close

वनएक्स बेट प्रकरणः प्रहरी एक्सनमा उत्रिएपछि सुटुक्क प्रमाण मेटाउँदै अन्य युट्युबर

टेकपाना टेकपाना

असार २, २०८० ९:१४

वनएक्स बेट प्रकरणः प्रहरी एक्सनमा उत्रिएपछि सुटुक्क प्रमाण मेटाउँदै अन्य युट्युबर

काठमाडौं । वनएक्स बेटसहित अनलाइन सट्टेबाजी गराउने माध्यमको प्रचार गर्नेहरू पक्राउ परेपछि युट्युबर कुशल पोखरेलले प्रचार सामग्री हटाएका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध सट्टेबाजीको प्रचारमा संलग्न आठ जना कलाकार/युट्युबर पक्राउ गरेको थियो ।पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी परिसरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

उक्त घटनापछि युट्युबर पोखरेलले बिहीबार राति आफ्नो च्यानलबाट प्रचार सामग्री हाइड गरेको देखिएको छ । हामीले प्रमाणस्वरुप यहाँ एउटा स्क्रिनशट राखेका छौं । वैशाख १२ गते (अप्रिल २५) अपलोड भएको ‘ह्वेन वि बिकम प्यारेन्ट्स’ शीर्षकको भिडिओ अहिले उनको च्यानलबाट गायब छ । त्यसबाहेक पनि पोखरेलले २०२१ जुन महिनापछि अपलोड गरेका कमेडी शैलीका भिडिओ गायब छन् । यी त्यस्ता भिडिओ हुन्, जसमा पोखरेलले प्रोमो कोड उपलब्ध गराएर वनएक्स बेटमा लगइन गर्न प्रोत्साहन गरेका थिए ।

एक्कासि च्यानलका भिडिओ डिलिट गर्दा युट्युबले रिच डाउन गरिदिने हुनाले हाइड गर्ने प्रवृत्ति छ । त्यसैले उनले भिडिओ हाइड गरेको देखिन्छ । पोखरेलबाहेक अन्य केही नाम चलेका युट्युबरले पनि भिडिओ हाइड गरेका छन् । कतिपयले डिस्क्रिप्सनमा राखिदिएको लिङ्क डाउन भइसकेको छ । 

टेकपानासँग कुरा गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले यसअघि पक्राउ परेका बाहेक अन्य युट्युबर तथा कलाकारबाट पनि प्रमाण सङ्ककन गरिसकेको र पक्राउको तयारी गरेको बताए ।

“हामीले धेरै युट्युबरबाट प्रमाण सङ्कलन गरिसकेका छौं,” एसएसपी केसीले भने, “वनएक्स बेटमा संलग्न भएको देखिएकाहरू कारबाहीकाे दायरमा आउँछन् ।” 

त्यस्तै अहिले युट्युबमा वनएक्स बेट कसरी प्रयोग गर्ने, रकम कसरी जम्मा गर्ने, रकम कसरी निकाल्ने, बाजी कसरी राख्ने भन्ने विषयमा राखिएका भिडिओ पनि सम्बन्धित व्यक्तिहरूले च्यानलबाट हटाएकाे पाइएकाे छ ।

तर, केही युट्युबरको च्यानलमा वनएक्स बेटमा रहेका प्रचार सामग्री अझै यथावत् छन् । पक्राउ परेका कलाकारबाहेक राजकुमार थापा मगर, रोनिशा थापा, प्रिदेव जोशी, एलिशा खड्गी, रतन कार्की लगायतका युट्युबरको भिडिओमा अझै पनि प्रोमोकोड भनिएका भिडिओ देख्न सकिन्छ ।

 

अनलाइन बेटिङका सक्रिय एजेन्ट र प्रचार गर्ने व्यक्तिहरू पक्राउ परेपछि यस्तो कार्यमा संलग्न केही युट्युबरले आफ्ना नयाँ भिडिओहरूमा बेटिङको रजिस्ट्र्रेसन लिंक र प्रोमोकोड राख्न छाडेका छन् ।

यता टिकटकमा नाम चलेका केही क्रियटरले अनलाइन सट्टेबाजी प्लेटफर्म उल्फ७७७ (wolf777) काे प्रचार सामग्री गरेकाे देखिन्छ ।

यी टिकटकरले प्रचार गरेबापत त्यस्ता प्लेटफर्मबाट पारिश्रमिक लिने गर्छन् र अन्य मानिसहरूलाई गैरकानूनी कार्य गर्न प्रोत्साहन गर्छन् ।

याे पनि पढ्नुहाेस्:

वनएक्स बेटका ५ जना एजेन्ट पक्राउ, एक अर्ब बढीको सट्टेबाजी

बेटिङको प्रचारमा कलाकारदेखि, टिकटकर र युट्युबरसम्म, पक्राउ गर्ने तयारीमा प्रहरी

बेटिङ प्रचार गर्ने बल्छी, राजु मास्टर, जालन, भटभटे, म्याकुरी, एलिश राई र गणेश जीडीसहित ८ पक्राउ

वनएक्स बेट प्रचार गरेर कलाकार/युट्युबरले लिन्थे ४० लाखसम्म कमिसन

सीजीको नाममा गैरकानूनी बेटिङ साइट सक्रिय, प्रचारमा सुष्मा कार्कीदेखि चल्तीका टिकटकरसम्म

५० हजारमा सीजी बेटको प्रचार गरेकी सुष्मा कार्की भन्छिन्ः नेपालमा गैरकानूनी छ भन्ने थाहै भएन

चौधरी ग्रुपको कम्पनी भन्दै बेटिङमा सक्रिय ‘सीजी बेट’ बन्द

पछिल्लो अध्यावधिक: असार २, २०८० १०:१३