close

पूर्ण रुपमा एआईले बनाएको औषधि मानिसमा परीक्षण गरिँदै

टेकपाना टेकपाना

असार १६, २०८० १६:३७

पूर्ण रुपमा एआईले बनाएको औषधि मानिसमा परीक्षण गरिँदै

 

काठमाडौं । पूर्ण रुपमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी उत्पादन गरिएको पहिलो औषधि मानिसमा परीक्षण गरिने भएको छ । एआईले बनाएको उक्त औषधि क्लिनिकल परीक्षणको लागि बिरामीलाई दिन लागिएको  हाे ।

हङकङस्थित बायोटेक स्टार्टअप कम्पनी इनसिलिको मेडिसिनले 'INS018_055' कोडको औषधि तयार गरेको हो । यो औषधि इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसको उपचारको लागि बनाएकाे कम्पनीले जनाएकाे छ । यो एक प्रकारको दीर्घकालीन रोग हो, जसले मानिसको फोक्सोमा दाग निम्त्याउने काम गर्छ ।

पछिल्लाे दशक व्यापक रूपमा यो रोग बढेको अवस्थामा कम्पनीले एआई प्रयोग गरी औषधि तयार गरेको हो । यो रोग लागेको दुईदेखि पाँच वर्षभित्र राम्रो उपचार नपाएमा बिरामीको मृत्यु हुने जोखिम रहन्छ ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलेक्स जाभोरोन्कोभले सीएनबीसीसँग औषधिको बारेमा बोल्दै मानिसको क्लिनिकल परीक्षणमा प्रयोग हुनका लागि अनुमति पाएको यो पहिलो औषधि भएकाे जानकारी दिएका छन् । यसलाई पूर्ण रुपमा एआई प्रयोग गरेर तयार गरिएकाे उनकाे दाबी छ । दोस्रो चरणको परीक्षणको लागि नै मानिसमा परीक्षण गर्न यो औषधिले अनुमति पाएको उनले बताए ।  

यो औषधि उत्पादनको प्रक्रिया सन् २०२० देखि सुरु भएको थियो । हाल उपलब्ध हुने औषधिहरूमा धेरै साइडइफेक्ट हुने र काम पनि ढिला गर्ने भएका कारण नयाँ औषधि तयार पारिएको उनले बताएका छन् । 

यो बाहेक कम्पनीले कोभिड-१९ र क्यान्सर गरी अन्य दुई औषधिमा पनि काम गरिरहेको छ । यी औषधिमा पनि पू्र्ण रुपमा एआईले काम गरिरहेको उनकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८० १६:३७