close

नमूना जहाज बनाउने अभयलाई बुद्ध एयरले दियो १ लाख नगद

टेकपाना टेकपाना

जेठ १७, २०८० १६:२८

नमूना जहाज बनाउने अभयलाई बुद्ध एयरले दियो १ लाख नगद

काठमाडौं । बुद्ध एयरको नमूना जहाज बनाउने १८ वर्षीय अभय परियारले एक लाख रुपैयाँ सहयोग पाएका छन् । बुद्ध एयरले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सहयोग गरेको जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा अभयले बनाएको नमूना बुद्ध एयरको जहाजको फोटो भाइरल भएपछि कम्पनीले सो फोटो आफ्नो सामाजिक सञ्जालका अकाउन्टमा राखेको थियो ।

"केही दिनअघि हामीले हाम्रो एटीआर-४२ आरसी विमानको नमूना बनाउनु हुने अभय परियारको फोटो शेयर गरेका थियौं," बुद्ध एयरले भनेको छ, "परियारलाई उक्त अद्भूत सिर्जनाका लागि बधाई दिन हाम्रो टोली आज चितवन पुगेको थियो ।"

परियारलाई बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरे । कम्पनीले परियारको उक्त सिर्जनाका लागि बधाई तथा उनको उज्ज्वल भविष्यको कामना गरेको छ ।

पुरस्कार पाइसकेपछि परियारले आफू प्रेरित भएको प्रतिक्रिया दिए ।

टेकपानासँग कुरा गर्दै उनले भने, "पुरस्कार पाउँदा धेरै खुसी लागेको छ । यसले अझै नयाँ काम गर्ने उत्साह थपेको छ ।"

केही समयअघि सामाजिक सञ्जालमा परियारले बनाएको बुद्ध एयर र नेपाली सेनाको नमूना जहाज भाइरल भएको थियो । सानै उमेरमा नवीनतम् काममा सक्रिय भएको भन्दै सामाजिक सञ्जालमा धेरैले उनको तारिफ गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० १६:३३