close

राससको नाममा नक्कली ट्वीटर अकाउन्ट, कारबाही गर्ने चेतावनी

टेकपाना टेकपाना

असार २४, २०८० १३:२२

राससको नाममा नक्कली ट्वीटर अकाउन्ट, कारबाही गर्ने चेतावनी

काठमाडौं । सरकारी समाचार संस्था 'राष्ट्रिय समाचार समिति' को नाममा नक्कली ट्वीटर अकाउन्ट बनाएर जथाभाबी पोस्ट गरेको पाइएको छ । सन् २०२० मा खोलिएको उक्त अकाउन्ट राससको लोगो र नाम दुरुपयोग भएको हो ।

टेकपानासँग कुरा गर्दै समितिका महाप्रबन्धक सिद्धराज राईले राससको लोगो र नाम प्रयोग गरेर खोलिएको ट्वीटर अकाउन्टमा केही विषयहरू पोष्ट भएको पाइएको बताए ।

"ट्वीटरमा समितिको लोगो र नाम दुरुपयोग गरी खोलिएको अकाउन्ट जथाभावी पोष्ट गरिएका थिए । मैले ट्वीटरमार्फत नै उक्त अकाउन्ट आधिकारिक नभएको र सो अकाउन्ट बन्द गर्न अनुरोध गरेको थिए," उनले भने, "यो विषयमा हामीले आन्तरिक अनुसन्धान गरिरहेका छौं । सो अकाउन्ट बन्द नभए कानूनी प्रक्रियामा जानेछौँ ।"

उनका अनुसार सो अकाउन्टको विषयमा राससलाई जानकारी भएको कुरा थाहा पाउने बित्तिकै ट्वीटरको नाममा 'राष्ट्रिय समाचार समिति - (प्यारोडि)' भनेर राखिएको छ । यद्यपि ट्वीटरको ह्यान्डल भने '@rssnepal' नै रहेको   छ । 

साथै राससको अहिलेसम्म कुनै आधिकारिक ट्वीटर अकाउन्ट नभएको उनले जानकारी दिए । सो ह्यान्डलमा ४७२ फलोअर्स छन् ।

राससका महाप्रबन्धक राईले उनको ट्वीट रिप्लाइ गर्दै "यो राससको आधिकारिक ट्वीटर ह्याण्डल होइन । कसले प्रयोग गर्नु भएको हो । अनुसन्धान हुँदैछ । यो ह्यान्डल बन्द गरि सहयोग गर्नु होला" भनी लेखेका छन् । 

लगत्तै अर्को ट्वीट मार्फत सो ट्वीटरका प्रयोगकर्ताले 'आदरणीय जनसमुदायहरू! राष्ट्रिय समाचार समितिको यो हेण्डलबाट पोस्टिएको तलको ट्विट प्रति उक्त संस्थाको आधिकारिक भनाई नहुन सक्छ । तर पनि ट्वीट चै मेटिन्न । जय नेपाल' भनेर लेखेका छन् । 

साथै उनले आफ्नो ट्वीटको डिस्क्रिप्सनमा 'नोट: कुनै संस्थासँग मिल्न गएमा त्यो संयोग मात्र हुनेछ' भनेर लेखेका छन् । राईले भने सो अकाउन्ट विरुद्ध साइबर ब्युरोमा जाने तयारी भइरहेको पनि जानकारी दिएका छन् । 

पछिल्लो अध्यावधिक: असार २४, २०८० १३:२२