close

५० हजारमा सीजी बेटको प्रचार गरेकी सुष्मा कार्की भन्छिन्ः नेपालमा गैरकानूनी छ भन्ने थाहै भएन

टेकपाना टेकपाना

जेठ ३२, २०८० १८:२४

५० हजारमा सीजी बेटको प्रचार गरेकी सुष्मा कार्की भन्छिन्ः नेपालमा गैरकानूनी छ भन्ने थाहै भएन

काठमाडौं । नायिका सुष्मा कार्कीले आफूले नेपालमा अनलाइन सट्टेबाजी गैरकानूनी हो भन्ने थाहा नपाएर विज्ञापन गरेको बताएकी छिन् । 'सीजी बेटबुक' नामक अनलाइन बेटिङ प्लेटफर्मकाे प्रचारका लागि नायिका कार्कीले ५० हजार रुपैयाँ रकम लिएर विज्ञापन गरेकी थिइन् । 

सीजीबेटले सुष्मा कार्कीसहित नेपाली कलाकारहरू सुरविना कार्की, उषा उप्रेती, सामरिका ढकाल लगायतलाई पैसा दिएर प्रचारात्मक भिडिओ बनाएको छ । यी भिडिओ सीजीबेटले आफ्नो वेबसाइटदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा राखेको छ । 

आफूलाई बेटिङ तथा क्यासिनो एपको कारोबार नेपालमा वैधानिक भएको ‘कन्भिन्स’ गरिएकाले भिडिओ खेलेको सुष्माले प्रतिक्रिया दिइन् ।

टेकपानासँग कुरा गर्दै कार्कीले भनिन्, “कति धेरै कलाकारले भिडिओ बनाउनु भएको थियो । मलाई पनि विज्ञापन गर्दिन पर्‍यो भनेर उहाँहरू (सीजीबेटको टिम)आउनु भएको थियो ।”

सुरुमा हिन्दी भाषामा बोलेर भिडिओ बनाउन भनेको भएपनि आफूलाई हिन्दी असहज हुने भएकाले नेपालीमै बनाउन राजी भएको उनले सुनाइन् । “हिन्दीमा गर्नुपर्छ भनिराको थियो । मलाई फेरि हिन्दी आउँदैन भने,” उनले भनिन् ।

क्यासिनोको कुरा गरेपछि उनले उक्त एप नेपालमा कानूनी हो वा गैरकानूनी हो भन्ने बुझ्न खोजेकी थिइन् । “नेपालमा यो कानूनी हो । हामीसँग कागजात छ भनेपछि ढुक्क भएर भिडिओ बनाउन राजी भएँ,” उनले भनिन् ।

सुरुवातमा फुर्सद नभएको भन्दै टार्न खोजे पनि सीजी बेटको टिम आफ्नै रेस्टुरेन्टमा आएपछि आफूले भिडिओ बनाइदिएको उनकाे भनाइ छ । “अब हामी त कलाकार हो । पैसा दिएपछि गर्नु त परिहाल्यो, आपत् परिरहेको बेलामा…,” कार्कीले थपिन् ।  

भिडिओ बनाइदिन भन्दै आएको मान्छे भारतीय मूलको भएको र आफूले नचिन्ने उनकाे भनाइ छ । “उसलाई म त्यति राम्ररी चिन्दा पनि चिन्दिनँ । त्यो मान्छे इन्डियन नै हो । त्यो मान्छेलाई पछि मैले सम्पर्क गर्न खोजेँ । तर, सम्पर्क नै हुन सकेन,” उनले भनिन् ।

आफू सोझो मान्छे, कलाकार भएकाले आफ्नो धर्म निभाउन खोजेको भए पनि भिडिओ बनाउन लगाउनेले पैसा दिएर बेवकुफ बनाएको कार्कीको बुझाइ छ ।

भन्छिन्, “मलाई आफूले भिडिओमा भनेका कुराहरू केही पनि थाहा छैन । म अड्कीअड्की बोलिरहेको थिएँ ।” पैसाको एकदमै खाँचो परेकाले पनि त्यति ख्याल नगरेर भिडिओ बनाइदिएको उनले बताइन् ।

विज्ञापनमा उनी भन्छिन्, “हेल्लो फ्रेन्ड्स कस्तो हुनुहुन्छ तपाईंहरू ? तपाईं घर बसेर बोर त हुनु भएको छैन ?,” प्रचार गर्दै टिकटकरहरू भन्छन्, “इफ बोर हुनुभएको छ भने म तपाईंहरूलाई ल्याएर आएको छु एसियाकै मस्ट ट्रस्टेबल लिगल लाइसेन्स गेमिङ एक्सचेन्च ‘सीजी बेट बुक’ । लाइभ गेममा तपाईंहरू क्रिकेट फुटबल टेनिस, क्यासिनो खेल्न सक्नु हुनेछ त्यही पनि घर बसी बसी । सो, छिट्टो जानुस् तल दिइएको लिङ्कमा क्लिक गरेर आईडी प्राप्त गर्नुहोस् । या हाम्रो तल दिइएको ह्वाट्सअप नम्बरमा पनि आईडी प्राप्त गर्न सक्नुहुनेछ । सो गाइज एकदमै छिटो जानुस्, आफ्नो आईडी बनाउनुस्, र एकदमै धेरै पैसा जित्नुहोस् । बेस्ट अफ लक !”

सो भिडिओ बनाइदिए वापत कार्कीलाई कम्पनीले ५० हजार रुपैयाँ दिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ साइटको प्रचार गर्नेहरूलाई पक्राउ गर्न थालेको छ । बिहीबार विभिन्न कलाकार र युट्युबर गरी आठ जना पक्राउ परेका छन् । प्रहरीले प्रचार गर्ने अन्यमाथि पनि निगरानी गरिरहेको छ ।   

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० १८:५१