close

कुन विषय पढ्नेः सफ्टवेयर इन्जिनयरिङ कि कम्प्युटर इन्जिनियरिङ ?

सञ्जीवन राई सञ्जीवन राई

मंसिर १३, २०७९ १८:४५

कुन विषय पढ्नेः सफ्टवेयर इन्जिनयरिङ कि कम्प्युटर इन्जिनियरिङ ?

काठमाडाैं । सूचना प्रविधि (आईटी) विषय पढ्न खाेजिरहेका विद्यार्थीका लागि अहिले अनेकौँ विकल्प छन् । नेपालमा विभिन्न विश्वविद्यालयले आईटी सम्बन्धी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

जसमध्ये पाेखरा विश्वविद्यालयले नेपालमा अन्यत्र पढाइ नहुने सफ्टवेयर इन्जिनियरिङ पढाइरहेकाे छ । यो विषय कम्प्युटर इन्जिनियरिङसँग मिल्दाेजुल्दो किसिमकै छ ।

त्यसैले धेरै विद्यार्थीहरू यी दुई विषय मध्ये कुन पढ्ने भन्ने कुरामा भनेर अलमलमा पर्ने गरेको गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका बीई प्राेग्राम काेअर्डिनेटर ताराबहादुर थापा बताउँछन् ।

पोखरा विश्वविद्यालयमा ‘कम्प्युटर इन्जिनियरिङ’ र ‘सफ्टवेयर इन्जिनियरिङ’ दुवै कोर्षको पढाइ हुने गरेको छ । चार वर्ष तथा आठ सेमेस्टरका यी कोर्ष मध्ये सफ्टवेयर इन्जिनियरिङ १३३ क्रेडिट र कम्प्युटर इन्जिनियरिङ १३८ क्रेडिट आवरका विषय हुन् ।

कम्प्युटर इन्जिनियरिङ ‘हार्डवेयर डिजाइन, सिस्टम डिजाइन’मा केन्द्रित रहेकाे विश्वविद्यालयका बीई प्राेग्राम काेर्डनेटर डा. उदयराज ढुङ्गाना बताउँछन् । त्यस्तै सफ्टवेयर इन्जिनियरिङ एप्लिकेसन डेभलपमेन्टमा बढी केन्द्रित रहेको उनको भनाई छ । 

सफ्टवेयर इन्जिनियरिङमा सफ्टवेयर डेभलपमेन्ट, डिजाइनिङ, टेस्टिङ, भेरिफिकेसन, भ्यालिडिटी जस्ता विषय अध्ययन गर्न पाइन्छ । विशेष गरी कम्प्युटर इन्जिनियरिङमा हार्डवेयरसँग सम्बन्धित विषयहरू समावेश छन् ।

यो काेर्षले हार्डवेयरका कम्पाेनेन्टमा काम गर्नसक्ने क्षमता विकास गर्न सघाउने गण्डकी कलेजका कोअर्डिनेटर थापा बताउँछन् । उनका अनुसार  विषयगत हिसाबले यी काेर्ष भिन्न भए पनि मान्यताको हिसाबले भने समान रहेका छन् । 

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नाेलाेजी (एनसीआईटी) का कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर रेशा देव सफ्टवेयर इन्जिनियरिङ डेभलपमेन्टदेखि लञ्चिङसम्म केन्द्रित रहेको बताउँछिन् । कम्प्युटर इन्जिनियरिङको काेर्ष  हार्डवेयर र सफ्टवेयर मिश्रित भएकाे उनकाे प्रष्ट्याईँ रहेकाे छ ।

सफ्टवेयर इन्जिनियरिङमा डेभलपमेन्ट, डिजाइनिङ, टेस्टिङ लगायतका विषय पढाइ हुने एनसीआईटीका सफ्टवेयर इन्जिनियरिङ डिपार्टमेन्ट प्रमुख ई. बिरेन्द्र बिष्ट बताउँछन् ।

उनका अनुसार कम्प्युटर इन्जिनियरिङ भनेकाे  ‘जनरल इन्जिनियरिङ’ हाे । जनरल इन्जिनियरिङको अर्थ याे काेर्ष पढेपछि थुप्रै विकल्प खुला रहन्छन् । 

कहाँ हुन्छ पढाइ ?

