close

अवैध बेटिङ प्रचारमा संलग्न कलाकार ‘बल्छी धुर्वे’ सहित ८ जना पक्राउ

टेकपाना टेकपाना

जेठ ३२, २०८० १२:३५

अवैध बेटिङ प्रचारमा संलग्न कलाकार ‘बल्छी धुर्वे’ सहित ८ जना पक्राउ

काठमाडौं । अनलाइन बेटिङ साइटको प्रचारमा संलग्न हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) सहित आठ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले बिहीबार कलाकार, युट्युबर र टिकटकरहरूलाई पक्राउ गरेको हो ।

कार्यलयले विज्ञप्ति जारी गर्दै पक्राउ परेका व्यक्तिहरूकाे विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालमा अवैध सट्टेबाजीमा नाम चलेका व्यक्तिहरू नै संलग्न हुन थालेपछि प्रहरीले अपरेशन थालेकाे हाे ।

प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना एजेन्टहरूलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो । पक्राउ परेका व्यक्तिहरूले सट्टेबाजीमार्फत ७४ करोड रूपैयाँ बढीको कारोबार गरेको भेटिएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनाेज केसीले जानकारी दिए ।

टेकपानाले बेटिङ प्रचारमा चल्तीका कलाकारदेखि युट्युबर र टिकटकहरू सक्रिय रहेको भन्दै लगातार समाचार सम्प्रेषण गरेको थियो । यसतर्फ अपराध अनुसन्धान कार्यालय जानकार रहेको भन्दै बुधबार एसएसपी केसीले प्रचारमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने बताएका थिए । 

“बेटिङमा जसले प्रोमोसन गरिररेका छन्, उनीहरूलाई पनि पक्राउ गर्ने प्रक्रिया सुरु भएकाे छ,” उनले भने, “अहिले सबै कुरा भन्न सकिने अवस्था छैन । तर, हामीले अपरेसन सुरु गरिसकेका छौं ।” 

पछिल्लो समय युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा नेपालमा प्रतिबन्धित अनलाइन बेटिङको प्रचार तथा खेल खेलाउने कार्य भइरहेको देख्न सकिन्छ । 

यसअन्तर्गत वनएक्स बेट, उल्फ ७७७, सीजी बुक लाइभ (सीजी बेट), फिफिया, बेट ३६५, मेल बेट जस्ता प्लेटफर्म सक्रिय छन् ।

नेपालकाे मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ । 

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० १३:२५