close

कक्षा १२ पछि आईटी पढ्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् विकल्प

सञ्जीवन राई सञ्जीवन राई

जेठ १८, २०८० १७:७

कक्षा १२ पछि आईटी पढ्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् विकल्प

काठमाडौं  । कक्षा १२ को वार्षिक परीक्षा सकिएको छ । अब विद्यार्थीलाई आफ्नो भविष्य बनाउने जिम्मेवारी थपिने छ । यस्तोमा ‘कुन क्षेत्र जाउँ’, ‘के पढुँ’ भन्ने जिज्ञासा र अलमल हुने गर्छ, जुन स्वाभाविक नै हाे ।

यदि तपाईँ कक्षा १२ को अन्तिम परीक्षा दिएर बसिरहनु भएको छ, अनि अब सूचना प्रविधि (आईटी) विषय पढ्ने सोचमा हुनुहुन्छ भने यो सामग्री निकै काममा आउन सक्छ । यस सामग्रीमा हामी कक्षा १२ पछि स्नातक तहमा आईटीमा के-कस्ता अवसर छन् र अध्ययनपछि भविष्य कस्तो छ भनेर जानकारी दिने प्रयास गरेका छौँ:

आजभोलि इन्जिनियरिङ, कम्प्युटर विज्ञानबाहेक अन्य विषयमा पनि आईटी शिक्षा समावेश हुन थालेकाे छ । जस्तो; व्यवस्थापनको विषयमा आईटी जोडिएकाे छ, मानविकीमा र शिक्षा शास्त्रमा पनि आईटी कार्यक्रम तयार भएका छन् । यतिमात्रै हाेइन, आईटीभित्र पनि विशिष्टिकृत (स्पेसिफिक) कोर्षकाे अध्ययन अध्यापन हुन थालेकाे छ । जस्तो: काठमाडाैं विश्वविद्यालयकाे बी. टेक. ईन एआई

साथै नेपालमा विदेशी विश्वविद्यालयका कोर्षहरू उतिकै मात्रामा सञ्चालन छन् । यसले गर्दा यो समयमा विषय चयनमा दोधार हुनसक्छ । त्यसैले तपाईंजस्ता कक्षा १२ पछि आईटीमा भविष्य देख्नेहरूलाई सजिलो होस् भनेर हामीले यो लेख तयार पारेका हौँ ।

त्रिभुवन विश्वविद्यालय

-बीएससी सीएसआईटी

पूरा रूप ब्याचलर्स अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन रहेको कोर्ष कम्प्युटर विज्ञान र आईटीलाई मिलाएर बनाइएको छ । यसमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत आईटीसँग सम्बन्धित रहेको छ ।

यो त्रिवि अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत सञ्चालन भइरहेको छ । यो कूल १२६ क्रेडिट आवरको चार वर्षे (आठ सेमेस्टर)को कोर्ष हो ।

जसमा ७५ क्रेडिट कम्प्युटर साइन्स, १५ केडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर नेचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेजमेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नशिपका लागि छुट्याइएको छ ।

विद्यार्थीले चार वर्षको अवधिमा ४० वटा विषयको अध्ययन गर्नुपर्ने हुन्छ । यो कोर्ष त्रिविको आङ्गिक क्याम्पस र विभिन्न सम्बन्धप्राप्त कलेजहरूले अध्यापन गराइरहेका छन् ।

यो कोर्ष उत्तीर्णपछि विद्यार्थी सफ्टवेयर डेभलपर, वेब डेभलपर, आईटी म्यानेजर/अफिसर, सिस्टम एनालिस्ट, प्रोजेक्ट एनालिस्ट आदि भूमिकामा काम गर्न सक्छन् ।

कोर्षबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

-बीआईटी

त्रिविले २०७६ बाट सुरु गरेको यो कोर्ष (ब्याचलर ईन इन्फर्मेसन सिस्टम) चार वर्षे (आठ सेमेस्टर)को रहेको छ । यसको प्रत्येक सेमेस्टरको क्रेडिट आवर १५ रहेको छ ।

