एआईले बनाएकाे सुईबिनै दिन सकिने ‘युनिभर्सल’ खोपकाे सफल परीक्षण, भविष्यका महामारी पनि रोक्ने दाबी
जेठ २२, २०८३ १३:४८
काठमाडाैँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर विभिन्न प्रकारका भाइरस र महामारीबाट सुरक्षा दिन सक्ने नयाँ खोपको विकास भएको छ । क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले पहिलो पटक कुनै खोपको मुख्य भाग पूर्ण रूपमा एआईबाट डिजाइन गरी सबैतिर प्रयोग गर्न मिल्ने (युनिभर्सल) बनाएका छन् ।
यो खोपका लागि सुईको आवश्यकता पनि नपर्ने बताइएको छ । पहिलो पटक एआईबाट खोप डिजाइन गरी मानिसहरूमा सफल परीक्षण पनि गरिएको जर्नल अफ इन्फेक्सन मा प्रकाशित अनुसन्धानपत्रमा उल्लेख छ ।
यो खोपको मुख्य एन्टिजेन (प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने तत्व) पूर्ण रूपमा एआईद्वारा डिजाइन गरिएको हो । खोप सबै कोरोना भाइरसका भेरियन्टहरूमा काम गर्नेगरी तयार पारिएको छ । साथै, जनावरहरूलाई सङ्क्रमित गरी भविष्यमा अर्को महामारी सुरू गर्न सक्ने भाइरसहरूमा पनि यसले काम गर्ने वैज्ञानिकहरुले बताएका छन् ।
यो अनुसन्धान अझै प्रारम्भिक चरणमै रहे पनि क्याम्ब्रिजका वैज्ञानिकहरुको टोलीले इन्फ्लुएन्जा (फ्लु) र इबोला विरुद्ध प्रभावकारी हुन सक्ने छुट्टाछुट्टै खोपहरू विकास गर्ने काम सुरु गरिसकेको बीबीसीले लेखेको छ ।
एआईबाट निर्मित उक्त खोपले भविष्यमा आउन सक्ने नयाँ महामारीहरूलाई रोक्नुका साथै भाइरसका जुनसुकै खतरनाक म्युटेसन विरुद्ध पनि लड्न सक्ने क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुको दाबी छ । वर्तमान समयमा अधिकांश खोपहरु भाइरसको कुनै एक निश्चित प्रकार वा भेरियन्टलाई लक्षित गरेर बनाइने गरेको छ ।
उदाहरणका लागि, कोभिड-१९ को महामारीका बेला भाइरसले लगातार आफ्नो रूप परिवर्तन (म्युटेड) गर्दा पुराना खोपहरूको प्रभावकारिता निकै कम भएको थियो । फलस्वरूप, वैज्ञानिकहरूले हरेक पटक नयाँ बुस्टर डोज तयार पार्नुपर्ने बाध्यता थियो ।
तर, यो नयाँ खोप निर्माणका लागि वैज्ञानिकहरूले एआई र कम्प्युटेशनल मोडलिङको सहायता लिएका छन् । एआईले विगत र वर्तमानका भाइरसहरूको आणुवंशिक संरचनाको विश्लेषण गरेको थियो । विश्लेषणबाट कुनै भाइरस परिवारका सबै भेरियन्टमा साझा रूपमा पाइने र भाइरसले जतिसुकै रूप बदले पनि कहिल्यै परिवर्तन नहुने भागहरूको पहिचान गरेको अनुसन्धानपत्रमा उल्लेख छ ।
खोपले भाइरसको सोही अपरिवर्तनीय जगलाई निशाना बनाउने भएकाले म्युटेड भएर जतिसुकै शक्तिशाली बनेपनि यो खोप उत्तिकै प्रभावकारी रहने वैज्ञानिकहरुको दाबी छ । खोपको पहिलो चरणको मानव परीक्षणमा ३९ स्वस्थ स्वयंसेवक सहभागी भएका थिए । परीक्षणका क्रममा खोप सुरक्षित देखिएको र यसले कोभिड-१९ गराउने SARS-CoV-2 मात्र नभइ SARS तथा भविष्यमा जनावरबाट मानिसमा सर्न सक्ने चमेरा-जन्य कोरोना भाइरसविरुद्ध पनि प्रतिरक्षा प्रतिक्रिया देखाएको अनुसन्धानपत्रमा उल्लेख छ ।
अनुसन्धानकर्ताहरूले अब २०० भन्दा बढी स्वयंसेवक सहभागी हुने दोस्रो चरणको परीक्षणको तयारी गरिरहेका छन् । उनीहरू फ्लु (इन्फ्लुएन्जा), इबोला तथा बर्डफ्लु जस्ता अन्य भाइरस परिवारका लागि पनि यस्तै प्रकारका युनिभर्सल खोप विकास गर्ने योजनामा रहेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ १४:२१
