close

टेलिभिजन च्यानल प्रसारक संस्थालाई भोलिसम्म सेवाको दर रेट बुझाउन अल्टिमेटम

टेकपाना टेकपाना

असार २७, २०८० १५:४

टेलिभिजन च्यानल प्रसारक संस्थालाई भोलिसम्म सेवाको दर रेट बुझाउन अल्टिमेटम

काठमाडौं । विदेशी स:शुल्क टेलिभिजन च्यानल प्रसारक संस्थाले सरकारले माग गरे बमोजिम आला कार्ट ((A'La'Carte) मू्ल्य प्रणाली तथा शुल्क निर्धारणमा आधारित रही आफ्नो सेवाको दर रेट उपलब्ध नगराएको पाइएको छ ।

सूचना तथा प्रसारण विभागले एक सूचना जारी गर्दै विदेशी स:शुल्क टेलिभिजन च्यानल प्रसारक संस्था तथा नेपाली आधिकारिक सिग्नल वितरकलाई आला कार्ट मूल्य प्रणाली अनुसारको बुके तथा त्यसको दर रेटको जानकारी उपलब्ध गराउन अनुरोध गरेको हो ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७१ चैत्र २४ गतेको सूचनामा उपभोक्ताले टेलिभिजन प्रसारण वापत मासिक रुपमा अधिकतम ५०० रुपैयाँ भुक्तानी गर्नु पर्दा तथा इन्टरनेट सेवा वापत दूरसञ्चार ऐन, २०५३ बमोजिमको शुल्क भुक्तानी गर्नुपर्दा समेत हाल तिर्नु परिरहेको संयुक्त शुल्कभन्दा बढी हुन नहुने भनी उल्लेख गरिएको छ ।

सो प्रणाली अनुरुप विदेशी प्रसारक संस्थाको दररेट मेल खान्छ कि खाँदैन अथवा नेपाल सरकारले तोकेको रेट प्रसारक संस्थाको दररेटमा आउछ कि आउँदैन भनेर थाहा पाउनका लागि विभागले पत्राचार गरेको थियो ।  

विभागले वैशाख १७ गते पत्राचारमार्फत सम्पूर्ण सेवाप्रदायकलाई आला कार्ट अनुरुपको दररेट उपलब्ध गराउन निर्देशन दिएको थियो । यद्यपि सो निर्देशन अनुसार सेवाप्रदायकले काम नगरेपछि विभागले पुन: सूचना जारी गरेको हो ।

विभागले सबै सेवाप्रदायकलाई असार २८ गतेसम्ममा सम्बन्धित पक्षसँग समन्वय गरेर बुके र प्रति च्यानल दररेट उपलब्ध गराउन अनुरोध गरेको छ ।

साथै साउन १ गतेबाट आला कार्ट प्रणाली पूर्ण रुपमा लागू हुने हुँदा यसका लागि व्यवस्था मिलाउनका लागि पनि विभागले आग्रह गरेको छ ।

विभागले नेपाली आधिकारिक सिग्नल वितरक र विदेशी स:शुल्क टेलिभिजन च्यानल प्रसारक संस्थाबीच भएको आपसी सम्झौता पत्रको प्रतिलिपि मन्त्रालय र विभागमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ भने नेपाली आधिकारिक सिग्नल वितरक र स्वदेशी अपरेटरहरूबीच भएको आपसी सम्झौता पत्रको प्रतिलिपि पनि मन्त्रालय र विभागमा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

तोकिएको समयावधिमा जानकारी उपलब्ध नगराए कानूनी कारबाही गर्ने विभागले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असार २८, २०८० १४:३५