यस कोर्षमा आईटीबाहेक अर्थशास्त्र र समाजशास्त्र जस्ता विषय पनि राखिएको छ ।

यसमा डिजिटल लजिक, सी प्रोग्रामिङ, अपरेटिङ सिस्टम, नेटवर्क एण्ड डेटा कम्युनिकेसन, एआई जस्ता विषय समेटिएको छ । यो कोर्षको अध्ययनपछि विद्यार्थी नेटवर्क इन्जिनियर, बिजनेस एनालिस्ट, नेटवर्क सेक्युरिटी इन्जिनियर, डेटाबेस इन्जिनियर आदि बन्न सक्छन् ।

-बीआईएम

त्रिविको व्यवस्थापन संकाय अन्तर्गतको यो कोर्ष (ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट) चार वर्ष अर्थात् आठ सेमेस्टरको रहेको छ । यसमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत व्यवस्थापनको विषय राखिएको छ ।

कूल १२६ क्रेडिट आवरको यो कोर्षमा २४ क्रेडिट आवरको फाउन्डेसन कोर्ष, ३० क्रेडिट आवरको बिजनेस कोर्ष, ६० क्रेडिट आवरको आईटी एण्ड कम्प्युटर कोर्ष, ६ क्रेडिट आवरको इलेक्टिभ कोर्ष र ६ क्रेडिट आवरको इन्टर्नशिप रहेको छ ।

यस कोर्षबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । 

-बीसीए

त्रिविको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत यो कोर्ष (ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन) रहेको छ । चार वर्षे यो शैक्षिक कार्यक्रम अध्ययन गरेपछि प्रोग्रामिङ ल्याङ्ग्वेज, कम्प्युटर सिस्टम, एप्लिकेसन तथा सफ्टवेयरको क्षेत्रमा काम गर्न सकिन्छ । 

यस कोर्षमा आईटी र कम्प्युटर एप्लिकेसनका विषयहरू पढाइ हुन्छ ।

यो कोर्ष गरेपछि कम्प्युटर एण्ड इन्फर्मेसन सिस्टम म्यानेजर, कम्प्युटर सिस्टम स्पेसलिस्ट, आईटी अफिसर, नेटवर्क एण्ड कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर आदि क्षेत्रमा करिअर बनाउन सकिन्छ ।

-बीएड ईन आईसीटी

त्रिविले यो कोर्ष (बीएड ईन इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी) पहिलो पटक २०६३ बाट सुरु गरेको हो । यो कोर्षको अध्ययनपछि विद्यार्थी आधुनिक शैक्षिक प्रणाली र कम्प्युटर विज्ञानसँग परिचित हुन सक्छन् ।

यस कोर्षमा सूचना तथा सञ्चार क्षेत्रका प्राविधिक सीप तथा ज्ञान जस्तै; प्रोग्रामिङ, नेटवर्किङ, डेटावेस व्यवस्थापन, एआई, शिक्षाका आधारभूत प्रविधि तथा विद्युतीय सुशासन लगायत शैक्षिक मनोविज्ञान, शिक्षण पद्धति (टिचिङ पेडागोजी) जस्ता विषय राखिएकाे छ ।

-बीई कम्प्युटर इन्जिनियरिङ

यो कोर्ष कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इन्जिनियरिङको मिश्रित कोर्ष हो । यसले गर्दा यो कोर्षको अध्ययनपछि विद्यार्थीहरू कम्प्युटर हार्डवेयर र सफ्टवेयर विकास गर्न सक्षम हुन्छन् । यो चार वर्षे (आठ सेमेस्टर) कोर्ष हो ।

यो कोर्षको अध्ययन गरेका विद्यार्थीले कम्प्युटर सिस्टमको एप्लिकेसन डिजाइन र डेभलप गर्न सक्छन् ।

कोर्षको अध्ययनपछि विद्यार्थीहरू सफ्टवेयर इन्जिनियर, सिस्टम एड्मिनिस्ट्रेटर, नेटवर्क एड्मिनिस्ट्रेटर, वेब डेभलपर/एड्मिनिस्ट्रेटर/म्यानेजर, टेलिकम्युनिकेसन इन्जिनियर आदि बन्न सक्छन् ।

-इलेक्ट्राेनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ

यो कोर्ष हार्डवेयर उद्योग, सञ्चार उद्योग र कम्प्युटर उद्योगलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ । यसअन्तर्गत इलेक्ट्रोनिक्स सर्किट्सको डिजाइन र डेभलप गर्न इलेक्ट्रोनिक्स इन्जिनियरिङको भूमिका हुन्छ ।

