काठमाडौं । नियामक नेपाल राष्ट्र बैंककाे फेसबुक पेजमार्फत स्क्यामरले बिट्क्वाइनको प्रचार गरेको पाइएको छ । राष्ट्र बैंकले राखेकाे फेसबुक पोस्टमा ‘Chinenye Onyemaechi’ नाम भएका प्रयोगकर्ताले हरेक कमेन्टमा रिप्लाई गर्दै टेलिग्राम च्यानलको लिङ्क शेयर गरेका छन् ।
उक्त लिङ्क खोली हेर्दा ‘बिटक्वाइन ट्रेडिङ इन्भेस्टमेन्ट’ च्यानलको लिङ्क खुल्छ, जसमा ५३० बढी मानिसहरू जोडिएका छन् ।
टेकपानासँग कुरा गर्दै राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले त्यस्तो कमेन्ट गर्नेलाई तत्कालै ब्लक गरेर थप अनुसन्धान गरिने बताए । “हामीले ख्याल गरेका थिएनौं,” पोखरेलले भने, “अब तत्कालै सम्बन्धित निकायलाई यस विषयमा जानकारी दिएर हटाउन लगाउँछौं ।”
पछिल्लो समय सरकारी कार्यालयको सामाजिक सञ्जालका अकाउन्टमा ठगी गर्ने मनसायले स्क्याम लिङ्क पठाउने प्रवृत्ति बढेको छ । हालै सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको थियो । उक्त पेज ह्याक भएको र कार्यालयले नयाँ पेज खोलेको भन्दै नक्कली पेजको लिङ्क कमेन्ट गर्ने घटना बढेको थियो ।