्यसमा प्रतिबन्ध लगाउनु जरुरी छैन । हामीले यसका लागि विशेष कार्यक्रम नै घोषणा गर्न सक्छौं । र, ठूला लगानीकर्तालाई ल्याउन सक्छौं । यो पनि हाम्रो व्यापार घाटा घटाउने कोसेढुङ्गो साबित हुन सक्छ ।"