नेपालमा सफ्टवेयर इन्जिनियरिङकाे काेर्ष पाेखरा विश्वविद्यालयले मात्र सञ्चालन गरिरहेकाे छ । यो विश्वविद्यालयकाे केन्द्रिय क्यापस पाेखरा, पोखरामै रहेको गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स  र काठमाडौंको एनसीआईटीमा सफ्टवेयर इन्जिनियरिङ पढाइ भइरहेकाे छ ।

नेपालमा याे काेर्ष स्‍नातक तहमा मात्र उपलब्ध छ । कम्प्युटर इन्जिनियरिङकाे काेर्ष भने नेपालमा विभिन्न विश्वविद्यालयहरूले सञ्चालन गरिरहेका छन् ।

जसमा त्रिभुवन विश्वविद्यालय, काठमाडाैं विश्वविद्यालय, पाेखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्याल रहेका छन् ।

समावेश भएका विषय 

सफ्टवेयर इन्जिनियरिङमा प्राेग्रामिङका विषय बढी छन् । तर हार्डवेयर सम्बन्धी विषय भने निकै कम मात्रामा पाउन सकिन्छ ।

तर कम्प्युटर इन्जिनियरिङ अन्तर्गत भने विशेष गरी मेकानिकल वर्कशप, इलेक्ट्राेनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, अप्लाइड मेकानिकल जस्ता विषय रहेका छन् । 

कम्प्युटर इन्जिनियरिङमा कम्प्युटर आर्किटेक्चर, कम्प्युटर अर्गनाइजेसन, इम्बेडेड सिस्टम, माइक्राेप्राेसेसर कुराहरू पढाइन्छ । जब कि सफ्टवेयर इन्जिनियरमा माइक्राेप्रोसेसर एण्ड एसेम्ब्लिङ ल्याङ्गवेज, सफ्टवेयर टेस्टिङ, भेरिफिकेसन, भ्यालिडिटी एण्ड क्वालिटी एसुरेन्स पढाइ हुन्छ । 

कम्प्युटर इन्जिनियरिङका विद्यार्थीलाई प्राेग्रामिङका बारेमा पनि ज्ञान दिन ‘थ्यौरी अफ कम्प्युटेसन’ विषय राखिएकाे गण्डकी कलेजका थापा बताउँछन् । याे विषयले प्राेग्रामिङपछि त्यसलाई साेर्स काेडमा बदल्न कम्पाइलर र इन्टरप्रेटरकाे ज्ञान दिन्छ ।

यस्तै कम्प्युटर इन्जिनियरिङमा अर्काे विषय ‘डिजिटल सिग्नल, एनालाइसिस एण्ड प्राेसेसिङ’ रहेकाे छ । यो विषयमा हार्वेयरहरूमा सिग्नलहरू पठाउने बारेको विषयवस्तु समावेश छन् ।

थापा भन्छन्, “कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले हार्डवेयरसँग सम्बन्धित काम गर्नुपर्छ । त्यस्तोमा यस्ता विषय निकै महत्त्वपूर्ण हुन्छन् ।” 

पाठ्यक्रम

यी दुवै काेर्षमा नेपाल इन्जिनियरिङ काउन्सिलले निर्धारण गरेका विषयहरू पहिलाे र दाेस्राे सेमेस्टरमा राखिएका छन् । उदाहरणका लागि त्यसमा प्राेग्रामिङ सी, गणित, कम्युनिकेसन टेक्निक्स, इन्जिनियरिङ ड्रइङ्ग लगायत छन् ।

यी दुवै काेर्षमा साझा भएका विषयहरूमा अपरेटिङ सिस्टम, कम्प्युटर ग्राफिक्स र एआई हुन् । “यी दुवै काेर्षमा साझा भएका विषय कुनै अघिल्लाे सेमेस्टरमा पढाइ हुन्छ भने कुनै चाहिँ पछिल्लाे सेमेस्टरमा पढाइ हुन्छ, फरक यत्ति हाे,” थापा भन्छन् ।

सफ्टवेयर इन्जिनियरिङमा मात्र पढाइ हुने विषयहरूमा भने सफ्टवेयर इन्जिनियरिङ फण्डामेन्टल, प्राेब्याब्लिटी एण्ड क्युनिङ थ्यौरी, माइक्राेप्रोसेसर एण्ड एसेम्ब्ली ल्याङवेज, अब्जेक्ट ओरियन्टेड डिजाइन एण्ड माेड्युलेसन थ्रु यूएमएल छन् । त्यस्तै ‘प्रिन्सिपल अफ प्राेग्रामिङ ल्याङवेज’, ‘रियल टाइम सिस्टम’, ‘डिस्ट्रिब्युटेड सिस्टम’ रहेका छन् ।

