close

टेकपाना प्रभावः चौधरी ग्रुपको कम्पनी भन्दै बेटिङमा सक्रिय ‘सीजी बेट’ को वेबसाइट बन्द

टेकपाना टेकपाना

असार १, २०८० १४:४८

टेकपाना प्रभावः चौधरी ग्रुपको कम्पनी भन्दै बेटिङमा सक्रिय ‘सीजी बेट’ को वेबसाइट बन्द

काठमाडौं । चौधरी ग्रुपको नाम दुरुपयोग गर्दै नेपालमा प्रचार गरिएको अनलाइन सट्टेबाजी प्लेटफर्म सीजीबेटको वेबसाइट बन्द भएको छ । टेकपानाले ‘सीजीको नाममा गैरकानूनी बेटिङ साइट सक्रिय, प्रचारमा सुष्मा कार्कीदेखि चल्तीका टिकटकरसम्म’ शीर्षकमा मंगलबार समाचार प्रकाशित गरेको थियो ।

अहिले सीजीबेटले आफ्नो वेबसाइट बन्दै गर्नुका साथै सामाजिक सञ्जाल अकाउन्टहरू पनि बन्द गरेको छ । सीजीको भगिनी कम्पनी भन्दै सीजीबेटले फेसबुक, ह्वाट्सएप, भाइबर लगायतका माध्यमबाट नेपालीहरूलाई सट्टेबाजीमा लगाउने गरेको प्रमाण टेकपानाले फेला पारेको थियो ।

बेटिङमा प्रोत्साहन गर्न सीजीबेटले चल्तीका कलाकार र टिकटकरमार्फत प्रचार गरेको थियो । नायिका सुष्मा कार्की, सुरविना कार्की, मोडेल तथा टिकटकर उषा उप्रेती, सामरिका ढकाल लगायतले पैसा लिएर यो अवैध व्यवसायको प्रचार गरेका थिए ।

प्रहरीले अनलाइन सट्टेबाजी खेल्ने, खेल्न प्रोत्साहन गर्ने र एजेन्टका रूपमा सक्रिय मानिसहरू धमाधम पक्राउ गर्न थालेपछि सीजीबेटले आफ्नो अनलाइन अकाउन्ट नै बन्द गरेको हो ।

टेकपानाले नेपाल प्रहरीलाई सीजी बेटका प्रतिनिधिसँग गरेको कुराकानी र उनीहरूले दाबी गरेका प्रमाण उपलब्ध गराएको थियो । “तपाईंहरूले पठाएको सामग्री मैले हाम्रो यहाँको साइबर टिमलाई पठाएको थिएँ,” नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भने, “उनीहरूले कहाँ कहाँ पठाउनु पर्छ त्यहाँ पठाएको छ । त्यस्ता अरु बेटिङ साइट पनि हुन सक्छन् । उनीहरूमाथि पनि निगरानी गरिरहेका छौँ ।”

पछिल्लो अध्यावधिक: असार १, २०८० १४:५१