काठमाडौं । गुगलको प्ले स्टोर र एप्पलको एपस्टोरसँग प्रतिस्पर्धा गर्न मेटाले फेसबुकबाटै एप डाउनलोड गर्न सकिने फिचर ल्याउने योजना बनाएको छ । यस अन्तर्गत युरोपेली (ईयू) मा रहेका प्रयाेगकर्ताले फेसबुक एड्सबाट सोझै एप डाउनलोड गर्न सक्नेछन् ।
द भर्जमा प्रकाशित समाचार अनुसार केही एन्ड्रोइड एप डेभलपरले यसै वर्षदेखि यो नयाँ किसिमको विज्ञापन परीक्षण गर्न पाउनेछन् । ईयूको नयाँ नीति ‘द डिजिटल मार्केट्स एक्ट (डीएमए)’ मा कुनै पनि प्रविधि कम्पनीले वैकल्पिक माध्यम अपनाउन नदिने रणनीतिलाई निरूत्साहित गर्छ ।”
सोही नीति यसै वर्षदेखि लागू हुने भनिएको छ । यही नीतिले गर्दा मेटाले पनि नयाँ किसिमको फिचर परीक्षण गर्न लागेको हो । हाल गुगल र एप्पलले आफ्ना मोबाइल अपरेटिङ सिस्टममा आफ्नै प्लेटफर्मबाट एप डाउनलोड गर्नुपर्ने बनाएका छन् ।
यसो त एन्ड्रोइडमा वैकल्पिक विधिबाट एप डाउनलोड गर्न सकिन्छ । तर, एप इन्स्टल गर्न खोज्दा डरलाग्दा वार्निङ (चेतावनी) देखाइरहेको हुन्छ । त्यसैले मोबाइल प्रयोगकर्ता थर्ड पार्टीबाट डाउनलोड गरेका एप इन्स्टल गर्न डराउँछन् । यसैको विकल्पका रूपमा मेटाले फेसबुकलाई प्रयोग गर्न लागेको भर्जले उल्लेख गरेको छ ।
यसका लागि सुरक्षित रूपमा एप डाउनलोड गर्ने सुविधा दिन मेटाले आईओएसभन्दा एन्ड्रोइडमा अगाडि यो फिचर ल्याउने सङ्केत दिएको छ । मेटाले भर्जलाई दिएको सूचना अनुसार डेभलपरले फेसबुकमा आफ्नो एप होस्ट गर्न पाउनेछन् । र, होस्ट भएको एप फेसबुक प्रयोगकर्ताले आफ्नो डिभाइसमा इन्स्टल गर्न सक्नेछन् ।
सुरुवाती चरणमा एपले आम्दानी गरेको रकमबाट कम्पनीले कुनै शुल्क नकाट्ने बताएको छ । त्यसैले डेभलपरले आफूले चाहेको जुनसुकै बिलिङ सिस्टम प्रयोग गर्न सक्नेछन् ।
मेटाका प्रवक्ता टम च्यानिकले भर्जलाई भने, "हामी सधैं डेभलपरलाई उनीहरूले विकास गरेका एप सहजै वितरण गर्न सकुन् भन्ने चाहन्छौं । फेसबुकमा आउन लागेको नयाँ फिचरले डेभलरपलाई फाइदा पुर्याउने र यस क्षेत्रमा प्रतिस्पर्धा थप्ने हाम्रो विश्वास छ ।”
ईयूको डीएमए नीति लागू भइसकेपछि माइक्रोसफ्टले पनि मोबाइल एप वितरणको काम सुरु गर्ने योजना बनाएको छ ।