कम्प्युटर इन्जिनियरिङमा इलेक्ट्राेनिकल, इलेक्ट्राेनिक्स इन्जिनियरिङका विषय पनि समावेश रहेकाे थापाको भनाई छ । जसमा बेसिक इलेक्ट्राेनिकल इन्जिनियरिङ, थर्मल साइन्स, अप्लाइड मेकानिक्स, इलेक्ट्राेनिक्स डिभाइसेस एण्ड सर्किट, नेटवर्क थ्यौरी, इन्स्ट्रुमेन्टेसन, प्राेग्रामिङ टेक्निक्स रहेका छन् ।

(हेर्नुहाेस् यी दुई काेर्षकाे पाठ्यक्रम)

सफ्टवेयर इन्जिनियरिङको पाठ्यक्रम

 

 

कस्ता विद्यार्थीका लागि कुन काेर्ष उपयुक्त ?

प्राेग्रामिङ, डिजाइनिङ जस्ता सफ्टवेयरकाे मात्र काम गर्ने भए सफ्टवेयर इन्जिनियरिङ गर्न थापाकाे सुझाव छ । त्यस्तै हार्डवेयर, इलेक्ट्रिकल तथा इलाेक्ट्राेनिक इन्जिनियरिङ तिर रुचि भए कम्प्युटर उपयुक्त हुन्छ ।

विष्टका अनुसार यी दुवै काेर्ष आफैँमा उत्कृष्ट छन् । विद्यार्थीकाे रुचि अनुसार कुन काेर्ष पढ्ने भन्ने कुरा निर्धारण हुने उनकाे बुझाई छ । सफ्टवेयर डेभलपिङ, टेस्टिङ, डिजाइनिङकाे क्षेत्रमा काम गर्ने रुचि भएका विद्यार्थीलाई सफ्टवेयर इन्जिनियरिङ उपयुक्त हुने विष्टको सुझाव छ ।

“कुन इन्जिनियरिङ पढ्ने भन्ने अन्याेल छ भने कम्प्युटर इन्जिनियरिङ उपयुक्त हुन्छ,” उनी थप्छन् । पछि इलेक्ट्राेनिक वा इलेक्ट्राेनिक्स इन्जिनियरिङ तिर जान चाहेको खण्डमा पनि सहज हुन्छ ।

सफ्टवेयर इन्जिनियरिङ गर्दा एउटा मार्गमा हिँडिने र कम्प्युटर इन्जिनियरिङ गर्दा धेरै विकल्प खाली रहने उनी बताउँछन् । विष्टको कुरामा एनसीआईटीकी देव सहमति जनाउँछिन् ।

“यी काेर्ष चयन गर्ने मामिलामा रुचि र क्षमताले प्रमुख भूमिका खेल्छन्,” उनी भन्छिन्, “सफ्टवेयरकाे तुलनामा कम्प्युटरकाे काेर्ष अलि जटिल पनि छ ।” तर कम्प्युटर इन्जिनियरिङ पढ्न सक्छु भन्ने लाग्छ भने पढ्दा राम्रो हुने सुझाव दिन्छिन्, देव । 

उनका अनुसार सफ्टवेयर इन्जिनियरिङकाे तुलनामा कम्प्युटर इन्जिनियरिङ गाह्राे हुनुकाे कारण सिस्टम बनाउँदा सफ्टवेयरसँगै हार्डवेयरमा पनि काम गर्नुपर्छ । देव भन्छिन्, “तर सफ्टवेयर इन्जिनियरिङ अध्ययन विद्यार्थीहरू पूर्ण रुपमा सफ्टवेयरमा मात्र ध्यान दिन्छन् ।”

प्राेग्रामिङ ल्याङ्वेज

यी दुवै काेर्षमा पहिलाे र दाेस्राे सेमेस्टरमा प्राेग्रामिङ इन सी र अब्जेक्ट ओरियन्टेड प्राेग्रामिङ इन सी प्लस प्लस रहेका छन् । सफ्टवेयर इन्जिनियरिङमा मात्र पढाइ हुने प्राेग्रामिङकाे विषय वेब टेक्नाेलाेजी हो ।