त्यस्तै सिङ्नलको क्षेत्रमा काम गर्ने जस्तो; एनालग सिङ्नल, डिजिटल सिङ्नल, आईएसपी, टेलिकम उद्योगका लागि कम्युनिकेसन इन्जिनियरहरूको भूमिका हुन्छ ।

साथै आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, क्लाउड कम्प्युटिङमा रुचि हुनेहरूलाई इन्फर्मेसन इन्जिनियरिङको भूमिका हुन्छ । यसकारण यो कोर्ष यी तीन क्षेत्रको मिश्रित कोर्ष हो ।

यो कोर्ष अध्ययनपछि विद्यार्थीहरू इलेक्ट्रोनिक्स डिभाइस म्यानुफ्याक्चरिङ उद्योग, टेलिकम्युनिकेसन कम्पनी, सिभिल एभियसन, हाइड्रोपावर आदि क्षेत्रमा काम गर्न सक्छन् ।

काठमाडौं विश्वविद्यालय

-बीई इन कम्प्युटर साइन्स

यस कोर्षमा विशेषगरी कम्प्युटर विज्ञानको गहिरो अध्ययन हुन्छ । जसअन्तर्गत आधारभूत सिद्धान्त, एल्गोरिदमदेखि रोबोटिक्स, कम्प्युटर भिजन, एआई सिस्टम, बायोइन्फर्मेटिक्स लगायत विभिन्न क्षेत्र पर्छन् । 

यस कोर्ष गरेका विद्यार्थीहरू कम्प्युटर समस्या समाधान गर्न सक्षम हुन्छन् । कम्प्युटरको प्रयोगबारे अन्वेषण गर्छन् । साथै सफ्टवेयरको विकास र तिनको प्रयोग गर्छन् । 

कोर्षबारे थप थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।  

-बी टेक न एआई

काठमाडौं विश्वविद्यालय हालै सुरू गरेको नयाँ ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स हो । स्नातक तहका विद्यार्थीलाई एआईबारे व्यापक ज्ञान दिन यो कोर्ष तयार पारिएको हाे ।

विद्यार्थीले यसमा परियोजनामा आधारित भएर एआईबारे सिक्न सक्छन् ।

यसका लागि विश्वविद्यालयले एआई कम्पनी फ्युज मसिनसँग समेत सहकार्य गरेको छ । कोर्ष अध्ययनपछि विद्यार्थी मसिन लर्निङ/डिप लर्निङ विज्ञ/एनालिस्ट, एआई प्रोफेसनल, एआई स्पेसलिस्ट, एनालिटिक्स कन्सल्ट्यान्ट आदि बन्न सक्छन् ।

 -बीटेक बायोटेक्नोलोजी

ब्याचलर अफ साइन्स ईन बायोटेक्नोलोजी कूल १५१ क्रेडिट आवरको चार वर्षे (आठ सेमेस्टर) कोर्ष हो । कोर्षमा विद्यार्थीहरूले बायोटेक्नोलोजीको ज्ञान र सीप प्राप्त गर्न सक्छन् ।

यस कोर्षमा माइक्रोबायोलोजी, इम्युनोलोजी, बायोकेमिस्ट्रीको आदिको ज्ञानसमेत विद्यार्थीले प्राप्त गर्छन् ।

कोर्षको अध्ययनपछि विद्यार्थी बायोटेक्नोलोजिस्ट, क्लिनिकल टेक्निसियन, सफ्टवेयर डेभलपर, डीएनए एनालिस्ट आदि बन्न सक्छन् । 

-बीएससी ईन बायोइन्फर्मेटिक्स

काठमाडौं विश्वविद्यालयले हालै यो कोर्ष सुरु गरेको हो । यस कोर्षमा बायाेलाेजी (जीव विज्ञान) मा भएका डेटालाई कम्प्युटरकाे प्रयाेग गरी अध्ययन तथा विश्लेषण गरिन्छ ।

कूल १३८ क्रेडिट आवरको यो चार वर्षे (आठ सेमेस्टर) कोर्ष हो ।

यसमा जीव विज्ञान, कम्प्युटर र गणितका विषय मिसाइएको छ । काेर्षकाे अध्ययनपछि विद्यार्थीले बायाेइन्फाेर्मेटिक्स अथवा आईटी कम्पनीहरूमा डेटा वैज्ञानिक, सूचना विश्लेषक, सफ्टवेयर डेभलपर आदिका रूपमा काम गर्न सक्छन् ।

