close

यस्तो छ च्याटजीपीटी भएको पहिलो इलेक्ट्रिक साइकल (भिडिओ सहित)

टेकपाना टेकपाना

असार १६, २०८० ११:५९

यस्तो छ च्याटजीपीटी भएको पहिलो इलेक्ट्रिक साइकल (भिडिओ सहित)

काठमाडौं । च्याटजीपीटी समावेश भएको पहिलो विद्युतीय साइकल सार्वजनिक भएको छ । हङकङको साइकल निर्माता कम्पनी अरटोपिया (Urtopia) ले बिहीबार यस्तो विशेषता भएको भएको साइकल सार्वजनिक गरेको हो ।

स्मार्ट साइकल विकासमा केन्द्रित यो कम्पनीले यसअघि स्मार्टफोन जस्तै फिङ्गरप्रिन्ट अनलक सुविधा भएको साइकल ल्याएको थियो । पछिल्लो समय एआईको चर्चा बढेसँगै कम्पनीले आफ्नो नयाँ प्रडक्टमा च्याटजीपीटी समावेश गरेको हो ।

यससँगै अरटोपियाले आफूलाई साइकलमा आर्टिफिसियल टुल च्याटजीपीटी समावेश गर्ने विश्वकै पहिलाे कम्पनी भएको दाबी गरेको छ ।

ओपनएआईले निर्माण गरेको च्याटजीपीटी मानिसकै शैलीमा उत्तर दिने विशेषताले चर्चित छ । यसलाई मानिसहरू कुनै पनि प्रश्नका उत्तर पाउन, पजल सल्भ गर्न, सूचना संकलन गर्न, प्रोग्रामिङ कोड लेख्न लगायतका कामका लागि प्रयोग गरिरहेका छन् । त्यसबाहेक पनि च्याटजीपीटीले गुगलको असिस्टेन्ट र एप्पलको सिरीले जस्तो काम गर्न सक्छ ।

यस्ता विशेषता भएको टुलले उक्त विद्युतीय साइकल प्रयोग गर्न थप सहज बनाउने अरटोपियाको भनाइ छ । यसमा प्रयोगकर्ताले बोलेकै भरमा च्याटजीपीटीले उपयुक्त जवाफ आवाजमा फर्काउने कम्पनीले जनाएको छ ।

उदाहरणका लागि साइकलमा यात्रा गर्दा आफूलाई कुनै साइकल पसलमा जानुपर्ने छ । त्यस्तोमा च्याटजीपीटीलाई नजिकको साइकल पसल सजेस्ट गर्न भनेको खण्डमा उक्त टुलले नै बाटोको दिशा बताउनेछ ।

त्यस्तै यात्रा गर्दा प्रयोगकर्तालाई कुनै अन्य विषयमा जान्न मन लाग्यो भने त्यही विषयमा सोध्न सक्नेछन् । एक किसिमले एक्लै साइकल चलाउन लागेको अनुभव नहोस् भन्ने मनसायले यस्तो विशेषता भएको साइकल ल्याएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८० ११:५९