याे विषय दाेस्राे सेमेस्टरमा पढाइ हुन्छ । वेब टेक्नाेलाेजी अन्तर्गत एचटीएमएल, जाभा, सीएसएस, पीएचपी जस्ता प्राेग्रामिङ ल्याङ्वेज रहेका छन् । त्यस्तै तेस्राे सेमेस्टरमा प्राेग्रामिङ इन जाभा समावेश छ ।

पाँचाैँ सेमेस्टरमा सिस्टम प्राेग्रामिङ र आठाैं सेमेस्टरमा नेटवर्क प्राेग्रामिङको पढाइ हुन्छ । यी बाहेक दुई ओटा विषय ‘इलेक्टिभ’ (वैकल्पिक) रहेका छन् । 

यता कम्प्युटर इन्जिनियरिङमा प्राेग्रामिङ टेक्नाेलाेजी रहेकाे छ । जसमा जाभा स्क्रिप्ट, डट नेट पर्छन् । याे काेर्षमा तीन ओटा ‘इलेक्टिभ’ विषय रहेका छन् ।

प्राेजेक्ट वर्क र इन्टर्नशिप

विद्यार्थीले गर्नुपर्ने प्राेजेक्ट वर्ककाे मात्रा यी दुवै काेर्षमा उस्तै छ । चाै‍थाे, छैटाैं र आठाैं सेमेस्टरमा विद्यार्थीले प्राेजेक्ट वर्क गर्नु पर्छ । चाैथाै सेमेस्टरमा हुने प्राेजेक्ट एक क्रेडिटकाे रहेकाे छ ।

त्यस्तै छैटाैं सेमेस्टरमा हुने दाेस्राे प्राेजेक्ट दुई क्रेडिट र आठाैं सेमेस्टरमा हुने प्राेजेक्ट पाँच क्रेडिट रहेकाे छ । कक्षामा हुने प्राेजेक्ट वर्क भने फ्याकेल्टीमा निर्भर हुने गरेको गण्डकी कलेजका थापा बताउँछन् । पाेखरा विश्वविद्यालयकाे पाठ्यक्रममा इन्टर्नशिप भने समावेश छैन ।

करियर कस्तो छ ?

भविष्यमा काम पाउने क्षेत्रका हिसाबले दुवै काेर्ष उत्तिकै आकर्षक रहेका छन् । तर सफ्टवेयर इन्जिनियरिङकाे अध्ययनपछि सफ्टवेयर डेभलपमेन्टकाे क्षेत्रमा मुख्य काम हुन्छ ।

उनीहरू वेब डिजाइनर, डेटा एड्मिनिस्ट्रेटर, इन्फर्मेसन सिस्टम म्यानेजर, नेटवर्क इन्जिनियर, प्राेजेक्ट म्यानेजर आदि बन्न सक्छन् । 

त्यस्तै कम्प्युटर इन्जिनियरिङ पढेकाहरूले सफ्टवेयरसँगै हार्डवेयरमा समेत काम गर्न सक्छन् । उनीहरू टेलिकम्युनिकेसन इन्जिनियर, नेटवर्क एड्मिनिस्ट्रेटर, वेब डेभलपर आदि बन्न सक्छन् ।

शुल्क, काेटा र छात्रवृत्ति

यी दुवै काेर्षमा शुल्क,  काेटा र छात्रवृत्ति पनि उस्तै छ । हाल यी काेर्ष पढ्न कूल आठ लाख रुपैयाँ लाग्छ । जसमा विश्वविद्यालय शुल्क, परीक्षा शुल्क र काउन्सिलिङ शुल्क पर्छन् । 

हाल एक ‘इन्टेक’मा ४८ जनाकाे काेटा रहेकाे छ । जसमध्ये पाँच जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउँछन् । तर उनीहरूले छात्रवृत्ति पाउनका लागि कक्षा ६ देखि १० सम्म सरकारी विद्यालयमा अध्ययन गरेकाे हुनुपर्छ ।

भर्नाका लागि आवश्यक याेग्यता​

यी दुवै काेर्षमा भर्ना हुन आवश्यक याेग्यता समान छ । यसका लागि उच्च मावि तहमा विज्ञान संकाय अध्ययन गरेकाे हुन पर्छ । अर्थात् विद्यार्थीले पीसीएम (फिजिक्स, केमेस्ट्री र म्याथ) अध्ययन गरेकाे हुनुपर्छ । साथै यी विषयहरूमा कम्तिमा सी ग्रेड ल्याउन जरुरी छ । 










 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ १८:४५