काठमाडौं । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल बार्डमा नयाँ फिचरहरू उपलब्ध गराएको छ । बिहीबार बार्डको नयाँ अपडेट सार्वजनिक गर्दै कम्पनीले विभिन्न ४० भाषामा कुरा गर्न सकिने फिचरसँगै अन्य सुविधा थप गरेकाे हाे ।
कम्पनीले हिन्दी, स्पेनिस, चाइनिज, कोरियन, फ्रेन्च लगायतका भाषा थपेकाे छ । यसको अर्थ यी भाषा बुझ्ने प्रयोगकर्ताले त्यही भाषामा बार्डसँग कुरा गर्न सक्छन् । गुगलले बार्डमा नेपाली भाषा भने समावेश गरेको छैन । नेपाली भाषामा कुनै प्रश्नहरू सोधे त्यसको जवाफ हिन्दी भाषामै आउँछ ।
त्यसबाहेक गुगलले बार्ड विश्वका प्रायः सबै देशमा उपलब्ध गराइसकेको उल्लेख गरेको छ । यसअघि बार्ड ब्राजिल लगायत युरोपका केही देशमा उपलब्ध थिएन ।
“प्रयोगकर्ताको रचनात्मक क्षमता अभिवृद्धि गर्न हामीले विशेष फिचरहरू समावेश गरेका छौँ,” कम्पनीकाे ब्लगमा लेखिएको छ ।
नयाँ अपडेटसँगै तपाईं बोलेर प्रश्न गर्न सक्नुहुन्छ भने बार्डले पनि बोलेरै जवाफ दिनेछ । यसो त प्रश्नको जवाफ टेक्स्टमा पनि आउँछ । तर, तपाईंले बोलेरै कुराकानी गर्छु भन्नुभयो भने बार्डको नयाँ फिचर प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि बार्डले पठाएको जवाफको माथिपट्टि स्पिकरको आइकन देखाइएको हुन्छ ।
तपाईंले सोझै त्यही आइकनमा क्लिक गरेर बार्डले बोलेको सुन्न सक्नुहुन्छ । बार्डको सो आवाजलाई आफ्नो आवश्यकता अनुसार ढिलो, छिटो, हाई वा लो पिचको बनाउन सकिन्छ । कम्पनीले समावेश गरेका ४० ओटै भाषामा बार्डको जवाफ सुन्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
नयाँ अपडेटसँगै अब तपाईं बार्डमा डकुमेन्ट पनि अपलोड गर्न सक्नुहुन्छ । कुनै पनि डकुमेन्ट अपलोड गरेर त्यसमा भएका टेक्स्टको अर्थ बुझाइदिन, प्रश्नको जवाफ दिन अनुरोध गर्न सक्नुहुन्छ । कुनै फोटो अपलोड गरेर त्यो फोटोमा के के छ व्याख्या गर्न भनेको अवस्थामा भने बार्ड तपाईंले खोजेको जस्तै उत्तर दिनसक्ने कम्पनीले ब्लगमा उल्लेख गरेको छ ।
तर, हाल मानिसहरूको फोटोमा भने बार्ड कुनै प्रतिक्रिया नै नदिई फोटो हटाइदिन्छ । त्यस्तै पठाएको फोटोमा अङ्ग्रेजी शब्द भएको अवस्थामा मात्र बार्डको नयाँ फिचर उपयुक्त हुन्छ । त्यसैगरी अब प्रयोगकर्ताले बार्डले तयार पारेको पाइथन कोडलाई सहजै एक्सपोर्ट गर्न सक्नेछन् ।
त्यस्तै बार्डसँग गरेको कुराकानीको केही भाग अन्य प्रयोगकर्तालाई पठाउने सुविधा पनि नयाँ अपडेटसँगै उपलब्ध भएको छ । यससँगै कम्पनीले नयाँ अपडेटमा च्याटलाई पिन गर्ने र रिनेम गर्ने सुविधा ल्याएको छ ।