त्यस्तै कृषि, औषधि उत्पादन, मटेरियल डिजाइनजस्ता क्षेत्रमा पनि काम गर्न सकिन्छ । ​कोर्ष बारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

- बीबीआईएस

यो चार वर्ष (आठ सेमेस्टर)मा सकिने १४१ क्रेडिट आवरको कोर्ष हो । यो इन्फर्मेसन सिस्टम, इन्फर्मेसन टेक्नोलोजीसँग बिजनेस एण्ड म्यानेजमेन्टसँग मिलाएर बनाइएको कोर्ष हो ।

कोर्षमा विशेषत: व्यावसायिक क्षेत्रमा सञ्चार प्रविधि कसरी व्यवस्थापन गर्ने, कसरी प्रयोग गर्ने भन्नेजस्ता कुराको पढाइ हुन्छ ।

कोर्षबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

-बीएससी इन कम्प्युटेसनल म्याथम्याटिक्स

काठमाडौं विश्वविद्यालयले सन् २०१७ देखि यो कोर्ष अध्यापन गराउन थालेको हो । यो गणित र कम्प्युटर विज्ञानकाे मिश्रित काेर्ष हाे । १४३ क्रेडिट आवरकाे चार वर्षे (८ सेमेस्टर) याे काेर्षमा फन्डामेन्टल १२, म्याथम्याटिक्स ४०, कम्प्युटर २५ प्रतिशत पढ्नुपर्छ ।

त्यसैगरी इन्जिनियरिङ ११, इलेक्टिभ २ र प्राेजेक्ट वर्ककाे विषय १० प्रतिशत समावेश गरिएकाे छ ।

कोर्षको अध्ययनपछि विद्यार्थी डेटा, आईटी तथा सफ्टवेयर उद्योग, वित्तीय क्षेत्र आदिमा काम गर्न सक्छन् ।
 

पोखरा विश्वविद्यालय

-बीसीआईएस 

बीसीआईएस (ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम) आईटी र म्यानेजमेन्टको मिश्रित कोर्ष हो । जसमा ६० प्रतिशत आईटी र ४० प्रतिशत म्यानेजमेन्टका विषय समावेश गरिएको छ ।

कुनै पनि कम्पनी चलाउन आईटी र म्यानेजमेन्टको ज्ञान आवश्यक पर्छ । त्यसैले आईटी र म्यानेजमेन्टको विषय मर्ज गरेर याे कोर्ष बनाइएको हो ।

यसमा डेटा प्रोसेसिङ, नेटवर्क, सफ्टवेयर निर्माण र व्यवस्थापनका विषय पढ्नुपर्छ । हार्डवेयर र सफ्टवेयर दुवैका लागि चाहिने जनशक्ति उत्पादन गर्नु याे शैक्षिक कार्यक्रमकाे उद्देश्य हाे ।

 -बीई आईटी

यो कोर्ष कम्युनिकेसन टेक्नोलोजी र इन्फर्नेसन टेक्नोलोजीको मिश्रण हो । अहिलेको बढ्दो सूचना र सञ्चार प्रविधि उद्योगको आवश्यकताहरू पूरा गर्न यो कोर्ष डिजाइन गरिकएको छ ।

यो कूल १३३ क्रेडिट आवरको चार वर्षे आठ सेमेस्टरको कोर्ष हो । कोर्षमा कम्युनिकेसन टेक्निक, नेटवर्क थ्यौरी, डेटा एण्ड फाइल स्ट्रकचर, डेटाबेस सिस्टम जस्ता विषय रहेका छन् ।

-बीई सफ्टवेयर इन्जिनियरिङ

पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०१८ बाट यो कोर्ष सञ्चालन गर्न थालेको हो । सफ्टवेयरको डिजाइन, डेभलप र इम्प्लिमेन्ट गर्न सघाउने हिसाबले यो कोर्ष डिजाइन गरिएको हो ।

याे विशेषत: इन्जिनियरिङ, कम्प्युटिङ, प्रोजेक्ट म्यानेजमेन्ट र सफ्टवेयर डेभलपमेन्टको मिश्रित कोर्ष हाे ।

