close

टिकटकमा चिनेका युवकसँगको अश्लील भिडियो कल ब्ल्याकमेलमा प्रयोग भएपछि...

टेकपाना टेकपाना

जेठ २२, २०८० १७:०

टिकटकमा चिनेका युवकसँगको अश्लील भिडियो कल ब्ल्याकमेलमा प्रयोग भएपछि...

काठमाडौं । सम्झना शर्मा (नाम परिवर्तन) समय समयमा टिकटकमा आफ्ना व्यक्तिगत भिडिओ राख्थिन् । उनका भिडिओमा राम्रै भ्युज आउँथ्यो । भिडिओहरू देखेर धेरैले उनलाई फलो गरेका थिए ।

एक दिन उनी आफूलाई फलो गर्नेहरूको सूची हेर्छिन् । सूचीमा दिनेश कुमार राउत पनि हुन्छन् । प्रोफाइल हेर्दा आकर्षक देखेपछि उनी दिनेशको अकाउन्टलाई फलो ब्याक दिन्छिन् । त्यसपछि उनीहरू टिकटकमा जोडिन्छन् ।

उनीहरूबीच टिकटकमा एक-अर्काका भिडिओ लाइक गर्ने, कमेन्ट गर्ने प्रक्रिया चलिरहन्छ । त्यतिमात्रै हाेइन, टिकटककाे इनबक्समा उनीहरू घण्टाैं च्याट गर्न थाल्छन् । सामाजिक सञ्जालका अन्य विभिन्न प्लेटफर्महरू फेसबुक, मेसेन्जर, ह्वाट्सएप र ईमोमा पनि जोडिन्छन् । यस्ता माध्यममा कुरा गर्दा उनीहरू झनै नजिक हुन्छन् ।

टेक्स्टबाट सुरु भएको कुराकानी भिडिओ कलसम्म पुग्छ । सम्बन्ध प्रगाढ हुँदै गएपछि उनीहरूबीच कहिलेकाहीँ अश्लील कुराकानी हुन थाल्छ ।फोटो, भिडिओ आदानप्रदान हुन्छ । त्यही मौका छोपी दिनेश उक्त च्याटको स्क्रिन रेकर्ड राख्छन् ।

उनीहरूबीच दैनिकजसो सुख, दुःख र प्रेमका कुरा हुन्थ्याे । एक दिन दिनेशले सम्झनालाई भेट्न बोलाउँछन् । सम्झनालाई उनले बोलाएको चित्त बुझ्दैन । त्यसैले उनी दिनेशले भेट्न बोलाउँदा जान नसक्ने भन्दै अस्वीकार गर्छिन् ।

सम्झनाले भेट्न अस्वीकार गरेपछि आफूसँग भएका भिडिओ देखाउँदै दिनेश भेट्न धम्की दिन्छन् । सम्झना धम्कीबाट डराउँदिनन् । आफूले भनेको नमानेपछि दिनेश नक्कली फेसबुक अकाउन्ट बनाउँछन् र त्यही अकाउन्टमा ती अश्लील भिडिओ पोस्ट गर्छन् ।

यसरी आफूलाई दुःख दिँदै, चरित्रहत्या गरेको गरेको भन्दै सम्झनाले एक साताअघि साइबर ब्यूरोमा उजुरी दिइन् । उजुरी परेपछि ब्यूरोको टिमले उक्त घटनामा अनुसन्धान सुरु गर्छ ।

प्रारम्भिक अनुसन्धानमा क्रममा दिनेश दोषी देखिएपछि जुम्ला घर भएका दिनेश आइतबार भक्तपुर चाँगुनारायणबाट पक्राउ परेका छन् ।  दिनेशमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८० १७:४५