close

बेटिङबाट पैसा कमाउने लोभले ८ कलाकार/युट्युबर प्रहरी हिरासतमा, अरुलाई पनि पक्रिने तयारी

टेकपाना टेकपाना

जेठ ३२, २०८० १९:१९

बेटिङबाट पैसा कमाउने लोभले ८ कलाकार/युट्युबर प्रहरी हिरासतमा, अरुलाई पनि पक्रिने तयारी

काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन सट्टेबाजीको प्रचारमा संलग्न कलाकार तथा युट्युबरमाथि तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । उनीहरूलाई सट्टेबाजी गर्न वा गराउन नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

कार्यालयले अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटकाे प्रचारमा संलग्न आठ कलाकार तथा युट्युबरलाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) पवन खतिवडा (म्याकुरी) अलिस राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र ‍बेगम नेपाली (भटभटे माइला) रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपित आठै जना वनएक्स बेटमार्फत विभिन्न खेल खेलाउन आफ्नो युट्युब च्यानलमार्फत प्रचार गर्थे । यसरी विज्ञापन गरी सर्वसाधारणलाई सट्टेबाजी गर्न, गराउनको लागि उत्प्रेरित गरेको भन्दै उनीहरूलाई कार्यालयबाट खटिएको विशेष टोलीले बुधबार विभिन्न ठाउँबाट पक्राउ गरेको थियाे । 

वनएक्स बेटमा उनीहरूको कस्तो प्रकारको संलग्नता र लेनदेन छ भन्ने कुराबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ । 

“पक्राउ परेका व्यक्तिहरूमाथि जुवा ऐन मात्र नभई अन्य विभिन्न किसिमका कसूर आकर्षित हुने अवस्था छ,”  अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रेग्मीले टेकपानासँग भने, “जिल्ला प्रहरी परिसरले थप अनुसन्धान गरी आकर्षित कसूरमा मुद्दा चलाउँछ ।”

बुधबार काठमाडाैं जिल्ला अदालतले हिरासतमा राखी उनीहरूमाथि अनुसन्धान गर्न चार दिनको म्याद अनुमति दिएकाे थियाे । यसक्रममा प्रहरीले बेटिङमा प्रचारमा लागेका अन्य व्यक्तिलाई निगरानीमा राखेर आन्तरिक अनुसन्धान गरिरहेको र चाँडै पक्राउ गर्ने तयारी गरेकाे उनले जानकारी दिए । 

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: असार १, २०८० १०:५२