यसमा सफ्टवेयर इन्जिनियरिङ फन्डामेन्टल, प्राेब्याब्लिटी एण्ड क्युनिङ थ्यौरी, माइक्राेप्रोसेसर एण्ड एसेम्ब्ली ल्याङ्ग्वेज, अब्जेक्ट ओरियन्टेड डिजाइन एण्ड माेड्युलेसन थ्रु यूएमएल, प्रिन्सिपल अफ प्राेग्रामिङ ल्याङ्ग्वेज, रियल टाइम सिस्टम, डिस्ट्रिब्युटेड सिस्टम आदि विषयकाे पढाइ हुन्छ ।

यो १३३ क्रेडिट आवरको कोर्ष हो । यो कोर्षको अध्ययनपछि विद्यार्थीहरू सफ्टवेयर डेभलपर, बिजनेस इन्फर्मेसन एनालिस्ट, वेब डेभलपर, कम्प्युटर सिस्टम एनालिस्ट आदि बन्न सक्छन् ।

-बीई कम्प्युटर इन्जिनियरिङ

यो चार वर्षे (आठ सेमेस्टर) को १३८ क्रेडिट आवरको कोर्ष हो । यो कोर्षको उद्देश्य कम्प्युटर सिस्टमको एनालिसिस, डिजाइन र मूल्याङ्कन गर्नसक्ने दक्ष कम्प्युटर इन्जिनियर उत्पादन गर्नु हाे ।

यस कोर्ष अध्ययन गर्ने विद्यार्थीहरू कम्प्युटर सफ्टवेयरसँगै हार्डवेयरमा पनि दक्षता राख्न सक्छन् । यसमा इलेक्ट्राेनिकल, इलेक्ट्राेनिक्स इन्जिनियरिङका कोर्ष पनि राखिएको छ । 

बीई कम्प्युटर र सफ्टवेयर इन्जिनियरबीचको अन्तर के छ भनेर बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

-बीसीए

यो चार वर्षे (आठ सेमेस्टर) कोर्ष हो, जहाँ बिजनेस एण्ड म्यानेजमेन्ट र आईटीको मिश्रण देख्न सकिन्छ ।

यस कोर्षमा बिजनेस एण्ड टेक्निकल कम्युनिकेसन, भिजुअल प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, अप्लाइड इकोनोमिक्स लगायत अन्य विषय छन् ।

यो १२५ क्रेडिट आवरको कोर्ष हो ।

-ब्याचलर अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ

कूल १२५ क्रेडिट आवरको यो कोर्षले इलेक्ट्रोनिक्स र कम्युनिकेसन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । यस कोर्षको अध्ययनपछि विद्यार्थीहरू हाइड्रो, टेलिकम्युनिकेसन लगायत अन्य क्षेत्रमा काम गर्न सक्छन् ।

यसमा नेटवर्क थ्यौरी, माइक्रोप्रोसेसर, एनालग कम्युनिकेसन, सिङ्नल एण्ड सिस्टम, इन्जिनियरिङ इकोनोमिक्स जस्ता विषय पढ्नुपर्छ ।

पूर्वाञ्चल विश्वविद्यालय

-बीआईटी

कूल १४० क्रेडिट आवरको यो चार वर्षे (आठ सेमेस्टर) कोर्ष हो । विश्वविद्यालयले पहिलो पटक सन् २००१ मा यो कोर्ष ल्याएको हो । हाल विश्ववद्यालयले आफ्ना आङ्गिक कलेजहरूमा ४० ओटा कोटा निर्धारण गरेको छ ।

कोर्षमा विद्यार्थीहरूलाई सूचना प्रविधिको आधारभूत ज्ञानदेखि प्रोग्रामिङ, कम्प्युटर नेटवर्क र टेलिकम्युनिकेशनसम्मका विषय राखिएकाे छ । साथै प्रोग्रामिङसँगै कम्प्युटर प्रणाली डिजाइन, कम्प्युटर आर्किटेक्चर र संचारको बारेमा समेत ज्ञान लिन सकिन्छ ।

अध्ययनको क्रममा विद्यार्थीले इन्टरनेट तथा वेब, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स, मोबाइल टेक्नोलोजीको क्षेत्रमा सीप विकास गर्न सक्छन् ।

-बीसीए

विश्वविद्यालयले नेपालमा पहिलो पटक सन् १९९९ मा यो कोर्ष सुरू गरेको हो । यो चार वर्षे (आठ सेमेस्टर) कोर्ष हो ।

