काठमाडौं । २०२२ नोभेम्बरमा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढेको छ । विशेषगरी मानिसकै शैलीमा प्रश्नमा जवाफ दिन सक्ने, निबन्ध, कथा, कविता, प्रपोजल जस्ता सामग्री लेखिदिने भएपछि यो टुल धेरैको रोजाइमा परेको छ ।
अहिले थुप्रै कम्पनीले शब्दकै भरमा फोटो तयार पारिदिने, भिडिओ बनाइदिने एआई टुल सार्वजनिक गरे । हालै भारतीय टेलिभिजन च्यानल ओडिसाले एआई समाचार वाचिका राखेको समाचार आएको छ ।
‘लिजा’ नाम भएकी ती एआई समाचार वाचिकाले टेलिभिजन प्रसारण र पत्रकारितामा नयाँ आयाम थपिदिएको टेलिभिजनले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको एआई समाचार वाचिका क्षेत्रीय स्तरको पहिलो एआई समाचार वाचिका भएको कम्पनीको दाबी छ ।
कम्पनीले ट्वीटरमार्फत सार्वजनिक गरेको भिडिओमा एआई समाचार वाचिकाले विभिन्न भाषामा समाचार वाचन गरेको देख्न सकिन्छ । कम्पनीका अनुसार एआई समाचार वाचिकाले अङ्ग्रेजी, ओडिया र अन्य भाषामा समाचार वाचन गर्ने सक्षम छिन् ।
लिजालाई ओडिया भाषामा तालिम दिनु ठूलो काम भएको र हालसम्म पनि उक्त कार्य जारी भइरहेको कम्पनीले जनाएको छ । त्यसबाहेक पनि लिजालाई अन्य व्यक्तिसँग सहजै अन्तर्क्रिया गर्न सक्षम बनाउन तालिम दिने कम्पनीको योजना छ ।
टाइम्स अफ इन्डियाका अनुसार गत मार्च महिनामा द इन्डिया ग्रुपले आफ्नो पहिलो एआई समाचार वाचिका सोना सार्वजनिक गरेको थियो ।