close

जब भ्युजका लागि युट्युबरले आफ्नै प्लेन दुर्घटना गराए...

टेकपाना टेकपाना

बैशाख २९, २०८० १६:८

जब भ्युजका लागि युट्युबरले आफ्नै प्लेन दुर्घटना गराए...

काठमाडौं । अमेरिकामा एक युट्युबरले आफ्नो भिडिओको भ्युज बढाउन जानाजान आफू चढेको हवाईजहाज दुर्घटनामा गराउँदा कारबाहीमा परेका छन् ।

सन् २०२१ को डिसेम्बरमा एउटा भिडिओ सार्वजनिक भयो, जहाँ २९ वर्षीय ट्रेभोर जाकोभको हवाईजहाज दुर्घटना भएको देख्न सकिन्छ । उक्त भिडिओमा २९ लाखभन्दा बढी भ्युज छ ।

उनले उक्त भिडिओमा एक वालेट (पर्स) कम्पनीको स्पोन्सरका लागि आफू चढेको हवाईजहाज दुर्घटना गराएको बताएका छन् । जाकोब युट्युबरसँगै एक पाइलट र स्काइडाइभर हुन् । 

उक्त भिडिओ सन् २०२१ को नोभेम्बरमा खिचिएको थियो । उनले क्यालिफोर्नियाको 'स्यान्टा बारबरा' विमानस्थलबाट सोलो फ्लाइट उडाएका थिए । आफ्नो जहाजको माथिल्लाे भागमा उनले क्यामेरा राखेका थिए । उनीसँग क्यामेरासँगै सेल्फी स्टिक र प्यारासुट पनि थियो ।

अमेरिकी अदालतका अनुसार उनले आफ्नो गन्तव्यमा जानुभन्दा पनि हवाईजहाजबाट हाम फाल्ने योजनाका साथ उडान भरेका थिए । यसपछि उनले योजना अनुरुप आफू प्लेनबाट हाम फालेर प्यारासुटमार्फत ल्याान्ड गरे र प्लेनलाई जानाजान दुर्घटना हुनका लागि छोडिदिए । 

उक्त जहाज उडेको ३५ मिनेटपछि ‘लस पड्रेस नेसनल फरेस्ट’मा गएर खसेको थियो । जाकोभ भने आफू झरेको ठाउँबाट जहाज खसेको स्थानसम्म हिँड्दै गएर क्यामेराको फुटेज रिकभर गरेर ल्याएका थिए । यो सबै उनले आफ्नो योजना अनुरुप नै गरेका थिए । 

घटना भएकाे दुई दिनपछि जेकबले राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) लाई उक्त विमान दुर्घटनाका बारेमा जानकारी दिए । तर, उनले अनुसन्धानकर्ता तथा एनटीएसबीलाई विमानको भग्नावशेष कहाँ छ भन्नेबारे आफूलाई केही थाहा नभएको बताए ।

त्यसको केही दिनपछि जेकबले विमानका भागहरू नष्ट गरे । र, केही भागलाई एयरपोर्ट र अन्य ठाउँहरूमा रहेको फोहोर फाल्ने ठाउँमा फाले । यो सबै उनले अनुसन्धानकर्ताहरूलाई भ्रामक बनाउनको लागि गरेको अधिकारीले जनाएका छन् ।

उनले 'आई क्याश्ड माई प्लेन' शीर्षकमा २३ डिसेम्बर २०२१ युट्युबमा अपलोड गरेका थिए । उक्त भिडिओमा उनलाई धेरैले सहानुभूति देखाएका थिए भने केहीले यो दूर्घटना वास्तविक नभएको भन्दै शंका व्यक्त गरेका थिए । गत अप्रिल महिनामा अनुसन्धानकर्ताले जेकबले भनेका झुटा कुराहरू पत्ता लगाए । त्यसपछि फेड्रल एभिएसन एड्मिनिस्ट्रेसनले ती पाइलटको लाइसेन्स खारेज गर्ने निर्देशन दिएको थियो । उनले अपलोड गरेको भिडिओ अहिले पनि युट्युबमा हेर्न सकिन्छ । जसमा ३० लाख बढी भ्युज आएको छ ।

उनीमाथि अधिकतम २० वर्षकाे जेल सजाय हुनसक्ने केन्द्रीय क्यालिफाेर्नियाकाे अमेरिकी महान्याधिवक्ताकाे कार्यालयले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८० १६:१४