यसमा कम्प्युटर फन्डामेन्टल, प्रोग्रामिङ ल्याङ्ग्वेज, डेटावेस सिस्टम, इन्फर्मेसन सेक्युरिटी, वेब डेभलपमेन्ट, भिजुअल स्टुडियाे लगायतका विषय सिकाइन्छ ।

-बी टेक ईन एआई

विश्वविद्यालयले गत शैक्षिक सत्रदेखि यो कोर्ष सञ्चालन गर्ने भनेता पनि विद्यार्थी नआउँदा सुरु हुन सकेन ।

चार वर्षे (आठ सेमेस्टर) कोर्षमा विद्यार्थीले ह्युमन इन्टेलिजेन्स जस्तै; भिजुअल पर्सेप्सन, स्पिच रिकग्निसन, डिसिजन मेकिङ, ल्याङ्ग्वेज प्रोसेसिङ आदि सिक्न सक्छन् ।

विदेशी विश्वविद्यालयका आईटी कोर्ष

साइबर सेक्युरिटी

नेपालमा विभिन्न कलेजहरूले फरक-फरक विश्वविद्यालयबाट सम्बन्धन लिएर साइबर सेक्युरिटीका कोर्ष सञ्चालन गरिरहेका छन्:

-बीएससी (अन्स) इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी

बेलायतकाे काेभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन लिएर सफ्टवेरिका कलेजले याे विषय सञ्चालन गरिरहेकाे छ । 

-बीएससी (अन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक

युनिभर्सिटी अफ द वेस्ट इङ्गल्यान्डसँगकाे सहकार्यमा द ब्रिटिस कलेजले याे चार वर्षे काेर्ष सञ्चालनमा ल्याएकाे छ । 

-बीएससी (अन्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी

लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन लिएर इस्लिङ्टन कलेजले याे विषयमा अध्यापन गराइरहेकाे छ । 

-नेटवर्क टेक्नाेलाेजी एण्ड साइबर सेक्युरिटी (बीसीए)

मलेसियाकाे लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन लिएर काठमाडाैंकाे टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीले यो कोर्ष सञ्चालन गरिरहेको छ ।

-बीसीएस (आईटी) ईन साइबर सेक्युरिटी एण्ड नेटवर्किङ 

काठमाडौं उपत्यकाबाहिर चितवनमा फोर्ब्स कलेजले युनिभर्सिटी अफ कम्प्युटर साइन्स एण्ड स्किल्स लोद्ज, पोल्याण्डको आईटी सेक्युरिटीकाे काेर्ष सञ्चालन गरिरहेकाे छ । 

-बीसीएस (अन्स) नेटवर्क टेक्नाेलाेजी एण्ड साइबर सेक्युरिटी (बीसीएस)

केएफए बिजनेस स्कुल काठमाडाैंले मलेसियाको लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन लिएर याे काेर्षकाे अध्यापन गराइरहेकाे छ ।

-बीएसआईटी नेटवर्क, साइबर सेक्युरिटी एण्ड इथिकल ह्याकिङ

किङ्स कलेजले अमेरिकाकाे वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी साइबर सेक्युरिटी काेर्ष चलाइरहेकाे छ ।

 

बीएससी (अनर्स) ईन कम्प्युटिङ

नेपालमा यो कोर्ष अध्यापन गराउने विभिन्न कलेजहरू छन्:

इस्लिङटन कलेज- नेपालमा याे काेर्ष इस्लिङटन कलेज, काठमाडाैंले  लण्डन मेट्राेपाेलिटन युनिभर्सिटी यूके, क्याम्ब्रिज युनिभर्सिटीबाट सम्बन्धन लिएर सञ्चालन गरिरहेकाे छ । 

इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्स- यूसीएसआई युनिभर्सिटी, मलेसियाबाट सम्बन्धन लिएर इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्सले याे काेर्ष सञ्चालन गरिरहेकाे छ । 

सफ्टवेरिका कलेज आईटी एण्ड ईकमर्स- यस कलेजले काेभेन्ट्री युनिभर्सिटी, यूकेबाट सम्बन्धन लिएर कम्प्युटिङ विषय सञ्चालन गरिरहेकाे छ । 

