close

महिलासँगको सेक्स भिडिओ उनका आफन्तलाई पठाउने ४३ वर्षीय पुरुष पक्राउ

टेकपाना टेकपाना

जेठ १, २०८० १८:४०

महिलासँगको सेक्स भिडिओ उनका आफन्तलाई पठाउने ४३ वर्षीय पुरुष पक्राउ

काठमाडौं । अश्लील भिडिओ र तस्वीरमार्फत महिलाकाे चरित्रहत्या गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल काठमाडौं ठमेलस्थित डेरा गरी बस्ने ४८ वर्षीय नन्दलाल शर्मा रहेका छन् ।

शर्मालाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा साेमबार पक्राउ गरिएकाे साइबर ब्यूरोले जनाएकाे छ ।

प्रारम्भिक अनुसन्धानमा आरोपित शर्माले पीडित महिलासँगकाे अश्लील  भिडिओ र  तस्वीर महिलाकाे परिवार र आफन्तलाई पठाउने गरेकाे पाइएकाे ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

निवेदनमा भएकाे व्यहाेराअनुसार नन्दलाल शर्मा सबैभन्दा पहिले सामाजिक सञ्जालमा ती महिलासँग जाेडिए । महिलासँग नजिक हुँदै गएपछि शर्माले बैंकमार्फत सस्ताे ब्याजमा ऋण मिलाइदिने प्रलोभन देखाउन थाले । कुराकानी हुँदै जाँदा शर्माले महिलालाई प्रेम प्रस्ताव राखे र भेट्न बोलाए ।

भेटका क्रममा उनीहरूबीच यौन क्रियाकलाप भयो । शर्माले ती क्रियाकलापकाे भिडिओ रेकर्ड गरे र त्यसैको आडमा महिलालाई बारम्बार आफूले भनेको ठाउँमा आउन दबाब दिन थाले । महिलाले भनेको नमानेपछि शर्माले अश्लील भिडिओ तथा तस्वीर उनका परिवारका सदस्य र अन्य आफन्तलाई पठाए ।

यसरी सार्वजनिक रूपमा आफूलाई दुःख दिएको र चरित्रहत्या गरेपछि महिलाले साइबर ब्यूरोमा उजुरी दिइन् । महिलाको उजुरीका आधारमा अनुसन्धान गर्दा शर्मा पक्राउ परेकाे ब्यूरोका प्रवक्ता रायले बताए ।

"पीडित महिलाले उजुरी दिएपछि हामीले अनुसन्धान अगाडि बढायौं," रायले टेकपानासँग भने, "उनलाई आज जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरिएको छ ।"

पक्राउ परेका शर्मालाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १९:१६