इन्फर्मेटिक्स कलेज पाेखरा- लण्डन मेट्राेपाेलिटन युनिभर्सिटी यूके, क्याम्ब्रिज युनिभर्सटी यूकेबाट सम्बन्धन लिएर यस कलेजले कम्प्युटिङ काेर्ष चलाइरहेको छ । 

द ब्रिटिस कलेज- युनिभर्सिटी अफ त वेस्ट इंग्ल्यान्ड, लिड्स मेट्राेपाेलिटन युनिभर्सिटीसँग सहकार्य गरेर कलेजले यस विषय सञ्चालन गरिरहेकाे छ ।  

 

ब्याचलर्स अफ इन्फर्मेसन टेक्नाेलाेजी

नेपालमा यो कोर्ष अध्यापन गराउने विभिन्न कलेज यसप्रकार छन्: 

पद्मश्री इन्टरनेसनल कलेज- निलाई युनिभर्सिटी, मलेसियाबाट  सम्बन्धन प्राप्त यस कलेजले सञ्चालन गरिरहेकाे याे तीन वर्षे काेर्ष हाे ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन- एसिया प्यासिफिक युनिभर्सिटी, मलेसियाबाट सम्बन्धन लिएर याे कलेजले ब्याचलर्स अफ इन्फर्मेसन टेक्नाेलाेजी

सञ्चालन गरिरहेकाे छ । तीन वर्षे याे काेर्ष गर्न आठ लाख ७४ हजार रुपैयाँ शुल्क लाग्छ ।

तर यही काेर्षमा नेटवर्क कम्प्युटिङ र क्लाउड कम्प्युटिङमा स्पेसलाइजेसन (विशेषज्ञता) हासिल गर्न परे नाै लाख ८० हजार शुल्क लाग्छ । 

 

ब्याचलर्स अफ कम्प्युटर साइन्स (अनर्स)

यो कोर्ष अध्यापन गराउने कलेजहरू यसप्रकार छन्: 

हेराल्ड कलेज- वल्भरह्याम्प्टन युनिभर्सिटी, यूकेबाट सम्बन्धन लिएर हेराल्ड कलेजले याे काेर्ष सञ्चालन गरिरहेकाे छ । 

पाटन कलेज फर प्राेफेसनल स्टडिज- बेडफाेर्डशायर युनिभर्सिटी, यूकेबाट सम्बन्धन लिएर पाटन कलेज फर प्राेफेसनल स्टडिजले बिएससी (अनर्स) ईन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ (तीन वर्षे) अध्यापन गराइरहेकाे छ । 

द ब्रिटिस कलेज- यस कलेजले युनिभर्सिटी अफ त वेस्ट इंग्ल्यान्ड, लिड्स मेट्राेपाेलिटन युनिभर्सिटीसँग सहकार्य गरेर ब्याचलर अफ कम्प्युटर साइन्स (अनर्स) सञ्चालन गरिरहेकाे छ ।
 

यीबाहेक अरु विदेशी डिग्रीहरु निम्न कलेजले सञ्चालन गरिरहेका छन्:

किङ्स कलेजले वेस्टक्लिफ युनिभर्सिटी बीएसआईटी डेटा साइन्स, बीएसआईटी सफ्टवेयर एण्ड वेब एप्लिकेसन डेभलपमेन्ट र बीएसआईटी माेबाइल एप डेभलपमेन्टकाे कार्यक्रम ल्याएकाे छ ।

एसिया ई विश्वविद्यालयबाट सम्बन्धन लिएर भिरिन्ची कलेजले बीआईसीटी कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

त्यस्तै सनवे कलेजले इन्फ्रास्ट्रक्चकर युनिभर्सिटी, मलेसियाबाट सम्बन्धन लिएर बीएससी (अनर्स) कम्प्युटर एण्ड डेटा साइन्स पढाइरहेकाे छ । 

इस्लिङटन कलेज, काठमाडाैंले लण्डन मेट्राेपाेलिटन युनिभर्सिटी यूके, क्याम्ब्रिज युनिभर्सटी यूकेबाट सम्बन्धन लिएर बिएससी (अन्स) ईन मल्टिमिडिया टेक्नाेलाेजी, बिएससी (अन्स) माेबाइल एप्लिकेसन डेभलपमेन्ट र बीएससी (अन्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स सञ्चालन गरिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८० १८:२५